नेपालका विभिन्न भौगोलिक क्षेत्रहरू आ-आफ्नै फरक फरक विशेषताहरूले गर्दा जोखिममा छन् । तुलनात्मक रूपमा हिमाली क्षेत्र सुरक्षित छ कि भन्ने जुन धारणा थियो त्यो पनि हालैको थामेको बाढी पहिरोले गलत सावित गरिदिएको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-५ को थामे गाउँमा एकाएक आएको बाढीले गर्दा उक्त गाउँमा मानवीय तथा भौतिक क्षति हुन पुगेको छ । यो अचानक आएको बाढी थियो ।
पानी परिरहेको थिएन, मौसम सफा थियो तर अचानक थामे खोलामा बाढी आयो र बाढी बस्तीमा पस्यो । विद्यालय भवन, मानिसका निजी घर तथा बारी बगायो । बाढीले बीसभन्दा बढी घरमा क्षति पुगेको छ, केही घरहरू पूर्णरूपमा क्षति भएका छन् । एकजना मानिस बाढीमा परेर हराइरहेका छन् भने केही घाइते भएका छन् ।
थामेको यो बाढी प्रतिनिधि घटना हो । यस्ता घटना समय अनुसार भइरहन्छन् र बर्खाका बेला बाढीपहिरोको जोखिम हुने कुरा नौलो होइन । यही वर्ष यस्ता अनेकौं घटना भएका छन् र सयभन्दा बढी मानवीय तथा अन्य भौतिक क्षति भइसकेको छ । बर्खा अझै एक डेढ महिना बाँकी छ । त्यतिन्जेलसम्म मनसुन सक्रिय भइरहन्छ र बाढी-पहिरो, डुबान जस्ता जोखिम भइरहन्छन् । तर, थामेको बाढीले गर्दा सतर्कतापूर्वक सोच्नुपर्ने केही सन्दर्भ उजागर गरेको छ । तटीय क्षेत्रका बासिन्दाले मौसम सफा भएका बेला पनि आफू सुरक्षित भएको ठानेर ढुक्कले बस्नुहुने रहेनछ । बाढी र त्यसले कटान गर्दा नदीका वारिपारिका पाखा भित्ताहरू तानेर पहिरो चलाउने सक्ने यथार्थ छँदैछ ।
तर, नदीको शिरतिर पानी परेर बाढी आउने भएकाले तल्लो क्षेत्रमा पानी नपरेको र मौसम सफा भएको बेलामा पनि यसरी बाढी आउन सक्ने रहेछ । एक डेढ दशक पहिले हिउँद महिनामा पोखराको सेती नदीमा यसरी नै बाढी आएर मानवीय क्षतिसमेत भएको थियो । हिमाली क्षेत्रमा रहेका ताल तथा हिमतालहरू फुटेर अचानक त्यसमा भएको ठूलो मात्राको जलराशि तल्लो क्षेत्रतर्फ प्रवाहले बाढीको रूप लिएर क्षति पु¥याउने गर्छ । हिमाली क्षेत्रको भूबनोट कडा छ । कडा आग्नेय चट्टानले बनेका विशाल पर्वतहरूमा माटाको मात्रा कम छ र जति माटो छ त्यो कोमल प्रकृतिको छ ।
तालहरूको किनारमा रहने माटो पनि यस्तै प्रकारको रहने हुँदा माटो खस्केर जति बेला पनि तालहरू फुट्ने जोखिम रहने गरेको छ । २०५४/०५५ सालतिर दोलखाको च्छोरोल्पा ताल फुट्ने सम्भावना औंल्याएर त्यसबारे निकै चर्चा भयो । उक्त ताल फुटेको खण्डमा दोलखा हुँदै तामाकोशी नदीमा उक्त पानी मिसिएर त्यस नदीका तटीय क्षेहरूमा अकल्पनीय क्षति पुग्नसक्ने सम्भावना विज्ञहरूले औंल्याएका थिए । यो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चलाउनेहरूको हल्ला हो भनेर अर्काथरीले विरोध पनि नगरेका होइनन् तैपनि क्षतिको भयलाई नकार्न नमिल्ले भएकाले च्छोरोल्पा तालमा साइफन जडान गरेर पानी बाहिर फाल्ने काम भयो र तटीय क्षेत्रहरूमा सइरन जडान गर्ने काम पनि भयो ।
ताल फुटेका खण्डमा यस्ता साइरन बज्ने र नदी वारिपारिका मानिसले सतर्कतापूर्वक सुरक्षित क्षेत्रमा जाने मौका पाउने व्यवस्था मिलाइयो तर त्यस्तो भएको पाइएन । उक्त ताल भएका ठाउँमा घाँसे मैदान थियो र त्यस ठाउँमा आफूले एक दुई दशक पहिले चौंरी र भेडाहरू चराएको थिएँ भनेर त्यस निकटका गाउँमा केही मानिसहरूले बताएका थिए । यस्ता ताल पछिल्लो समयमा पनि बन्ने र ती बेला–बेलामा फुट्ने गर्दा रहेछन् भन्ने थाहा हुन्छ । यस्ता नवनिर्मत ताल कहाँ-कहाँ कहिले बनेका हुन् र बन्दैछन् भन्ने जानकारी पाउन सजिलो छैन । जानकारी राख्न सक्ने हो भने सुरक्षित रहन सघाउ पुग्नेथियो ।
मानव बस्तीभन्दा धेरै टाढा हिमाली क्षेत्रमा बन्ने यस्ता ताल बारे जानकारी हुनै सक्दैन । अत्यन्त संवेदनशील रूपमा बन्ने यस्ता ताल जति बेला पनि फुट्न सक्ने सम्भावना रहन्छ । थामे खोलामा बाढी आउने गरी र थामे गाउँमा मानवीय तथा भौतिक क्षति गराउने गरी आएको बाढी तिब्बतमा भूकम्प गएकाले त्यसबाट नेपालको हिमाली क्षेत्रमा हलचल पैदा भएर ताल फुटेर आएको भनिएको छ । यसको सूक्ष्म अध्ययन हुन बाँकी नै छ तर केही प्रशासनिक अध्ययन गर्दा थामेका शिरमा भएका दुईवटा तालहरू फुटेर त्यसको पानी थामे खोलामा प्रवाह भएकाले बाढी आएको भनिएको छ ।
यसबाट कहिल्यै डुबान नहुने, पहिराको जोखिम पनि तल्लो पहाडी क्षेत्रका तुलनामा कम हुने, हिमाली क्षेत्रमा ठूला नदीहरूको संख्या कम भएको, ती पनि तराई क्षेत्रमा जस्तो फैलेर नबग्ने भएकाले बाढीको खतरा पनि कम हुने ठानिन्छ । तर, तिनै ठाउँहरूमा यस प्रकारका खतरा आइपर्न सक्ने रहेछन् भन्ने यस घटनाले देखाएको छ । खतराको जोखिम छैन भनेका ठाउँहरू पनि पूर्णरूपमा सुरक्षित छैनन्, जहाँ पनि र जतिबेला प्राकृतिक प्रकोप आइपर्न सक्छन् भन्ने सोचेर त्यहाँका बासिन्दा सतर्कतापूर्वक रहनुपर्छ । सचेतताका साथै यस्ता घटना भएमा पूर्वतयारीसमेत आवश्यक भएको देखिन आएको छ ।






