काठमाडौं । चलचित्र ‘आँखा’ असोजमा आउने भएको छ । सामाजिक विषयवस्तुमा तयार चलचित्र ‘आँखा’ले शनिबार नयाँ पोष्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई प्रदर्शन मिति तय गरेको हो ।
चलचित्रको सार्वजनिक पोष्टरमा प्रमुख दुई कलाकार फिचर्ड छन् । सुकुम्बासी बस्ती र सूर्यमखी फूललाई पृष्ठभूमि बनाई तयार गरिएको पोष्टरमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताले सर-समानसहितका झोला लिएर निस्केको देखाउँदा उनिहरूले बस्ती छोडेर बाहिरिँदै गरेको आँकलन गर्न सकिन्छ । निर्देशक जौन योञ्जनले पोष्टरमार्फत चलचित्रले उठाएको कथावस्तु खुलाउन खोजेको भान पोष्टरले दिन्छ ।
ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको चलचित्रलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ । चलचित्रमा स्मिता र आरकेसँगै निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराललगायत कलाकारको अभिनय छ । बाल कलाकारको भूमिकामा प्रसन राई हुनुहुन्छ ।
नेपाली रंगमञ्चमा अब्बल उपस्थिति जनाएका कलाकारहरूको जम्बो टिम रहेको चलचित्रलाई मनोरञ्जनसँगै कन्टेन्ट ओरिन्टेड भनिएको छ । निर्देशक योञ्जनकै कथा, पटकथा रहेको चलचित्र को निर्माता पनि योन्जन नै हुनुहुन्छ भने नारायणप्रसाद बराल कार्यकारी निर्माता, राम बस्नेत लाइन प्रोड्युसर र सह–निर्मातामा रेनुका कार्की ढोली रहनुभएको छ ।
लामा सिनेमाजले निर्माण गरेको चलचित्रमा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा संगीत दीपक आरजे र जयन जे वाइवाको छ । चलचित्रमा पाश्र्व संगीत गंगा थापाको र ध्वनि मुद्रण किशोर आचार्यको छ ।






