काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीबार अत्यन्तै हृदयविदारक सडक दुर्घटना भयो । ओखलढुंगाको चिशंखुगढी नगरपालिका-४ रातमाटे घर भएका स्कुटरमा सवार ६५ वर्षीय उत्तम कोइरालालाई ट्रकले ठक्कर दिएर सडकमा घिसारेपछि उहाँको वीभत्स तरिकाले मृत्यु भयो । यतिसम्म कि मृत्यु भएको व्यक्ति पुरुष हो कि महिला भन्ने पनि पहिचान गर्न नसकिने गरी शव क्षतविक्षत भएकोे थियो । सुरुमा प्रहरीले मृतकको गलत सनाखत गरेको थियो । ट्रकको ठक्करबाट एक युवतीको निधन भएको विवरण सञ्चार माध्यमलाई प्रहरीले दियो, तर सोही नाम गरेकी युवती आफैँ सकुशल उपस्थित भएपछि प्रहरी रणभुल्लमा पर्यो । अन्ततः मृतक ६५ वर्षीय पुरुष रहेको खुल्न आयो । दुर्घटनाको मृतकलाई आफ्नो बहिनी भन्ने दोलखाका शम्भु नेपालीलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । प्रहरीका अनुसार उनले बिहीबार अपराहृन घटनास्थल पुगेर मृतक आफ्नी बहिनी भएको बताएका थिए । ती व्यक्तिले भनेकै आधारमा प्रहरीले मृतकको नाम सार्वजनिक गरेको थियो । तर, मृतक भनिएकी व्यक्तिले आफू जीवित रहेको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो ।
बिहीबार गठ्ठाघरमा घटेको घटनाले एकातिर नेपालमा सडक दुर्घटनाको भयावह अवस्थालाई चित्रण गरेको छ भने अर्कोतिर ट्राफिक प्रहरीको भूमिकामाथि पनि केही प्रश्न उठाएको देखिन्छ । सार्वजनिक भएको सिसिटिभी फुटेजले ट्राफिक प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । सिसिटिभी फुटेजमा ट्राफिक प्रहरीले दुई लेन सडकमध्ये एक लेन छेकेर सवारी चेकिङ गरिरहेको देख्न सकिन्छ । दुई लेनबाट आइरहेका सवारीहरू एकाएक एउटै लेनमा खुम्चिन बाध्य भएको स्पष्ट देखिन्छ । यस व्यवस्थापनले दुई समस्या सिर्जना गरेको देखिन्छ । पहिलो, ट्राफिक देखेर चालकहरू अचानक गति कम गर्न बाध्य छन् । जसबाट उनीहरू पछाडिको सवारीबाट खतरामा छन् । अर्को, दुई लेनका सवारी एकै लेनमा मिसिँदा दुर्घटनाको जोखिम देखिन्छ । यही अव्यवस्थित चेकिङका कारण ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको देख्न सकिन्छ । स्कुटर चालक ओखलढुंगा निवासी उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गठ्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रयोग गर्नुपरेको थियो । यस घटनाले ट्राफिक व्यवस्थापन र सडक सुरक्षासम्बन्धी नीतिहरूको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । विशेषगरी व्यस्त समयमा गरिने ट्राफिक चेकिङको तरिका र स्थानबारे गम्भीर पुनर्विचार गर्नुपर्ने देखिन्छ ।
घटनाको छानविन गर्छौं : गृहमन्त्री
ओखलढुंगाका उत्तम कोइरालाको दुर्घटनामा परी मृत्यु भएको घटनाबारे छानविन गर्न माग गरिएको छ । कोइरालाले चलाइरहेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा भक्तपुरको गठ्ठाघरमा उहाँको मृत्यु भएको थियो । सांसदको नेतृत्वमा ओखलढुंगाको प्रतिनिधिमण्डल, ट्राफिक असावधानीले घटना घटेको भन्दै गृहमन्त्री रमेश लेखकसँग छानविनको माग गरेका हुन् । गृह मन्त्रालय पुगेर प्रतिनिधि मण्डलले घटनाबारे छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो । प्रतिनिधि मण्डललाई गृहमन्त्री लेखकले घटनाबारे छानविन गर्ने आश्वासन दिनुभएको छ । ‘विशेष प्रकृतिको घटना भएकाले छानविन गर्छौं, परिवारका सदस्य मध्येबाट सरोकारवालाका तर्फबाट व्यक्ति तोकौँ’ मन्त्री लेखकले भन्नुभयो, ‘क्लोज कन्ट्याकमा रहेर अनुसन्धान गरौँ ।’ प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले यो घटनालाई प्रहरीले सामान्य रूपमा नलिएको बताउनुभयो । ‘यसलाई सामान्य दुर्घटना नमानेर हामी गम्भीर रूपमा हेर्नेछौँ,’ आइजिपी कुँवरले भन्नुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी किरण बज्राचार्यका अनुसार ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ ।
चेकिङले दुर्घटना भयो भन्नु ठीक हुन्न : प्रहरी
स्थानीयले ट्राफिक प्रहरीले असुरक्षित तवरले सवारी जाँच गर्दा दुर्घटना भएको आरोप लगाएका छन् । स्थानीय प्रत्यक्षदर्शीको दाबीअनुसार ट्राफिक जाँचका क्रममा रोकिएको स्कुटरलाई कौशलटार तर्फबाट थिमीतर्फ गइरहेको ट्रकले ठक्कर दिएर करिब ५० मिटर परसम्म घिसारेको थियो । दुर्घटनापछि बिहीबार दिउँसो भक्तपुर-कोटेश्वर सडकखण्ड र सानोठिमी-जडीबुटी-पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो । घटनास्थलमा जम्मा भएको आक्रोशित भिडले ट्रकमा ढुंगामुढा गरेर आगजनी प्रयास गरे पनि प्रहरीले सामान्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । एआइजी बज्राचार्यका अनुसार आक्रोशित भिडले घटनास्थलमा रहेका एक ट्राफिक प्रहरीमाथि हातपातसमेत गरेका थिए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जीवन श्रेष्ठले पनि प्रत्यक्षदर्शीले दाबी गरेअनुसार ट्राफिक चेकिङका क्रममा दुर्घटना नभएको बताउनुभयो ।
ट्राफिक प्रहरीले जथाभावी चेक प्वाइन्ट राखेर चेकिङ गरेकैले घटना भएको भनेर सामाजिक सञ्जालदेखि घटनास्थलसम्म आलोचना भइरहेको सन्दर्भमा त्यसमा सत्यता नभएको एसएसपी श्रेष्ठले बताउनुभयो । ‘ट्राफिक प्रहरीले गर्ने चेकिङमा सुधार गर्नुपर्ने ठाउँ होला, तर यो घटनामा जोड्नु उचित हुँदैन,’ उहाँले भन्नुभयोे, ‘काठमाडौं उपत्यकामा सडकको अवस्था, सवारी साधनको संख्या, ट्राफिक संकेत र बत्तीहरूको दुर्दशा सबैले देखेकै छौँ । त्यससँगै यात्रु र सवारी चालक दुवै ट्राफिक नियमलाई लिएर जागरूक छैनन्, भए पनि हेलचेक्रयाइँ गर्छन् । त्यसैले दुर्घटना हुन्छ । चेकिङले दुर्घटना भयो भन्नु ठीक हुन्न ।’ उहाँले ट्राफिक प्रहरीले सडकमा जथाभावी चेकिङ गर्दा आफू पनि असुरक्षित हुनुका साथै सवारी चालक र यात्रु पनि असुरक्षा हुने विषयमा आफूहरू सचेत रहेको बताउनुभयो । ट्राफिक प्रहरीले असुरक्षित रूपमा चेकिङ गरेको विषयमा गुनासो आए छानविन गरिने पनि बताउनुभयो ।
घटना साम्य नभएसम्म उपत्यकामा ट्राफिक चेकिङ नहुने
सडकमा जथाभावी गाडी रोकेर चेकिङ गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश बढेपछि ट्राफिक प्रहरीले घटना सामान्य नभएसम्म चेकिङ नगर्ने भएको हो । बिहीबार दिउँसो गठ्ठाघर चोकमा अकाशे पुलबाट केही पर भएको दुर्घटनाको कारक ट्राफिक प्रहरी भन्दै आरोप लागेपछि बिहीबार साँझबाट नै उपत्यकाभर ट्राफिक चेकिङ भएन । सधैँ चेकिङ भइरहने ठाउँमा बिहीबार साँझ चेकिङ थिएन शुक्रबार बिहानैबाट केही ठाउँका चेकिङ पनि हटेका छन् । सडकमा जथाभावी गाडी रोकेर चेकिङ गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश बढेपछि ट्राफिक प्रहरीले घटना सामान्य नभएसम्म चेकिङ नगर्ने भएको हो । शुक्रबार अरनिको राजमार्गअन्तर्गत भक्तपुरका केही ठाउँ र काठमाडौं उपत्यकाका रिङरोडमा बिहानैदेखि कतै पनि चेकिङमा ट्राफिक प्रहरी देखिँदैन । बाक्लो सवारी आवागमन हुने ठाउँमा मात्र सवारी व्यवस्थापनको लागि ट्राफिक खटिएका छन् ।
मृतक शहीद परिवारका सदस्य, दुई छोरी विदेशमा
गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका ओखलढुंगाको चिशंखुगढी नगरपालिका-४ रातमाटे घर भएका उत्तम कोइरालाको परिवारले गाउँ छाडेर काठमाडौं बस्न थालेको १५-२० वर्ष भइसकेको थियो । उहाँका अधिकांश आफन्तहरू काठमाडौंमै छन् भने केही दाजुभाइ खलक गाउँमै बस्छन् । बेलुका काठमाडौंमा रहेका परिवारले दाजुभाइ तथा भतिजहरूलाई फोन गरेर ट्रकको ठक्करबाट उत्तमको मृत्यु भएको खबर दिनुभयो ।
बिहीबार कपनबाट भक्तपुरस्थित भतिजाको घर जान्छु भनेर स्कुटर लिएर हिँड्नुभएका उहाँलाई ट्रकले गठ्ठाघरमा ठक्कर दिँदै घिसारेर ज्यान लिएको थियो । उत्तम शहीद परिवारका सदस्य रहेको पनि खुलेको छ । उहाँका नातेदारसमेत रहेका वरिष्ठ पत्रकार हरिहर विरहीले उत्तम शहीद महेश कोइरालाका भाइ रहेको पुष्टि गर्नुभयो । महेश २०३१ सालमा नेपाली कांग्रेसले पञ्चायती शासकविरुद्ध थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट ओखलढुंगामै मारिनुभएको थियो । कांग्रेसले टिम्मुरबोटे काण्डका रूपमा सम्झिने उक्त घटनालाई नेपाली राजनीतिमा ओखलढुंगा काण्डका रूपमा चिनिन्छ । कोइरालासहित तत्कालीन आन्दोलित १९ जना मुक्ति सेनालाई गुफामा सुतेको अवस्थामा तत्कालीन शासकका सुरक्षाकर्मीले घेरा हालेर हत्या गरेका थिए ।
उत्तमले हाँकेको स्कुटरसँगै उत्तम कोइराला, ओखलढुंगा रातमाटे-५ लेखिएको सवारी लाइसेन्स र बिलबुक भेटिएको थियो । त्यसपछि प्रहरीले खोजीका क्रममा आफन्तसम्म पुगेको थियो । आफन्तहरूले उत्तमलाई सनाखत गरिसकेका छन् । उहाँको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । तर, उत्तमका आफन्तले दुर्घटनाको छानविनका लागि समिति नबनेसम्म शव नबुझ्ने बताएका छन् । उता, स्कुटरलाई ठक्कर दिएका ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका-२ बस्ने ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेर बानेश्वर वृत्तमा राखिएको छ ।
उत्तमका तीन छोरी रहेको खुलेको छ । पुख्र्याैली घर ओखलढुंगा भए पनि करिब २० वर्षदेखि काठमाडौंमै बस्दै आउनुभएका उत्तमकी जेठी छोरी अष्ट्रेलिया हुनुहुन्छ । कान्छी छोरी भने उहाँसँगै बसेर काठमाडौंमा पढिरहनु भएको थियो । उत्तमले माहिली छोरी आस्थालाई पनि गत साउन २१ गते राति अमेरिकाका लागि बिदाइ गर्नुभएको थियो । उहाँ आफैँ त्रिभुवन विमानस्थल पुगेर माहिली छोरी आस्थालाई पढ्नका लागि बिदाइ गर्नुभएको थियो ।
माहिली छोरी आस्थालाई एलएलएम अध्ययनका लागि अमेरिकाको क्यान्सस पठाएको १२ दिन नबित्दै उहाँले नेपालमा ज्यान गुमाउनुभएको छ । तर, छोरीहरू विदेशबाट नआएसम्म शव बुझेर दाहसंस्कार नगर्ने पक्षमा उहाँका आफन्तहरू देखिएका छन् । दुर्घटना विभिन्न कारणले हुने गर्छ । एक त नियोजित अर्को आकस्मिक । यी दुईबाहेक पनि पछिल्लो समय लापरबाहीबाट हुने दुर्घटनाको संख्या बढ्दै गएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता