काठमाडौं । गायक सुरेन गौतमले लोक पपमा अवार्ड चुम्नु भएको छ । उहाँले हालै काठमाडौंमा सम्पन्न भएको पाँचौं संस्करणको जिनियस म्युजिक अवार्ड उक्त अवार्ड चुम्नु भएको हो ।
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । सोही अनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको अवार्डका अध्यक्ष रमेश पाठकले बताउनुभयो ।
विसं २०७१ देखि उहाँ निरन्तर गीतसंगीतका क्षेत्रमा हुनुहुन्छ । ‘प्रनभ’ र ‘शुभ जीवन’ जस्ता दुईवटा गीति एल्बम सांगीतिक फाँटमा पस्किनुभएका उहाँका तीन दर्जन जति गीतहरू रेकर्ड भएर श्रोता/दर्शकमाझ आएका छन् । ती गीतमध्ये ‘पिरती लरी लै’, ‘रेशमी पर्दाले छेकेन’, ‘डाँडा कुहिरोले’, ‘बा आकाश हुन’, ‘दुई नजर’जस्ता गीत श्रोता/दर्शकको अत्यधिक रोजाइमा परेका छन् ।






