काठमाडौं । इन्ट्राकप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ । इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले हरेक वर्ष नेपाली मूलका उत्तर अमेरिका(क्यानडा र अमेरिका) मा बसोबास गर्ने युवायुवती एवं खेलप्रेमीहरूका लागि आयोजना गर्ने गरेको इन्ट्राकप फुटबल(सकर) तथा भलिबल प्रतियोगिता यसपटक अगष्टको अन्तिम सातादेखि सेप्टेम्बरको दोस्रो साताको अन्त्यसम्म अमेरिकाका दुई राज्यहरूमा हुने घोषणा गरिएको हो ।
ओहायोको राजधानी कोलम्बसमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले यी खेलहरूको मिति र पुरस्कार राशिको घोषणा गर्नुभएको थियो । नेपालीहरूका लागि खेल महोत्सव नै हुने यी दुई खेलको घोषणा गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले यी प्रतियोगितामा भाग लिनका लागि खेलाडी र खेल समूह नेपाली मूलको एवं नेपाली भाषी समुदायको हुनैपर्ने अनिवार्य व्यवस्था गरिएको बताउनुभयो ।
यसमा अमेरिका र क्यानडा निवासी नेपाली भाषी खेलाडीहरू समावेश हुनेछन् । पत्रकार सम्मेलनमा इन्ट्राकप फुटबल प्रतियोगिता सन् २०२४ को अगष्ट ३० देखि सेप्टेम्बर २ सम्म अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा र इन्ट्राकप भलिबल प्रतियोगिता सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको हृयारिसवर्गमा गर्ने जानकारी दिएको थियो । दुवै खेलहरूमा पुरुष र महिलातर्फका छुट्टाछुट्टै प्रतिस्पर्धा हुने जनाइएको छ ।
पुरुष फुटबल युथतर्फ विजेताले १५ हजार अमेरिकी डलर, रनिङ गोल्ड कप(१० तोला सुनको) र उपविजेताले १० हजार अमेरिकी डलरले पुरस्कृत गरिने जानकारी दिँदै अध्यक्ष अधिकारीले मातृ-पितृभूमिभन्दा टाढा रहे पनि आफ्नो समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्ने, नेपाली जातिका युवाहरूमा खेलको भावना विकास गर्ने, आपसमा स्वच्छ प्रतिस्पर्धाका माध्यमबाट उत्कृष्टता हासिल गर्ने, सामाजिक अनुशासन एवं खेल अनुशासनका माध्यमबाट आपसी भाइचाराको विकास गरी समुन्नत एवं स्वस्थ नेपाली समुदायको निर्माण गर्ने तथा भावी पुस्तालाई समेत खेलका माध्यमबाट समुदायको सेवामा अभिप्रेरित गर्ने अभिप्रायले यी खेलहरू आयोजना गरिएको बताउनुभयो ।
फाउण्डेसनका अनुसार, पुरुष फुटबल(सकर) सिनियर युथतर्फ (३० वर्षदेखि माथि)-विजेताले १० हजार अमेरिकी डलर, रनिङ गोल्ड कप र उपविजेताले ६ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । त्यसैगरी पुरुष फुटबल(सकर) भेट्रान्सतर्फ (४० वर्षदेखि माथि)-विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ६ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
महिलातर्फ विजेताले आठ हजार अमेरिकी डलर, रनिङ गोल्ड कप र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । यी तीनवटै क्याटगोरी प्रतियोगिताका विजेताले १० तोला सुनसहितको रनिङ गोल्ड कप पनि जित्नेछन् ।
रनिङ गोल्ड कपको पूर्ण स्वामित्वका लागि तीनपटक लगातार खेल जित्नुपर्नेछ । फाउण्डेसनको सहकार्यमा पिस जोन क्लबले १६ वर्षमुनिका किशोरकिशोरी खेलाडीका लागि फुटबलको आयोजना पनि सोही स्थान र मितिमा हुने भएको छ ।
कार्यक्रममा बोल्दै नेपालका वरिष्ठ संगीतकार न्हृयु बज्राचार्यले नेपाली गीत संगीत र खेलकुदका माध्यमबाट नेपाली जातिलाई जोड्ने फाउण्डेसनको प्रयासको प्रशंसा गर्नुभयो । फाउण्डेसनका सचिव गोपाल धितालले खेल आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने प्रवक्ता केशव आचार्यले पत्रकार तथा खेलाडीलाई स्वागत गर्नुभएको थियो ।
समाजमा स्वच्छ प्रतिस्पर्धाको भावना विकास भए जीवनका हरेक मोडहरूमा आत्मविश्वासका साथ अगाडि बढ्न सक्ने क्षमतावान व्यक्तित्व निर्माण गर्न सकिने विश्वासका साथ यी प्रतिस्पर्धात्मक खेलहरू आयोजना गरिएको फाउण्डेसनले जनाएको छ ।
फुटबल खेलहरू अमेरिकाको ओहायो राज्यको एक्रोन शहरस्थित कोप्ले सकर कम्प्लेक्समा अगष्ट ३० तारिखदेखि हुनेछन् । यो खेलको समापन सेप्टेम्बर २ तारिखमा सोही स्थानमा हुने जनाइएको छ ।
भलिबलतर्फको पुरुष तथा महिलातर्फका दुवै खेल पेन्सिलभेनिया राज्यको हृयारिसवर्गस्थित स्पोकी नुक स्पोर्ट्स कम्प्लेक्समा सेप्टेम्बर १३ देखि १५ तारिखसम्म हुनेछ ।
फाउण्डेसनका अनुसार, भलिबलका पुरुष विजेता टिमले १२ हजार अमेरिकी डलर र उपविजेताले आठ हजार डलर एवं महिलातर्फ विजेता टिमले आठ हजार र उपविजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । फाउण्डेसनले विगत चार वर्षदेखि यी खेलहरू हरेक वर्ष गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता