काठमाडौं । नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले आज (मंगलबार) एएफसी च्यालेन्ज लिग प्लेअफमा भुटानको पारो एफसीको चुनौती सामना गर्दैछ । यी दुईबीच आज (मंगलबार) साँझ ६ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा हुँदैछ । तीनपटक विश्वकप खेलिसकेका जापानका केइसुकी होण्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो चर्च ब्वाइजका लागि चुनौती बन्न सक्नेछ । नेपाली घरेलु लिगमा नै सफल विलियम ओपोकीलगायत चर्चित खेलाडी पारोले यही प्रतियोगिताका लागि भित्र्याएकोछ । यद्यपि, चर्च ब्वाइजमा पनि नेपाली राष्ट्रिय टोलीका अधिकांश सदस्य छन् । त्यसैले मंगलबार चर्च ब्वाइजले भुटानी प्रतिद्वन्द्वीसँग खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को दिनेछ ।
करिब एक महिनादेखि चर्च ब्वाइजले यो प्रतियोगिताको तयारी गरेको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने विश्वास चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनलाई छ । तीन हप्ताभन्दा बढी समय भएकाले टिमको सन्तुलन मिलेको उहाँ बताउनुहुन्छ । खेलाडीले आफ्नो क्षमता र रणनीतिअनुरूप खेल्न सके घरेलु समर्थकलाई सुखद् नतिजा दिन सक्षम हुने प्रशिक्षक महर्जनको विश्वास छ ।
पारोले अहिले भुटानमा लिग खेलिरहेको छ । लिगमा पारो शीर्ष स्थानमा छ । उनीहरूबीच राम्रो तालमेल पनि मिलेको छ । साथै चर्च ब्वाइजसँगको खेलका लागि पारोले जापानका पाँच खेलाडी, युरोप र केही अफ्रिकन खेलाडीलाई भित्र्याउँदै थप बलियो बनाएको छ । एएफसीले विदेशी खेलाडी अनुबन्धनमा सहज बनाएपछि पारोमा ११ विदेशी खेलाडी छन् ।
यसले लगानी धेरै गर्न नसक्ने क्लबका लागि केही गाह्रो हुने चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जन बताउनुहुन्छ । तथापि पारोमा विदेशी खेलाडीबीच त्यति राम्रो तालमेल मिल्न नसकेको उहाँको बुझाइ छ ।
चर्च ब्वाइजले अफिसियल मैदानमा प्रशिक्षण गर्ने स्थान राम्रो पाउने सकेको छैन । पाहुना टोली पारोले प्रशिक्षण गर्दै आएको आर्मीको फुटबल मैदानमा खेल्न अयोग्य रहेको उल्लेख गरेपछि उसलाई दशरथ रंगशालामा प्रशिक्षण गर्ने अवसर दिइएको थियो । चर्च ब्वाइजले प्रशिक्षण गरिरहेको मैदान खेल्न योग्य नै नभएको प्रशिक्षक महर्जनको भनाइ छ । यद्यपि, मैदान अभाव हुँदा विकल्प नरहेको उल्लेख गर्नुभयो । त्यसले गर्दा आफ्नो टोलीलाई पनि केही घाटा हुने उहाँको बुझाइ छ ।
यता, चर्च ब्वाइजका कप्तान अनन्त तामाङले आफूहरू दशरथ रंगशालामा लामो समयदेखि खेल्दै आएकाले त्यहाँ प्रशिक्षण गर्न नपाए पनि केही फरक नपर्ने उहाँको भनाइ छ । आफ्नो योजना र रणनीतिअनुरूप खेल्न सके जुनसुकै मैदानको तयारीले पनि नतिजामा कुनै असर नपर्ने उहाँले बताउनुभयो । साथै कप्तान अनन्तले विपक्षी टोलीमा जस्तोसुकै नाम भएको खेलाडी आए पनि आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको जिकिर गर्नुभयो ।
पारोका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित आए पनि खराब मैदानका कारण चुनौती बन्न सक्ने बताउनुभयो । उहाँले खराब मौसमका कारण प्रशिक्षण गर्ने मैदानको अवस्थामा नराम्रो रहेको उल्लेख गर्दै समयमा नै प्रशिक्षण गर्न नपाएकोप्रति दुखेसो व्यक्त गर्नुभयो । पछिल्लो सिजन मच्छिन्द्रसँग नतिजा सुखद् नभए पनि यसपटक आफ्नो टोली बलियो रहेको र मंगलवार चर्च ब्वाइजविरुद्ध राम्रो चुनौती दिने उहाँको विश्वास छ ।
उहाँले नेपाल भुटानको नजिककै छिमेकी रहेको र त्यसैले हरेक खेलाडीबारे राम्रोसँग जानकार रहेको सुनाउनुभयो । चर्च ब्वाइजबारे पनि राम्रो जानकार रहेकाले खेल्न सहज हुने उहाँको विश्वास छ । नेपालमा पछिल्लो समय लिग हुन नसकेको र त्यसको फाइदा पारोले लिने पारोका प्रशिक्षक शर्मा बताउनुहुन्छ । चर्च ब्वाइजमा सबै राष्ट्रिय टोलीका खेलाडी रहेकाले टोली बलियो हुने र आफ्नो टोलीले कुनै गल्ती नगर्ने उल्लेख गर्नुभयो ।
पारोका कप्तान किन्ले वाङचुकले पछिल्लोपटक नेपाल भ्रमण सुखद् नरहे पनि यसपटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । त्यसका लागि आफ्नो टोलीले राम्रो तयारी पनि गरेको उल्लेख गर्नुभयो । चर्च ब्वाइज बलियो रहेको र त्यहीअनुरूप उत्कृष्ट प्रदर्शन गर्ने कप्तान वाङचुकको विश्वास छ ।
पारो प्लेअफ खेल्न गत शनिबार नेपाल आइपुगेको हो । यसबीच पाहुना टोलीले नेपालको मौसमअनुरूप प्रशिक्षण गर्न पनि पाएको छ । पछिल्लो सिजनको तुलनामा यसपटक बलियो टोली रहेको पारो नेपालको नयाँ लिग च्याम्पियन चर्च ब्वाइजका लागि चुनौती बन्न सक्छ । अघिल्लो सिजन नेपालको क्लब मच्छिन्द्र क्लबले पारोलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो । त्यो सफलता जारी राख्न चर्च ब्वाइजले बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।
च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् । शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने तय छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् ।
राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजमा एरिक विष्ट, अञ्जन विष्ट र आयुष घलानजस्ता नेपाली टोलीबाट प्रभावशाली प्रदर्शन गरिसकेका खेलाडी खेल्दै हुनुहुन्छ । त्यसैले पनि चर्च ब्वाइज नेपालको राष्ट्रिय टोली जस्तै रहेको पारोका प्रशिक्षक शर्माले पनि उल्लेख गरिसक्नुभएको छ । चर्च ब्वाइजमा तीन विदेशी ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया) र मोजेस ग्याबा त्वाम (घाना) खेलाडी हुनुहुन्छ ।
अन्य खेलाडीमा लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बोकुमार चौधरी, सञ्जीव विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की, विवेक पौडेल, निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनीषकुमार जर्गा र आदित्य शाक्य हुनुहुन्छ । पारोसँगको खेलका लागि जनरल पारापिटतर्पm दुई सय र भिआइपीतर्पm पाँच सय रुपैयाँ टिकट मूल्य तय गरिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts