झापा । झापाको बिर्तामोडमा माओवादी सशस्त्र युद्धकालीन दृश्य देखिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानको ब्यानरमा माओवादी सशस्त्र द्वन्द्वकालीन दृश्य देखिएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं संयोजक रहेको महाअभियान आबद्ध समूहले नारा जुलुससहित बिर्तामोड नगरपालिका ५ का गिरिधारी पोद्दारको घर कब्जाको घोषणा गरेको छ । सो समूहले ब्यानर राखेर पोद्दारको घर कब्जा गरेको हो।
महाअभियानका कार्यकर्ताले कब्जा गरेको पोद्दारको घर एनआइसी एसिया बैंकले केहीदिन अघि मात्रै लिलामी गरेको हो । पोद्दारले बैकबाट लिएको ८ करोड २५ लाख रुपैयाँ ऋण नतिरेपछि घर लिलामीमा परेको हो ।
बैकले पोद्दारको उठिबास लगाएको भन्दै प्रसाईं नेतृत्वको महाअभियान आबद्ध कार्यकर्ताले ब्यानर टाँगेर घर कब्जा गरेको घोषणा गरेका थिए। प्रहरीले लिलामीमा परेको पोद्दारको घरमा महाअभियान आबद्धले राखेको ब्यानर हटाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टका अनुसार महाअभियान ऋण एसोसिएसन सचिवालय संयोजक देवीप्रसाद संग्रौलाको अगुवाईमा गएको समूहले नारा जुलुससहित पोद्दारको घरमा ब्यानर टाँगेको थियो । सुरुदेखि नै महाअभियान बैक तथा वित्तीय संस्थाप्रति आक्रामक देखिएको छ ।
बिर्तामोड ५ स्थित शाक्य मेडिकलको सय मिटर उत्तरमा रहेको पोद्धारको सो घर एक कठ्ठा १३ धुर जग्गामा बनेको छ । घर अढाई तले भएको प्रहरीले जनाएको छ ।







