वरिष्ठ पत्रकार केदारनाथ कोइरालाले आजभोलि मिडियाले प्रयोग गर्ने भाषाशैलीमाथि प्रश्न उठाउँदै आफ्नो सामाजिक सञ्जालमा एउटा पोष्ट गरे । झापाका केही मानिस कागती खेतीतिर आकर्षित भएको समाचार प्राप्त भए, झापाका सबै मानिस कागती खेतीतिर आकर्षित, सल्यानका केही मानिस कालिजपालनतर्फ आकर्षित भएको देखेर सल्यानका सबै मानिसको आकर्षण कालिज पालनतिर, उदयपुरका केही किसान अदुवाखेतीतर्फ लागेको पाइएमा उदयपुरका सबै किसान अदुवाखेतीतिर आकर्षित जस्ता समाचारहरू प्रकाशन एवं प्रसारण हुने गरेकोमा कोइरालाले असन्तुष्टि व्यक्त गरेका छन् । हजार वा लाखमा बासिन्दा भएका जिल्लाहरूमा सयका संख्याका मानिसले गरेको व्यवसायलाई सामान्यीकरण गर्दा उपयुक्त नहुने उनको विचार छ ।
आजभोलिका सञ्चारमाध्यमहरूले प्रयोग गर्ने भाषामा प्रश्न उठ्ने ठाउँहरू धेरै भेटिन्छन् । छापा पत्रकारितामा भेटिने अशुद्धिका त कुरै गर्नै पर्दैन । दृश्यचित्रसहितका समाचार माध्यमहरू वा रेडियोहरूमा गरिने उच्चारणले त वाक्कै बनाउने गरेको पनि छ । अप्ठेरा शब्दहरू मात्रै नभई अति सरल अक्षरहरू रहेका पाँच सात अक्षरका शब्द आए भने त समाचार वाचकहरूको पसिना नै छुट्ने गरेको पाइन्छ । संस्कृतका तत्सम शब्दहरूका बारेमा त कुनै उल्लेख गर्नै पर्दैन । सबैभन्दा चलेका र नाम कमाएका पत्रकारहरूले पनि नेपाली भाषाको सामान्य जानकारी नराखेको प्रष्टै देखिन्छ । यसबाट नेपाली भाषा कतै मर्दै वा मारिँदै त छैन भन्ने अहं सवाल उठेको छ ।
नेपाली शब्दकोश मोबाइल, कम्प्युटर वा अन्य माध्यमहरूमा छ्यास्छ्यास्ती पाइन्नथ्यो र शब्दकोश किनेर घरमा राख्ने सामथ्र्य पनि सबैमा हुँदैनथ्यो । त्यतिबेला शुद्धाशुद्धिका लागि प्रामाणिक सामग्री जस्तै थियो गोरखापत्र तर आजभोलि यसले पनि त्यो हैसियत कायम राख्न सके जस्तो लाग्दैन ।
हुन त १२ कक्षा वा स्नातक तह पढेर समाचार वाचकमा प्रवेश गर्नेहरूलाई यस सम्बन्धमा दोष दिनु त्यति उपयुक्त हुँदैन । राज्यले लिएको नीति, नेपाली भाषाको ठेकेदार भनिएकाहरू, नेपाली विषय विद्यालय तहमा अध्यापन र विश्वविद्यालय तहमा प्राध्यापन गर्नेहरूका शैली र व्यवहार आदिले नै नेपाली भाषामा विकृति भित्र्याउँदै गएको देखिन्छ । बोर्डिङ वा अंगे्रजी माध्यमका विद्यालय भनिएकाहरूमा सात विषय अंग्रेजी माध्यममा पढाउने र एउटा नेपाली विषयमात्रै नेपाली माध्यममा पढाएपछि नेपाली भाषामा दक्षता राख्ने उत्पादन सम्भव हुने कुरो पनि भएन । अझ विद्यार्थीहरूको लक्ष्य १२ कक्षा पार गर्दा नगर्दै विदेश जाने भएपछि नेपाली विषयमा जसोतसो उत्तीर्ण हुनेबाहेक विद्यार्थीहरूको कुनै उद्देश्य रहेको नै पाइँदैन । अनि नेपाली शुद्ध बोल्ने र लेख्ने पत्रकार पाउन कसरी सकिन्छ र ?
पहिले पहिले कुनै शब्द कसरी शुद्ध लेख्ने भन्ने संशय पैदा भएमा मानिसहरूले गोरखापत्रमा त्यो शब्द खोज्दथे । अहिले जस्तो नेपाली शब्दकोश मोबाइल, कम्प्युटर वा अन्य माध्यमहरूमा छ्यास्छ्यास्ती पाइन्नथ्यो र शब्दकोश किनेर घरमा राख्ने सामथ्र्य पनि सबैमा हुँदैनथ्यो । त्यतिबेला शुद्धाशुद्धिका लागि प्रामाणिक सामग्री जस्तै थियो गोरखापत्र तर आजभोलि यसले पनि त्यो हैसियत कायम राख्न सके जस्तो लाग्दैन । संस्थानहरूमा राजनीतिकरणको आरम्भ भएसँगै शुद्धाशुद्धि हेर्ने ठाउँमा अब्बलभन्दा पनि आफ्नाले ठाउँ पाउँदै गएका त होइनन् भन्ने प्रश्न उठ्छ । साथसाथै यति भए चलिहाल्छ नि भन्ने नेपाली मानसिकताले पनि जरो गाड्दै जाँदा शत् प्रतिशत शुद्ध बनाउने प्रयास कतैबाट पनि हुन छाडेको छ । चिने जानेका र नातागोताका मान्छे राखेर र कम पारिश्रमिकमा काम चलाउने अरू छापा माध्यमका बारेमा त कुरै गर्न परेन ।

नेपाली विषयका धुरन्धर भनिएकाहरू नै भाषाको शुद्धतामा खलल ल्याउन कस्सिएका बेलामा यही नै शुद्ध भनेर ठोकुवा गर्न पनि कठिन भएको छ । संस्कृतको जरोकिलो नै उखेलेर नेपालीलाई विद्रुप बनाउनुपर्छ भन्ने र नेपाली भाषामा रहेको समृद्धिलाई जोगाएर राख्नुपर्छ भन्नेहरूका बीचको द्वन्द्वले पनि नेपाली भाषालाई चेपुवामा त पारेको छ नै विद्यार्थीहरूलाई पनि अलमलमा राखेको छ । कुन गुरुले भनेको मान्ने र कुन गुरुको दावीलाई गलत ठहर्याउने भन्न सर्वसाधारणलाई मुस्किल नै पर्दछ । त्यसमाथि कुन गुरुको घरमा परीक्षाको कापी जान्छ र कस्तो शैली अपनाउने भन्ने निक्र्यौल गर्न विद्यार्थीले झनै सक्ने कुरा भएन । यस्तै-यस्तै बेथितिका कारण पनि बोध्य र ठीक अर्थ दिने वाक्य बनाउन वा शब्द प्रयोग गर्न सबैलाई अप्ठेरो भइरहेको छ । यद्यपि सर्वोच्च अदालतले केही अघि भाषा बिगार्न नहुने पक्षमा निर्णय दिएपछि अब नेपाली भाषाले एउटा सही गन्तव्य पहिल्याउने आशा गर्न सकिन्छ ।
पत्रकारिताको भाषा भनेको संक्षेपमा धेरै कुरा बताउन सक्नुपर्दछ । साहित्यकारहरूले चार पाँच वाक्यमा विस्तार गरेको कुरालाई पत्रकारले एक वाक्यमा संश्लेषण गर्नुपर्दछ । सरकारका प्रतिनिधिहरूले पन्ध्र मिनेट लगाएर बताएका कुरालाई पाठकले एक दुई मिनेटमै पढिसक्ने गरी संक्षेपीकरण गर्ने योग्यता पत्रकारमा हुनुपर्दछ । नेताहरूले मञ्चमा उभिएर आधा घण्टाको भाषण गर्दछन्, त्यो भाषणलाई जस्ताको तस्तै सञ्चारमाध्यममा प्रस्तुत गरियो भने त्यो कुनै पनि दृष्टिले उपयुक्त ठहर्दैन । भाषणमा रहेका महत्वपूर्ण सूचनाहरूलाई मात्रै पस्केर आफ्नो सञ्चारमाध्यमलाई रुचिकर बनाउने क्षमता पत्रकारमा रहनुपर्दछ तर यस्ता योग्यता, क्षमता र दक्षता पत्रकारहरूमा हराउँदै गएको त होइन भन्ने प्रश्न सबैका सामु तेर्सिएको छ र विशेषगरी पत्रकारहरूले ख्याल गर्नुपर्ने भएको छ ।
सञ्चारमाध्यमहरू भनेका एकखालका मानक हुन् । चाहे छापा पत्रकारिता होस् या श्रव्यदृश्य, जे भए पनि सञ्चारमाध्यमहरू समाजका ऐना हुन् । आजभोलिको इन्टरनेटको दुनियाँमा नेपालमा प्रकाशित या प्रसारित सामग्रीहरू विश्वभर पुगिरहेका हुन्छन् । नेपाली भाषाको ज्ञान राख्ने विदेशीहरू पनि छन् र नेपाललाई नियालेर बसिरहेकाहरू पनि थुप्रै छन् ।
पत्रकारिताको आजभोलिको शैलीको कुरा गर्दा एउटा उदाहरण प्रस्तुत गर्दछु । कुनै ठाउँमा बस पल्टिएर दुईजनाको निधन भयो भने दुई वाक्यमा पूरा हुने समाचारलाई पढ्नै पट्यार लाग्ने गरी दश वाक्यमा लेखिएको हुन्छ । ‘काठमाडौंबाट पोखरातर्फ जाने क्रममा बुधबार बिहान मुग्लिन नजिकै बस पल्टिएर त्रिशूलीमा खस्यो । बा ३५ ख ९९९९ नम्बरको बस त्रिशूली नदीमा खसेको हो । बस त्रिशूली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ । मृतक दुबै जना पोखरा घर भएका बताइएको छ । पोखरा घर भएका मृतक दुबै जना काठमाडौंबाट पोखरातर्फ जाँदै थिए । पोखरा महानगरपालिका वडा नं. ३६ र सोही महानगरपालिका वडा नं. ४० का भएको त्यहाँका प्रहरी निरीक्षकले जानकारी दिएका छन् । पोखरा ३६ का श्री... र पोखरा ४० की श्रीमती ... को मृत्यु भएको हो । बसमा सवार अन्य ४० जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार गरी घर पठाइएको कुरा त्यहाँका प्रहरी प्रमुखले बताएका छन् ।’
जान्ने पत्रकारले यही समाचारलाई लेख्यो भने शायद यसरी लेख्छ होला-काठमाडौँबाट पोखरा गइरहेको बा ३५ ख ९९९९ नम्बरको बस मुग्लिन नजिकै त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु भएको छ भने ४० जना सामान्य घाइते भएका छन् । पोखरा महानगर वडा नं. ३६ का श्री... र वडा नं. ४० की श्रीमती ... को मृत्यु भएको छ भने अन्य घाइतेहरूलाई सामान्य उपचार पश्चात् घर पठाइएको जानकारी त्यहाँका प्रहरी प्रमुखले दिएका छन् । यो त एउटा उदाहरणमात्रै हो । दोहोरो अर्थ लाग्ने वा गलत बुझाइ हुने वाक्यहरू पर्याप्त भेटिन्छन् । ‘बलात्कार गर्ने प्रहरी हिरासतमा’ शीर्षक प्रायः पढ्न पाइन्छ । ‘मदिरा सेवन गरी सडकमा झगडा गर्ने प्रहरी कारबाहीमा’ शीर्षकमा लेखिएका समाचारहरू कुनै नौला होइनन् ।
माथिका शीर्षकहरू पढेरमात्रै यथार्थ पाउन मुस्किल पर्दछ । बलात्कार गर्ने प्रहरी हो कि अरू नै भन्ने कुरा समाचार पढेपछि मात्रै थाहा हुन्छ । मदिरा सेवन गरी झगडा गर्ने प्रहरीहरू कारबाहीमा परेका हुन् कि प्रहरीले झगडियाहरूलाई समातेर कारबाही गरेको भन्ने जानकारी पाउन विस्तृत समाचार नै पढ्नु पर्दछ । पत्रकारहरूले ध्यान दिने भनेको यस्तै विषयहरूमा हो । थोरै लेखेर धेरै जानकारी दिने र पढ्दाखेरि कुनै बुद्धि नलगाई सहजै बुझिने भाषा प्रयोग गरिनुपर्दछ । दोहोरो अर्थ नलागोस् र सत्यतथ्यमा आधारित समाचारमात्रै सम्प्रेषण होस् भन्नेमा सजग हुनुपर्दछ तर भाषिक ज्ञान पर्याप्त भएका पत्रकारहरू पाउन नै मुस्किल भइसकेको छ ।

‘आजको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी पार्टीहरू सहभागी हुनुभयो’ । ‘देशमा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस हुनुहुन्छ र त्यसपछिको नेकपा एमाले हुनुहुन्छ’ । यस्ता भनाइहरू समाचार माध्यमका पत्रकारहरूबाट मात्रै होइन देशका मै हुँ भन्ने सरकारी ओहोदाका ठूलाठूला व्यक्तिहरूका साथै नेताहरूबाट आइरहेका हुन्छन् । पार्टीहरूलाई भन्दा ‘थिए’ र ‘हुन्’ जस्ता शब्दहरू प्रयोग गर्ने र ती पार्टीका नेताहरू सहभागी भए ‘हुनुभयो’ भन्ने सामान्य जानकारीसमेत नहुनुले नेपाली भाषाको जगेर्नामा राम्रो संकेत गर्दैन ।
सञ्चारमाध्यमहरू भनेका एकखालका मानक हुन् । चाहे छापा पत्रकारिता होस् या श्रव्यदृश्य, जे भए पनि सञ्चारमाध्यमहरू समाजका ऐना हुन् । आजभोलिको इन्टरनेटको दुनियाँमा नेपालमा प्रकाशित या प्रसारित सामग्रीहरू विश्वभर पुगिरहेका हुन्छन् । नेपाली भाषाको ज्ञान राख्ने विदेशीहरू पनि छन् र नेपाललाई नियालेर बसिरहेकाहरू थुप्रै छन् । नेपाल र नेपालीको इज्जत जोगाउने र नेपाली भाषालाई समृद्ध बनाइराख्ने नेपालीहरूले नै हो । त्यसैले अरूहरू जस्तै लापरबाही भई कामचलाउ नेपाली भाषा प्रयोग गर्ने परम्पराको अन्त्य अरू क्षेत्रमा त कहिले हुन्छ भन्न निकै कठिन छ तर अन्त नभए पनि पत्रकारिता क्षेत्रमा शुद्ध भाषाको प्रयोग निकै जरुरी देखिन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा