काठमाडौं । घरेलु टोली नेपाललाई पराजित गर्दै भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि जितेको छ । योसँगै लिग चरणमा बेहोरेको हारको बदला लिन भारत सफल भएको छ । बुधबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई हराउँदै भारतले उपाधि जितेको हो ।
भारतले नेपाललाई ३-२ सेटले पराजित गरेको हो । पहिलो सेटमा २५-२३ ले विजयी भएको नेपाल दोस्रो सेटमा १४-२५ ले पराजित भएको थियो । तेस्रो सेट भने नेपालले २५-२२ ले जितेको थियो ।
त्यसपछि भने लगातार दुई सेटमा पराजित हुँदै नेपाल उपविजेतामा सीमित भयो । नेपाल चौथो सेटमा २१-२५ र पाँचौँ तथा अन्तिम सेटमा ५-१५ ले पराजित भयो । योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ ।
लिग चरणमा भारतलाई पराजित गर्दै इतिहास बनाएको नेपाल फाइनलमा भने त्यो लयलाई गुमाउन पुग्यो । भारतले भने लिग चरणमा भोगेको हारको बदलासमेत लिएको छ ।
योसँगै नेपालले पाँच वर्षअघि घरेलु मैदानमा भोगेको हारको बदला लिन चुकेको छ । यसअघि सन् २०१९ मा घरेलु मैदानमा नै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल भारतसँग नै ३-२ को सेटमा पराजित हुँदै रजत पदकमा चित्त बुझाएको थियो । करिब चार दशक लामो इतिहास बोकेको महिला भलिबलले पहिलोपटक लिग चरणमा भारतलाई तीन-दुई को सेटमा हराउँदै इतिहास रचेको थियो ।
श्रीलंकालाई हराउँदै इरान तेस्रो
काभा महिला भलिबल नेसन्स लिगको तेस्रो स्थान इरानले हासिल गरेको छ । इरानले बुधबार भएको तेस्रो स्थानको खेलमा दक्षिण एसियाली मुलुक श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्डहलमा भएको खेलमा इरानले पहिलो सेट २५-२२ ले जितेको थियो । दोस्रो सेटमा श्रीलंकाले बलियो चुनौती प्रस्तुत गरे पनि जित निकाल्न भने सकेन । इरानले दोस्रो सेट २८-२६ ले जितेको हो । तेस्रो सेटमा २५–१७ को सहज जित निकालेपछि इरानले प्रतियोगिताको तेस्रो स्थान पक्का गरेको हो ।
प्रतियोगिताको सेमिफाइनलमा इरानलाई नेपालले हराएको थियो । मंगलबार भएको उक्त खेलमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हराएको थियो । यस्तै, श्रीलंका भने भारतसँग ३-० कै सोझो सेटमा पराजित भएको थियो ।
पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।
प्रधानमन्त्रीको सान्त्वना
काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधिबाट वञ्चित भएको नेपाली टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सान्त्वना दिनुभएको छ । ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनल हेर्न जान पाइनँ । तेस्रो चरणदेखि मात्र खेलको लाइभ हेरेँ । नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि हामीले जित्न सकेनौँ । तीन नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो । एक पटकको हार सधैँको हार होइन, हामी जित्नेछौँ । धन्यवाद नेपाली टिम !’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता