सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । सांसद राजीवविक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो ।
शाहको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बन्ने पक्का भएको छ । कांग्रेसबाट मन्त्री भएकामध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सुरेश अधिकारी शेखर कोइराला पक्षधर हुन् ।
कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीकाअनुसार शाहले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुनेछ । घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ । प्रवक्ता शाहीका अनुसार मन्त्रीको नाम लिस्ट मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ । मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखलाई सिफारिस गरी आज नै सपथ ग्रहण कार्यक्रम राख्ने बताइएको छ ।






