काठमाडौं । पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिनुभएको छ । सोमबार भएको ५७ केजी तौल समूहको जुडो प्रतिस्पर्धामा मनिता अन्तिम ३२ बाटै बाहिरिनुभएको हो । उहाँ सर्बियाकी मारिका पेरिसिकसँग १०-० ले पराजित हुनुभयो । उहाँले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
मनिता एक मिनेटमात्र म्याटमा टिक्न सक्नुभयो । जितसँगै पेरिसिकले अन्तिम १६ को यात्रा तय गर्नुभएको छ । यससँगै पेरिस ओलम्पिकमा नेपालका चार खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाको यात्रा पनि समूह चरणमै सीमित बनेको थियो । मनिताले कन्टिनेन्टल कोटामार्फत् ओलम्पिक खेल्ने अवसर प्राप्त गर्नुभएको हो ।
सन् २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग कप जुडो प्रतियोगितामा ‘डेब्यु’ गर्नुभएकी मनिता सोमबार औपचारिक रूपमा ओलम्पियन बन्नुभयो । त्रियोग जुडोमा मनिताले स्वर्ण जित्नुभएको थियो । ‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटाबाट पेरिस ओलम्पिकमा स्थान बनाउनुभएकी मनिता समग्रमा ओलम्पिक खेल्ने छैटौँ नेपाली जुडो खेलाडी हुनुहुन्छ ।
मनिताअघि गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले सन् १९८८ को सिओल ओलम्पिक, देवु थापाले सन् २००८ को बेइजिङ ओलम्पिक, फुपु ल्हामु खत्रीले सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिक तथा सोनिया भट्टले सन् २०२० को टोकियो ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । पेरिस ओलम्पिकमा देवु मनिताको प्रशिक्षकको भूमिकामा हुनुहुन्छ ।
ओलम्पिक इतिहासमै पहिलोपटक रंगशाला बाहिर भएको पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पास्टमा मनिताले श्यान्टुसँग मिलेर राष्ट्रिय झण्डा बोक्नुभएको थियो । ओलम्पिकको जुडोमा नेपालले हासिल गरेको ठूलो उपलब्धि भनेको फुपुले पूरा ४ मिनेट समय ‘म्याट’ मा बिताउनु हो ।
सन् २०२३ को युरोपियन जुडो च्याम्पियनसिपकी रजत विजेता २५ वर्षीया मरिकासँग टोकियो ओलम्पिक, विभिन्न चार आइजेएफ विश्व जुडो च्याम्पियनसिप, विभिन्न १३ वल्र्ड टुरलगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । मरिकाकी आमा रदमिला पनि जुडो खेलाडी हुनुहुन्छ ।
मंगलबार हुने नेपालको एकमात्र प्रतिस्पर्धामा पौडीका एलेक्जेन्डर शाहले पुरुष एक सय मिटर फ्रिस्टायलमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ ।






