
काठमाडौं । निर्देशक, कलाकार साथै रचनाकार पवन जोशीलाई सम्मान गरिएको छ । लहना मिडियाले काठमाडौंमा ‘पवन जोशी सन्ध्या ११४४’ कार्यक्रमको आयोजना गरी उहाँलाई सम्मान गरेको हो । नेपाली र नेपालभाषा गरी जोशीको रचनामा सयवटा गीत रेकर्डिङ भएको अवसरमा जोशीलाई सम्मान गरिएको हो ।
सम्मानको क्रममा लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जोशीलाई दोसल्ला ओढाउनुभएको थियो भने बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सम्मान पत्र अर्पण गर्नुभएको थियो । लहना मिडियाका व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले फूलमाला पहिराइदिनुभएको थियो भने नेपालभाषाका प्रथम सिने पत्रकार विजयरत्न तुलाधर, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समीर बलामी, काठमाडौं महानगरपालिका १८ वडाका अध्यक्ष न्हुछेँकाजी महर्जनले खादा ओढाउनुभएको थियो । सो अवसरमा जोशीलाई नेवाः संस्कृति अनुसार ख्येँय् सगं (फुलसगुन) दिएर सम्मान गरिएको थियो ।
सम्मान ग्रहणपछि बोल्दै जोशीले आफ्नो रचनामा सयवटा रेकर्डिङ भएको अवसरलाई उत्सवको रुप दिएकोमा आयोजक साथै सबैलाई कृतज्ञता व्यक्त गर्नुभयो । आफूले कला क्षेत्रमा लागेर बटुलेको अनुभव र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न इच्छुक रहेको भन्दै उहाँले कोही सिक्ने इच्छा लिएर आएमा सकेको र जानेको सिकाउने उद्घोष गर्नुभएको थियो ।
बागमति प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री महर्जनले कला क्षेत्रको संरक्षण र कलाकारको सम्मानका लागि राज्यबाट ठोस पहल गर्नको लागि आफूले प्रयास गर्ने र मन्त्रिपरिषद्मै यो कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिने पत्रकार तुलाधर ले सम्मानित व्यक्तित्व जोशीको कलायात्रा बारे प्रकाश पर्नुभएको थियो । काठमाडौं महानगरपालिका १८ वडाका अध्यक्ष महर्जन, नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष बलामी लगायतले जोशीको कला क्षेत्रमा योगदानको प्रशंसा गर्दै आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल र व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले लहनाले विगतमा पनि कलाकारको सम्मानमा कार्यक्रमहरू गर्दै आएको र कला र कलाकारको सम्मानमा निरन्तर सक्रिय भइरहने प्रतिबद्धता जनाउनुभयो । उक्त अवसरमा प्रवेशमान शाक्य, सोनी राजभण्डारी, सतिश महर्जन, रत्नशोभा महर्जन, कृष्ण महर्जन, सरस्वती मानन्धर, स्वतन्त्र महर्जन, सरीता महर्जन, राजेन्द्र शाक्य, अगिना तण्डुकार, अनिल तुलाधर, शुद्धलक्ष्मी श्रेष्ठ, जयसिद्धिलक्ष्मी बज्राचार्यलगायत गायक गायिकाले जोशीबाट रचित गीत प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै आराध्यालक्ष्मी खड्गी, अनु महर्जन, किशोर शाही र मीरा डंगोलले जोशीबाट रचित गीतमा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा जोशीको ११ वटा गीत गाउनुभका कृष्ण महर्जन, पाँच दर्जन बढी गीत रेकर्डिङ गर्नुभएका विजय मास्की, पाँच दर्जन बढि गीतमा संगीत दिनुभएका अनिल तुलाधर र जोशी १००औं गीत गाउनुभएकी सरिता महर्जनलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
जोशीले २०२७ सालमा नेपालभाषाको डबली नाटकमा खेल्दै कला क्षेत्रमा प्रवेश गर्नुभएको थियो । नेपालको पहिलो मातृभाषी चलचित्र ‘सिलु’ मा समेत अभिनय गर्नुभएका जोशीले नेपालभाषाको चलचित्र ‘बांलाः मयजु’ बाट उत्कृष्ट निर्देशकको रूपमा राष्ट्रिय अवार्डसमेत पाउनुभएको छ । उहाँको निर्देशनमा करीब ११५ जति गीतका भिडियो निर्माण भइसकेको छ । उहाँले थुप्रै नेपाली चलचित्रमा पनि खलनायकको भूमिकामा पनि अभिनय गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच