काठमाडौं । राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरीय छात्रछात्रा बक्सिङ प्रतियोगितामा १३-१४ वर्षतर्फ ४० केजी तौल समूहको छात्रा फाइनलमा भाइबका हृदयी मानन्धरले अल्फाका झरना थापालाई पराजित गर्नुभएको छ । सोही उमेर समूहमा ४३ केजी तौलमा एबिसीका अनुश राईले सिजिजीका पासाङदेकी शेर्पालाई ४ः१ को स्पिलिट डिसिजनका आधारमा हराउनुभयो ।
४९ केजी तौलमा भक्तपुरका सायेरा गोसाईंले झापाका रीना राईलाई ४ः१ अंकको अन्तरबाट पराजित गर्नुभयो । सिजिजीका सेलेस्टी बम्जन तेस्रो हुनुभयो । छात्रातर्फ ५५ केजी तौलमा आरडिएसका सुदेस्ना राजवंशीले बक्समाण्डुका आस्था शेरचनलाई युनानिमस डिसिजन ५ः० का आधारमा हराउनुभयो ।
जुनियर ५२ केजी समूहमा भूमिका सरोज तामाङले जेनेक्सका आयोग घिसिङलाई ३ः१ को स्पिलिट डिसिजनका आधारमा पराजित गर्नुभयो । ५७ केजी तौलमा अछामका विनोद नागार्जेले सिजिजीका हिमाल गुरुङलाई तेस्रो राउन्डमा आरएससीका आधारमा पराजित गर्नुभयो । ६६ केजी तौलको छात्रतर्फ उदयपुरका रोजन मगरले ललितपुरका शब्द महर्जनलाई पहिलो राउन्डमै आरएससीका आधारमा हराउनुभएको थियो ।






