राजधानीको मुटुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई जहाजक दुर्घटना एक भयानक त्रासदी हुन पुगेको छ । ग्राउण्ड नजिकै नभएर थोरै पर भएको भए यो दुर्घटनाबाट अठार होइन आठ सयभन्दा बढीको ज्यान जाने थियो । किन भयो यो दुर्घटना र किन हुन्छन् यस्ता दुर्घटनाहरू गहिरो गरी अनुसन्धान आवश्यक भएको छ । जहाज पुरानो हो कि ? मेसिनको खराबी हो कि ? प्राविधिकको लापरबाही हो कि ? प्रबद्र्धकले सस्तो बेसाहाबाट बढी नाफा गर्न खोजिएको हुनाले यस्तो दुःखद् परिणाम हो ? तथ्य सत्य पत्ता लाग्नुपर्छ ।
दुर्घटना भन्नु नै मानिसको नियन्त्रणभन्दा बाहिरका घटनाहरू हुन् । पन्ध्र दिनअगाडि मात्रै त्रिशूलीमा पहिरोमा परेर दुईवटा बस अझैसम्म हराइरहेका छन् भने हालै यस्तै अर्को दुर्घटनाको सामना नेपालीहरूले गर्नुपरेको छ । अस्ति साउन ९ गते बुधबार काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही सेकेण्डमै विमानस्थलको उत्तरतर्फको पाखामा खसेर त्यसमा सवार विमानको मुख्य चालकबाहेकका अन्य सबै यात्रीहरूको दुःखद् निधन भएको छ । विमान मर्मतका लागि काठमाडौंबाट पोखरा लान लागिएको थियो र त्यसमा सबैजना सौर्य एयरका कर्मचारीमात्र थिए भनिएको छ । तीमध्ये धेरैजसो प्राविधिकहरू थिए । सहचालकलगायत एकै पटक धेरै ठूलो संख्यामा प्राविधिक क्षेत्रका मानिसहरू राष्ट्रले गुमाउनु परेको छ ।
यस दुर्घटनाले केही वर्ष पहिले मात्र बंगलादेश विमानको यस्तै प्रकारको दुर्घटनालाई स्मरण गराएको छ भने डेढदशक पहिले ताप्लेजुङको घुन्सा र त्यसपछि पुनः त्यही क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनाको सम्झना गराएको छ । ती दुर्घटनामा तत्कालीन मन्त्री गोपाल राई, विद्वान् व्यक्तित्व डा.हर्क गुरुङसहित नेपालका विकास क्षेत्रका होनहार बीसजना जति व्यक्तिहरूको निधन भएको थियो । त्यसपछिको दुर्घटनामा तत्कालीन मन्त्री रवीन्द्र अधिकारीसहित पर्यटन क्षेत्रका केही मूर्धन्यहरूको ज्यान गएको थियो । हालको यस विमान दुर्घटनाबाट पनि ज्यान गुमाउने १८ जनामा एकजना महिला, एक बालकबाहेक १६ जना व्यवस्थापन र प्राविधिक क्षेत्रका व्यक्तिहरू गुमाउनुपरेको छ । बेलाबेलामा हुने गरेका यस्ता दुर्घटनाले विभिन्न प्रश्न उठ्ने गरेका छन् । किन यस्ता दुर्घटनाहरू पटकपटक हुने गरेका छन् ? के कस्ता कमजोरीहरूका कारण यस्ता दुर्घटनाहरू पटकपटक दोहोरिइरहन्छन् ? भरखरमात्र दुईवटा बस र तिनमा सवार ६५ जतिको संख्यामा यात्रीहरू त्रिशूली नदीमा परेर हराइरहेका छन् ।
यो घाउ खाटा बस्न पाएको छैन राष्ट्रमा पुनः अर्को घाउ लाग्न पुगेको छ । साना-ठूला यस्ता दुर्घटनाहरू हाम्रो देशमा निरन्तर जस्तो भइरहने गरेका छन् । यसका विविध कारण देखा पर्दै आएका छन् । देशको भौगोलिक अवस्थिति र मौसमी स्थिति यस्ता दुर्घटनाको पहिलो कारण बनेर आउने गरेको छ । त्रिशूली बस दुर्घटना मौसमी वा प्राकृतिक कारणबाट हुन पुगेको हो भन्ने सबैलाई थाहा छ । त्यसमा चालकको सतर्ककता हुनेपर्नेमा त्योबाहेक कमजोरी पनि थिएन र यान्त्रिक गड्बडी पनि थिएन । नितान्त मौसमी कारण जिम्मेवार बन्नपुग्यो । कतिपय दुर्घटनाहरू चालकको लापरबाही वा कमजोरीबाट सिर्जना हुने गरेका पाइन्छन् । विमान दुर्घटनामा त धेरैजसो चालकलाई दोषी देखाउने गरिन्छ ।
गाडी दुर्घटनामा पनि चालकहरूको कमजोरी पाइन्छ, । चालकले मादक पदार्थ सेवन गर्नेदेखि तीव्र गतिमा चलाउने र अरूसँग प्रतिस्पर्धा गर्दै उछिन्न खोज्ने गर्दा दुर्घटना हुने गर्छन् । यान्त्रिक कारणहरू दुर्घटनाको अर्को कारण हो । एक दशक जति पहिले मनोहरा फाँटमा खसेको विमान पनि चालकले उडाउँदिन भन्दाभन्दै प्रशासनिक पक्षबाट उडाउन दबाब दिएर बिग्रेको विमान उडाउन लगाउँदा दुर्घटना भएको भनिएको थियो । अधिकांश यस्ता घटनामा मरिसकेका चालकलाई दोष दिएर अरू पक्षले उन्मुक्ति लिने गरेको पाइन्छ । तर हालको यो सौर्य एयरको विमानको दुर्घटना यान्त्रिक कारणले भएको हो भन्ने सामान्य नागरिकहरूलाई समेत जानकारी भइसकेको छ ।
बिग्रेको विमान बनाउन पोखरा लैजान लाग्दा त्यतिका मानिस चढाएर लान खोज्नु एयरलाइन्सको कमजोरी देखिन आएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेहरू सबै सौर्य एयरलाइन्सकै कर्मचारीहरू हुन् भनिएको छ । तर एकजना महिला र बालक त्यस एयरलाइन्सका कर्मचारी नभएर कर्मचारीकी श्रीमति र छोरा भएको थाहा भएको छ । यस्ता कारणले गर्दा मृतकका आफन्तहरूले बीमा भुक्तानी पाउनसमेत असहज बन्नसक्छ । यस दुर्घटनाको छानविनका लागि जाँचबुझ आयोग बनेको छ । आयोग त बन्यो तर यस्ता आयोगको प्रतिवेदन सधैं पुराना आयोगका प्रतिवेदनहरूकै कपी पेस्ट जस्तो लाग्छ । आयोग बनाउने र प्रतिवेदन बनाएर बुझाउने प्रक्रिया पनि एउटा नियमित औपचारिकता जस्तो मात्र लाग्छ । यस्ता आयोगहरू कर्मकाण्डीमात्र बन्नु हुँदैन । सरकारले हिजो बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय ग¥यो र झुकाइयो ।
हवाईजहाजमा मर्नेहरूका नाममा चाहिँ आयोग बनाइयो र झण्डा झुकाइयो तर त्यसको झण्डै चार गुणा बढीको ज्यान गएको बस दुर्घटनाका मृतकहरूको नाममा चाहिँ यसो गर्न मिल्दैनथ्यो र भन्ने गुनासो त्रिशूली दुर्घटनामा परेर ज्यान गुमाउनेहरूका आफन्तहरूको रहेको छ । यसलाई विभेदका रूपमा तिनले अनुभूति गरेका छन् । सरकारले मृतक संख्या, यात्री संख्या र घाइते संख्याभन्दा पनि विमान र गाडीमा विभेद गरेका रूपमा तिनले हेरेको पाइएको छ । यो राष्ट्रको नीतिगत विषय पनि हुनसक्छ । तर, मृतकहरूको ज्यानको मूल्य समान ठानिनु र तिनले पाउने मानका साथै बीमालगायत अन्य क्षतिपूर्तिहरूमा समेत समानता हुनुपर्ने हो । राष्ट्रको सम्पत्तिका साथै होनहार प्राविधिक तथा प्रशासनिकलगायत यात्रीहरूको ज्यान जाने यस्ता दुर्घटना हुन नदिनु वा न्यूनीकरण हुनु जरुरी छ ।
यसका लागि यातायातका साधनहरूका सञ्चालक संस्था र व्यक्तिहरूलाई सचेत राख्नुपर्ने पहिलो आवश्यकता हो भने दोस्रो आवश्यकता ती कम्पनीहरूले सञ्चालन गर्ने यातायातका साधन बिग्रेका, म्याद नाघेका हुनु हुँदैन र सहीसलामत अवस्थामा हुनुपर्छ । तिनको समयमै मर्मत सम्भार हुनुपर्छ र निर्माण कम्पनीहरूले दिएको त्यसको म्यादभन्दा पछिसम्म पनि जबरजस्ती सञ्चालन गरिरहनु हुँदैन । सरकारले बेलाबेलामा तिनको निरीक्षण गरिरहनुपर्छ । चालकहरूको सचेतता पनि त्यत्तिकै आवश्यक छ । त्यो पनि निरीक्षणको प्रमुख विषयमध्ये एक हो । त्यसपछिको अर्को कुरा मौसमी अवस्थामा ध्यान दिनु हो । मौसम प्रतिकूल हुँदाहुँदै यस्ता साधनहरू सञ्चालन गर्नु हुँदैन । यति भयो भने दुर्घटना न्यूनीकरण हुन सक्छ । यसका लागि सबैको सचेतता र सहयोग अपेक्षित हुन्छ । सौर्य एयर दुर्घटनामा परेर ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जलि, परिवारमा समवेदना र एकमात्र जीवीत घाइते चालकको शीघ्रस्वास्थ्य लाभको शुभकामना ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता