काठमाडौं । गत ११ महिनामा ४४ लाखभन्दा बढी हवाई यात्रुले अन्तर्राष्ट्रिय उडान गरेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गरी ४४ लाख ४९ एक सय ३३ यात्रुले यात्रा गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले २६औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा क्यानका महानिर्देशक प्रदीप अधिकारीले सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कुल ४४ लाख ४९ हजार एक सय ३३ रहेको जानकारी गराउनुभएको हो । सन् २०२३ को नोभेम्बरसम्ममा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार तीन सय ९३ थियो । गत वर्षको सोही अवधिको तुलनामा यात्रु संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको हो । आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार तीन सय दुई यात्रुले यात्रा गरेका छन् । जुन सन् २०२३ को करिब १३ प्रतिशत बढी हो । सन् २०२३ मा आन्तरिक उडानतर्फ नोभेम्बरसम्म ७७ लाखले यात्रा गरेका थिए । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा २८ मा झरेको छ ।
नेपालबाट १६ देशका २९ अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वायुसेवामध्ये १९ कम्पनी सञ्चालनमा रहेका पनि क्यानले जनाएको छ । त्यस्तै, कुल ५५ विमानस्थलमध्ये ३५ विमानस्थल आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् । हलिकोप्टरतर्फ सोही अवधिमा चार्टर्ड तथा उद्धारमा करिब ४५ सय उडान सम्पन्न भएका छन् । अन्य निषेधित क्षेत्रमा हेलिकप्टरको उद्धार, सिलिङ तथा यात्रु चार्टर्ड उडानमा एक हजार एक सय २० उडान भएका थिए ।
आन्तरिक उडानतर्फ सन् २०२३ को नोभेम्बरसम्म कुल ७७ लाख हवाई यात्रुले यात्रा गरेकोमा सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार तीन सय दुईले यात्रा गरेका छन् । नेपालबाट १६ देशका २९ अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ भने आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त २१ वायुसेवामध्ये क्रियाशील वायुसेवा कम्पनी १९ रहेका छन् । जसबाट ५५ विमानस्थलमध्ये ३५ विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् ।
त्यस्तै, गत आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ७१ करोड ३८ लाख आम्दानी गरेको छ । एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख र ननएरोनटिकलतर्फ तीन अर्ब १९ करोड ४९ लाख आम्दानी गरेको हो । गत वर्ष पुँजीगततर्फ नेपाल सरकारसहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको छ । कार्य सञ्चालन खर्चतर्फ चार अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च चार अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च एक अर्ब ३३ करोड एक लाख र आयकर खर्च एक अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको हो । प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा तीन अर्ब ३७ करोड ७८ लाख रहेको छ ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले क्यानलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक क्यानको गरिमा उँचो बनाउने गरी निर्माण हुने बताउनुभयो । मन्त्रिपरिषद्ले क्यानलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक पास गरेको उल्लेख गर्दै उहाँले आगामी संसद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पाण्डेले सरोकारवालालाई बेवास्ता गरेर ऐन नबन्ने दाबी गर्दै कर्मचारीको सेवा सुविधा घट्ने गरी ऐन नबन्ने जिकिरसमेत गर्नुभएको थियो ।






