काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । दुर्घटनामा पाइलटबाहेक १८ जनाको ज्यान गएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । ज्यान गुमाउनेमा १७ जना नेपाली र एक विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ । विदेशी नागरिक यमनका हुन् । दुर्घटनामा ज्यान गुमाउने अधिकांश एयरलाइन्सका कर्मचारी हुन् ।
ज्यान गुमाउनेमा अमृतमान महर्जन, सागर आचार्य, दीलिप बर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, सर्बेस मरासैनी, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न साही, यमनका नागरिक अरिफ रेदा र कोपाइलट सुशान्त कटुवाल रहनुभएको छ । प्राधिकरणका अनुसार पाइलट मनीषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको छ । उहाँको उपचार भइरहेको छ ।
एयरलाइन्सको सीआरजे-७ (९ एन-एएमई) जहाज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो । एयरलाइन्सका टेक्निकल स्टाफ सहितलाई लिएर पोखराको लागि उडान भर्ने क्रममा बिहान ११ बजेर ११ मिनेटमा सौर्यको जहाज दुर्घटनामा परेको थियो । काठमाडौंबाट टेकअफ गर्नेबित्तिकै सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनजिकै दुर्घटनामा परेको हो । उडेको २५ सेकेण्डमै नियन्त्रण गुमाएर जहाज दुर्घटना भएको थियो ।
उड्नेबित्तिकै सन्तुलन गुम्यो, दाहिनेतर्फ मोडिएर भुइँमा बजारियो
प्राधिकरणका अनुसार कोटेश्वर एप्रोचबाट उडान भर्ने क्रममा जहाजले सन्तुलन गुमाएर जमिनमा खसेको हो । कोटेश्वरतिरबाट उडान गर्ने क्रममा जहाजले भुइँ छाडिसकेपछि सन्तुलन गुमाएको थियो । अनि दाहिनेदेखि बजारिँदै घिस्रिएर दुर्घटना भएको प्राधिकरणले जनाएको छ । ‘सौर्य एयरलाइन्सको सिआरजे-७ (९एन-एएमई) जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११ः११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो,’ विज्ञप्तिमा भनिएको छ । घिस्रिने क्रममा जहाजको ककपिट एयर डाइनेस्टीको कन्टेनरमा ठोकिएको थियो । जहाज कन्टेनरलाई हानेर पल्टिएसँगै जहाजमा आगो लागेको थियो । प्रहरीका अनुसार २९ मिनेटसम्म विमानमा आगो लागेको थियो ।
प्राधिकरणका अनुसार जहाजको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ थियो । जुन एयर ट्राफिक कन्ट्रोलरले जहाज उडाउन पाइलटलाई दिने आदेश हो । धावनमार्ग ०.२ (कोटेश्वरतर्फ) बाट जहाजले टेकअफ लियो । अर्थात् जहाज उड्यो । त्यसको २० देखि २२ सेकेण्डमा जहाज ढलपल-ढलपल गर्न थाल्यो र हेर्दाहेर्दै दाहिनेतर्फ जहाज मोडियो र भुइँमा बजारिन पुगेको थियो । दुर्घटनाको समयमा मौसम सफा नै थियो ।
दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रमेश लेखकलगायत उच्च पदस्थ व्यक्तिहरू दुर्घटनास्थल पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले विमानस्थलस्थित नागरिक उड्डययन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा ब्रिफिङ लिनुभएको थियो । प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताउनुभएको थियो । यस्तै, गृहमन्त्री लेखकले जहाज दुर्घटनाबारे छानविन गर्ने बताउनुभयो । ‘दुःखद घटना घट्यो, जहाज दुर्घटनाबारे छानविन गर्छौं,’ लेखकले पत्रकारहरूसँग भन्नुभयो, ‘विस्तृतमा छानविन गर्छौं, दुर्घटना कसरी र किन भयो ? भन्ने पनि अध्ययन गर्नुपर्यो । अध्ययन गरिसकेपछि दुर्घटना नहुनेतर्फ ठोस कदम चाल्नुपर्छ ।’ दुर्घटनालगत्तै घटनास्थल पुगेर निरीक्षण गर्नुभएका संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पनि घटनाबारे छानविन हुने बताउनुभयो ।
सौर्यले गुमायो चार उच्च व्यवस्थापन
सौर्य एयरलाइन्सले व्यवस्थापन टिमका उच्च अधिकारीहरू गुमाएको छ । जहाज दुर्घटनामा एयरलाइन्सले सेफ्टी प्रमुख र सिएमओसहित चार उच्च अधिकारी गुमाएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा सौर्यका चिफ अफ सेफ्टी सागर आचार्य, सिएमओ म्यानेजर अश्विनकुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञप्रसाद पौड्याल, चिफ अप अपरेसन्स मनीष रत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलीप बर्मा हुनुहुन्छ । विमानका चालक मनीष शाक्य भने सकुशल हुनुहुन्छ ।
एकै परिवारका तीन जनाको निधन
जहाज दुर्घटनामा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उहाँकी श्रीमती प्रिजा खतिवडा र चार वर्षीय छोरा अधिराज शर्माको ज्यान गएको हो । प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर हुनुहुन्थ्यो । सौर्य एयरलाइन्सले पठाएको सूचीमा जहाजमा तीनै जनालाई एयरलाइन्स स्टाफको सूचीमा राखिएको छ ।
भाग्यले बाँचे क्याप्टेन
जहाज दुर्घटनामा विमानका पाइलट क्याप्टेन मनिषरत्न शाक्यको भने सकुशल उद्धार गरिएको छ । उहाँको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । अस्पतालको आकस्मिक कक्षमा राखेर उहाँको उपचार भइरहेको छ । क्याप्टेन शाक्य सामान्य कुराकानी गर्नसक्ने अवस्थामा हुनुहुन्छ । उहाँको टाउको, खुट्टालगायत भागमा चोट लागेको छ । क्याप्टेन शाक्यलाई दुर्घटनास्थलबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पठाएका थिए । उद्धारको बेला शाक्य रक्ताम्य अवस्थामा देखिनुभएको थियो । उहाँले सन् २००९ देखि नै विभिन्न एयरलाइन्सको विमान उडान गर्दै आउनुभएको थियो ।
आफन्तले तीन दिनपछि मात्रै शव पाउने
जहाज दुर्घटनामा ज्यान गुमाएका सबैको पोष्टमार्टम बुधबारदेखि नै सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार पोष्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिएको छ । मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि आएपछि पोष्टमार्टम सुरु गर्ने अस्पतालका एक अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु भएकाहरूको शव आर्टीफिकेसन प्रणालीबाट गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा आर्टिफिकेसन प्रणालीबाट शवको पोष्टमार्टम गर्न लागिएको हो । मृत्युको कारण थाहा भए पनि व्यक्ति पहिचानका लागि आर्टिफिकेसन र एन्जिमोटम प्रविधिको प्रयोग गरिन्छ । सबै शवको पोष्टमार्टम गरेर तीन दिनपछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने अस्पतालले जनाएको छ ।
इञ्जिन पूरै परीक्षण र मर्मत गर्नुपर्ने अवस्थामा थियो जहाज
दुर्घटनाग्रस्त जहाज मर्मतका लागि पोखरा जान उडेको थियो । मर्मतका लागि पोखरा आउँदै गर्दा सौर्य एयरलाइन्सको कलसाइनको जहाज दुर्घटनामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकी प्रवक्ता जसोदा सुवेदीका अनुसार पोखराको हृयाङ्गरमा राखेर मर्मतका लागि उक्त विमान कम्पनीले अनुमति लिएको थियो । सौर्य एयरलाइन्सले काठमाडौंबाट पोखरा भने नियमित उडान गर्दैन ।
विमानस्थल परिसरमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज पूरै परीक्षण र मर्मत गर्नुपर्ने अवस्थामा रहेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार जहाजको पूरै पार्ट परीक्षण र मर्मत गर्नुपर्ने भएकाले पोखरा लैजान लागिएको थियो । सौर्य एयरले पोखरा विमानस्थलमा ‘हृयाङ्गर’ भाडामा लिएकाले त्यहीँ राखेर मर्मत गर्ने तयारी थियो । ‘मान्छेको होलबडी जाँच त्यस्तै सबै परीक्षण गरेर मर्मत गर्न पोखरा लगिँदै थियो,’ प्राधिकरण स्रोतले भन्यो, ‘सौर्यले पोखरामा हृयाङ्गर भाडामा लिएको थियो । त्यहीँ राखेर मर्मत गर्ने तयारी थियो । मर्मतका लागि तीन महिनासम्म लाग्न सक्थ्यो । पोखरास्थित हृयाङ्गरमा एक महिना राखेर जहाजको मर्मत गर्ने तयारी थियो ।
६ वर्षअघि नेपाल ल्याइएको थियो २१ वर्ष पुरानो जहाज
दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज ९ एन-एएमई जहाज २१ वर्ष चार महिना उडिसकेको विमान भएको खुलेको छ । बम्बार्डियर सिआरजे २०० सिरिजको यो जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो । सुरुमा अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले मे २००३ मा किनेको यो विमानको स्वामित्व अगष्ट २००४ मा अमेरिकाकै इण्डिपेन्डेन्स एयरले लिएको थियो । जुन २००७ सम्म इण्डिपेन्डेन्स एयरले उडाएको यो विमान त्यसपछि नाइजेरियाको एरिक एयरले किन्यो । एरिकपछि अप्रिल २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसको स्वामित्वमा पुग्यो । करिब १० वर्ष साउथ अफ्रिकन एक्सप्रेसले उडाएको यो विमान जनवरी २०१७ मा अमेरिकाका लिजिङ कम्पनी एरोलिजले किनेको थियो । मार्च २०१७ मा सौर्य एयरलाइन्सले यसलाई खरिद गरेर नेपाल ल्याएको थियो । सौर्यले यो विमान उडाउन थालेको ६ वर्ष भइसकेको थियो । सौर्यले लिएपछि यसको कलसाइन ९ एन-एएमई राखिएको थियो ।
१० वर्षमा करिब एक दर्जन विमान दुर्घटना, दुई सय बढीको मृत्यु
क्यानेडियन कम्पनी बम्बार्डियरको सिआरजे २०० जहाज नेपालमा ठूलो दुर्घटनामा परेको यो पहिलोपटक हो । एभिएसन सेफ्टी नेटवर्कको रेकर्डअनुसार सन् २०१८ र २०१९ मा सिआरजे २०० सामान्य दुर्घटनामा परे पनि मानवीय क्षति नै हुनेगरी भने बुधबार नै पहिलोपटक हो । क्यानेडियन कम्पनी बम्बार्डियरले सन् २००३ मा (एन एएमई जहाज उत्पादन गरेको थियो । यसमा दुईवटा जेट इञ्जिन छन् । नेपालमा बम्बार्डियरको जहाजबाट अहिले सौर्य एयरलाइन्स र श्री एयरलाइन्सले उडान गर्दै आएका छन् ।
यसअघि २०७४ सालको फागुनमा बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस-बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा ५१ जना यात्रुको मृत्यु भएको थियो । यसैगरी, २०६९ मा त्रिभुवन विमानस्थलमै सीता एयरको विमान दुर्घटना भएको थियो । त्यस क्रममा सातजना बेलायती नागरिकसहित १९ जनाको मृत्यु भएको थियो ।
पछिल्लोपटक बुधबारको दुर्घटना युएस बंगला विमान दुर्घटनापछि विमानस्थलमा भएको ठूलो दुर्घटना हो । यस्तै, डेढ वर्षअघि मात्रै २०७९ माघ १ गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको थियो । यतीको एटिआर ७२–५०० विमान सेतीगण्डकी नदी किनारमा पोखरामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १५ विदेशी नागरिक र चालक दलका चार सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।
नेपालमा पछिल्लो १० वर्षमै यस्ता धेरै दुर्घटना भएका छन् । यस्तै मे २०२२ मा पोखराबाट जोमसोम जाँदै गरेको विमान दुर्घटना भएको थियो । यो दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । अप्रिल २०१९ मा लुक्ला एयरपोर्टनजिकै एउटा विमान दुईवटा हेलिकप्टरसँग ठोक्किएको थियो । यो दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो । फेब्रअरी २०१९ मा ताप्लेजुङ नजिकै भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारी पनि हुनुहुन्थ्यो । सेप्टेम्बर २०१८ मा गोरखाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर दुर्घटनामा जापानी नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो । मार्च २०१८ मा बंगलादेशबाट नेपाल आउँदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो । फेब्रुअरी २०१६ मा पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । मे २०१५ मा भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको अमेरिकी हेलिकप्टर चरिकोटनजिक दुर्घटना हुँदा ६ अमेरिकी सैनिक, दुई नेपाली अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो । नेपाली आकाश असुरक्षित भएको भन्दै युरोपियन युनियनले २०१३ देखि नेपाल वायुसेना कम्पनीमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।
छानविन गर्न पाँच सदस्यीय आयोग गठन, आज राष्ट्रिय झण्डा आधा झुकाइने
सरकारले विमान दुर्घटनाबारे छानविन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी सदस्य रहनुभएको छ । प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेको उहाँले बताउनुभयो ।
समितिलाई दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । त्यसका लागि समितिलाई ४५ दिनको म्याद दिइएको उहाँले बताउनुभयो । सरकारले विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । यस्तै, सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सरकारले दुर्घटनाका मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts