
काठमाडौं । फ्रान्सको पेरिसमा आजदेखि ३३औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता सुरु हुँदैछ । आज (शुक्रबार)देखि सुरु भएको प्रतियोगिता २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालबाट सात खेलाडीको सहभागिता रहेको छ, जसमा टेबलटेनिसकी स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ हुनुहुन्छ । प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा स्यान्टु र मनिताले संयुक्त रूपमा बोक्ने हुनुभएको छ । प्रतियोगिताको उद्घाटनमा स्यान्टु र मनिताले नेपालको झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको हो । स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी हुनुभएको होे ।
ओलम्पिकमा सुटिङमा प्रदीप खाती, टेबलटेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ । ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षकबिना खेल्नुपर्ने भएको छ । टिम डाक्टरमा नविसमान सिंह प्रधान हुनुहुन्छ ।
सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिसमा पूर्ण रूपमा तयारी गरिएको छ । यस ओलम्पिकमा चार नौला खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ । यीमध्ये तीन खेल टोकियो ओलम्पिकमै खेलाइएका थिए । ब्रेकिङले भने ओलम्पिकमा पदार्पण गर्नेछ ।
यस मेगा इभेन्टमा दुई सयभन्दा बढी देशका खेलाडी ३२ खेलमा प्रतिस्पर्धाका लागि उत्रनेछन् । यस खेलमा ३० हजार स्वयंसेवक परिचालन गरिएको छ । डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुनेछन् । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेलस्थल तयार पारिएको छ । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिनेछ । अन्य खेल पेरिस आसपासका शहरमा सञ्चालन गरिने जनाइएको छ । १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुनेछन् ।
पेरिस ओलम्पिक एक करोड तीस लाख मानिसले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । टेलिभिजनमार्फत् चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी पनि आयोजकको छ । पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेको छ ।
पहिलोपटक रंगशालाबाहिर उद्घाटन
ग्रीष्मकालीन ओलम्पिकको इतिहासमै पहिलोपटक रंगशालाबाहिर उद्घाटन समारोह हुन लागेको छ । फ्रान्सको सबैभन्दा प्रख्यात नदी हो, सेन । यो पेरिस भएर पूर्वबाट पश्चिमतर्फ बग्छ । उद्घाटन समारोह यसै नदीमा हुनेछ । सहभागी हुने खेलाडीको परेड डुंगामा हुनेछ र प्रत्येक देशका लागि एक डुंगा छुट्याइएको हुनेछ । यस परेडमा १० हजारभन्दा बढीको सहभागिता रहनेछ । परेड कुल ६ किलोमिटरको दूरीमा चल्नेछ । त्यस अर्थमा यो दूरीमा रहनेले उद्घाटन समारोह हेर्न सक्नेछन् । उद्घाटन समारोह नेपाली समयअनुसार आज राती सबा ११ बजेदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन समारोहमा चर्चित अमेरिकी गायिका तथा अभिनेत्री लेडी गागाले सांगीतिक प्रस्तुति दिने हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच