काठमाडौं । चलचित्र ‘देवी’ को पोष्टर सार्वजनिक गरिएकोे छ । सार्वजनिक दुई पोष्टरमा नाजिर हुसेन र गौरव पहारीको लुक देख्न सकिन्छ । यसअघि मुख्य अभिनेत्री शिल्पाको पोष्टर सार्वजनिक भइसकेको छ ।
एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यस चलचित्रले क्राइम थ्रिलर कथा पेस गर्ने निर्माणपक्षले जनाएको छ । सञ्जोग राई निर्देशन रहेको यो चलचित्र भदौ २१ गतेदेखि सिनेमाघरमा आउने तयारीमा छ । बाँसुरी फिल्मस्सँगको सहकार्य रहेको यो चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ ।
यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लाग्नुभएका राईले आफ्नो चलचित्रले महिलामाथि हुने यौनहिंसाविरुद्धको कथा पेस गर्ने बताउँदै आफूले यसमा व्यावसायिकभन्दा पनि इमानदार भएर एउटा राम्रो सिनेमा बनाउने प्रयास गरेको बताउनुभयो ।
चलचित्रमा अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भूमिकामा हुनुहुनछ । चलचित्रमा अभिनेता टीका पहारीको पनि अभिनय छ ।
रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सहनिर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा रहनुभएको छ । जोएल फ्रोमले छायांकन गरेको चलचित्रकोे पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाउनुभएको छ ।






