कोलम्बो । श्रीलंकाले टी-२० क्रिकेटमा हालसम्मकै ठूलो जित हात पारेको छ । टोलीले महिला एसिया कपमा मलेसियालाई १४४ रनको ठूलो अन्तरले पराजित गरेको हो । श्रीलंकाका कप्तान चमारी अटापट्टुले ११९ रनको शतकीय इनिङ खेल्नुभयो । उहाँ यस प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो ब्याटर बन्नुभएको छ ।
डम्बुलामा सोमबार भएको खेलमा श्रीलंकाले टस जितेर ब्याटिङ रोजेको थियो । कप्तान चमारी अटापट्टुको शतकको मद्दतमा टोलीले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो । त्यसपछि मलेसिया १९.५ ओभरमा ४० रनमा अलआउट भयो । खेलको प्लेयर अफ द म्याच चमारी अटापट्टु घोषित हुनुभयो ।
टस जितेर ब्याटिङमा आएको श्रीलंकाको टोलीको सुरुवात राम्रो हुन सकेन । टोलीले ५ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि कप्तान अटापट्टुले हर्षिता समरविक्रमासँग सावधानीपूर्वक ब्याटिङ गर्दै दोस्रो विकेटका लागि ६४ रन जोड्नुभयो । १० औँ ओभरमा माहिरा इज्जती इस्माइलले हर्षिता समरविक्रमा (२६) लाई आउट गर्दै यो साझेदारी तोड्नुभयो ।
हर्षिता (२६ रन) आउट भएपछि कप्तान अटापट्टुले अनुष्का सञ्जीवनीसँग तेस्रो विकेटका लागि ११५ रनको साझेदारी गर्नुभयो । श्रीलंकाले तेस्रो विकेटका लागि गरेको यो सबैभन्दा ठूलो साझेदारी हो । अनुष्का सञ्जीवनीले २४ बलमा ३१ रन बनाउनुभयो । मलेसियाका लागि विनिफ्रेड दुराइसिङमले २ विकेट लिनुभयो । सौबिका मनिभन्न र माहिरा इज्जती इस्माइलले एक/एक विकेट लिनुभयो । १८५ रनको लक्ष्य पछ्याएको मलेसियाको टोली श्रीलंकाको बलिङमा अलपत्र परेको थियो । टोलीले १९ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर ४० रनमात्र जोड्न सकेको थियो ।
मलेसियाका कुनै पनि ब्याट्सम्यानले १० रनभन्दा बढी रन बनाउन सकेनन् । एल्सा हन्टरले सर्वाधिक १० रन बनाउनुभयो । श्रीलंकाका लागि शशिनी गिम्हनीले तीन विकेट लिनुभयो । काव्या कविन्दी र कविशा दिल्हारीले २-२ विकेट लिनुभयो । कविशा दिल्हारी, सचिनी निसानसाला र अमा कञ्चनाले एक-एक विकेट लिनुभयो । एजेन्सी ।






