जीवन अनौठो संयन्त्रको संयोग हो । यो न चाहेर आउन पाउँछ, न चाहेर रहन पाउँछ । न सोचेको पाउँछ, न सोचेर नै पाउँछ । न लागोस् बाटामा ठेस, लाग्छ । पाऊँ त्यो चिज, कहिल्यै पाइन्न । न पाऊँ, का सबै चिज, वस्तु र विषय जति बेला पनि झुम्मिएर चिथोरी रहन्छन् । भलादमीहरूले जीवनलाई जति परिभाषाका सूत्रमा सजाउँने प्रयास गरून्, अहँ, त्यो सम्भव छैन । जतिसुकै उपदेशका सूत्रका साँचाले चेप्न खोजुन् अहँ, चेपिन्न र त्यो स्वतन्त्र चरी भएर उन्मुक्त आकाशमा सयर गर्छ, विचरण गर्छ । जीवनको परिभाषा हुन्न, परिभाषामा सच्चा जीवन कहिल्यै रहन्न । यसले पनि हुन सक्छ-जीवन अलिकति रहस्य, अलिकति दृश्य । अलिकति विदित धेरै अविदित । अलिकति रङ्गीन, धेरै फिका । धेरै कालो अलिकति सेतो ।
भेलबाट जेल पुगेका एकपछि अर्को जीवनलाई भित्रदेखि बाहिरसम्म, बाहिरदेखि भित्रसम्म कम चेतना मुछेर बढी सपाट आँखाले हेर्दै जाँदाका भिन्न पाटाबाट एउटा अनौठो सत्य वा झुठ आभास हुन्छ । सार्थक र निरर्थकताका अजीव भुमरीभित्रका पनि चौघेराभित्र मान्छेहरू रुमल्लिएका छन् । तृष्णाका भारी ढाड खुस्कने गरी त्यो अँधेरो संसारमा पनि पिठमा खचाखच भएका छन् ।
गितारमा साँध रेटेर एशुको तस्विरमा श्रद्घाका शिर झुकाउनेको लाम घेराबद्घ खाल्टोमा छँदैछ । अहिंसाको स्वाङ रचेर चौबीसै प्रहर मुखमा पट्टी बाँध्ने जैनको लाम पनि त्यही रूपमा त्यहाँ छँदैछ । ईश्वरभक्त यिनलाई अहिलेसम्म जानकारी भएको छैन-उनीहरू किन भेलमा हेलिदै जेल पुगे त ?
छैन जीवन, तैपनि खोजको बिस्कुन् छरिएको छ । मेसिन चलेका छन् प्रयोगशालामा घर्र घरर्र । चोया हल्लिएका छन् मानौँ लेकाली भेगमा निस्तब्ध सन्नाटा फिजिएको कुहिराभित्र निगाला काटेर, चोया ताछेर गोठालाहरू आनन्दले डोका, थुन्से बनाउन ब्यस्त । कतै दराजमा हात फैलाएर औँलाहरू पाना पल्टाउँदै छन् पुस्तकमा लाइब्रेरियनहरू । छेउमा फुट्बल चलिरहेको छ- गोल ! गोल !! खुसीको उन्माद गोल हुनेलाई, निरासाको आकाश गोल गर्न नसक्नेलाई शिरमा उभिएको छ । कतै योग योगासन । रामदेव बाबाका आसन यहीँ देख्न पाइन्छन् । मन्दिर छन् हिन्दु एकालापेहरूका । कृष्णपूजा, शिवपूजा, ब्रहृमपूजा । मन्त्रोच्चारण असङ्ख्य गाली । एकपक्षीय मनोआस्थाका रन्का रन्किन्छन् रनक्क । कति मूर्ख मान्छेहरू !
मस्जिद छन्- टुप्पे निशाना सान बनेर ढुङ्गामा शिर, सिमन्टीमा शिर, माटामा पेट लम्पसार जसरी घण्टाघर झुक्छ सडक जाम गरेर दिनदहाडै । आफ्नाका मिजासमा लम्पसार यो आस्थाको त्यही गन्ध थोपो हो जो अगाध समुद्रको अस्तित्व अलग भएर फुटिरहेको छ विलयबोध नभई ।
मन्दिर अग्लो गजूर बनेर उभिएको छ त्यही मध्य भागमा । आवतजावत बाटाका साथमा नै उभिएको मन्दिरभित्र मन्त्रोच्चारित छन्- शङ्खनाद र घण्ट आवाजमा । पूजा गर्दागर्दै जेल पसेका पूजारीले देवता त भेटेनन् नै आस्थाको अन्धता चिरेर बाहिर निस्किदै चौडा संसारको प्रयोगशालामा जीवन समर्पित गरी नयाँ अस्तित्व खोज गर्नुको सट्टा तिनै खिया लागेका घण्टीका डण्डी उफ्रिएका छन् बुरुक्क । तिनै सामुद्री किराका स्वरूप शङ्खका हड्डीमा मुख जोतेर गाला फुलाउँदै साकाहारीको ढोल पिटिरहेछन् । दुनियाँलाई तथानाम गाली, अश्लील शब्दको बाढ झरेको छ जिब्राबाट रालसँगै चुहेर ।
जसले उनलाई त्यता पठाए तिनका नामै लिएर उनी उन्मुक्त गाली बर्सन्छन् । बाहिर भएको भए भित्र पस्थे तुरुन्तै, भित्र भएकाले उनी स्वतन्त्र छन्, आफ्ना गालीका बाढमा बग्न । सायद, विश्वस्त आस्थाको अध्यात्म उचाइ हुँदो हो त निरर्थक ठान्थे उनी गालीको बर्सादीलाई, आस्थाको अङ्गुर चपाइलाई र शान्त समाधि कस्थे वा निरर्थक बोधले तन समाप्तिको तयारी गर्थे सकुञ्जेल ।
गितारमा साँध रेटेर एशुको तस्विरमा श्रद्घाका शिर झुकाउनेको लाम पनि त्यस घेराबद्घ खाल्टोमा छँदैछ । अहिंसाको स्वाङ रचेर चौबीसै प्रहर मुखमा पट्टी बाँध्ने जैनको लाम पनि त्यही रूपमा त्यहाँ छँदैछ । ईश्वरभक्तका यी दासलाई अहिलेसम्म पनि जानकारी भएको छैन-उनीहरू किन भेलमा हेलिदै जेल पुगे त ? यो अन्धदासताका एशुदासहरूका अनुहार हेर्छु । भनिने सनातनी असङ्ख्य विष्णु, ब्रहृमा, शिव दासहरू हेर्छु । दासमाथि दासका अनुहार त्यहाँ छन् जस्ता बाहिर थिए । माने हातमा हल्लाएर औँलाले गेडा गन्दै गेरु वस्त्रका बुद्घदासहरू एकपछि अर्को लामबद्घ छँदैछन्-ससाना अस्थायी गुम्बा, निर्मितिमा । दासका आस्थात्मक बासहरू जता आँखा घुमायो त्यतै त्यहाँ पनि देखिन्छन्, जस्ता बाहिर देखेर म दिक्क थिएँ वा हर्षित थिएँ ।
जीवनका अनेक विधि ताता तनावले घोचेको सीमान्त समयमा म एउटा आफैँभित्रको कठोर निर्णयको कठघेरामा उभिएँ । मलाई संसार शून्य शून्य झैँ, आफू निरर्थक निरर्थक झैँ लागेको यो समय सायद चिद्भविताको चेतन चहकमा मृत्युवरण गर्दाका मानिसको हुनसक्छ ।
बाथरुमका खुल्लाचौर निश्चित ठाउँमा पल्टिएर बसेका छन् । बाल्टिनमा, जर्किनमा, बाटामा एकदमै कम जलराशिका थोपाहरू सञ्चित गरेर यो बाहिरी संसारको दृश्यभन्दा फरक छ, नितान्त भिन्न । चाहे झैँ यहाँ नुहाउन सक्नुहुन्न, पाउनुहुन्न । सान्नेको डाँडाको टुप्पोमा जमिनभित्र गाडिएको घ्याम्पो जस्तै छ यहाँको जलको अवस्था । तामा कि सुनकोशी तरेर उकालो लाग्दाको ठाउँ हो-सान्ने । सोलु, ओखलढुङ्गा, रामेछाप भ्रमण गर्दा उताबाट आए पनि यताबाट गए पनि बीच बाटोमा बाटो नै हिँड्नु पर्ने त्यो बेलाको विकट ज्यानमारा उकालाको नाम हो- सान्ने ।
कोशीको पानी पिएर उकालो लागेपछि अझ गर्मीको याम होस् पिठ्युका हड्डी पग्लेर निस्केका पसिना, खप्पर तापले हपहप भएर सुकुटीबाट सररर निस्के झैँ एकतमास बगेका पसिना । तिर्खाले घाँटी सुकेर बोली रोकिएर रिसाएको मनको साथी । खुइय्य गर्दै कालजयी बनेर वरपीपलको छहारी तीन घण्टा हिँडेपछिको टुप्पोमा पुग्दा सामु देखिएको घैँटाको पानी थुक निल्दै पिउने इशाराको उत्तर छोरीको, बुहारीको, सासूको पेवा ! मतलब पैसा !! बिचरा यात्री खल्तीको रित्तो अवस्थाले तल कता कता गहिराइमा विनाआवाज बहिरहेको कोशी ताक्नुको विवशता कति दुःखद् हुन्छ ? त्यसभन्दा पनि बढीको यातना सहेर रुमाल भिजाउँदै काखी पुछ्नु सिवाय गन्ध मेटाउने अर्को उपाय हुन्न रहेछ भेल हुँदै जेल छिरेका सच्चा वा कथित कैदीका सामु । यस कहालीको अनुभव कस्टडीमा पनि अभ्यस्त भइसकेकाले अनौठो अनुभूत हुन्न यता ।
रमाइलो र अनौठो अनुभूति यिनै गीता दासहरूको, मुखुण्डा दासहरूको, माने दासहरूको, मन्दिर दासहरूको, मस्जिद दासहरूको जता आँखा घुमाए पनि देखिने दृश्य हो । आँखा स्थिरमा राखे पनि सामु टक्क उभिने यिनै दृश्यहरूको हो । यी अन्धदासहरू बाहिर चाहिँ हेर्नकै लागि कि पशुपति उक्लनु पर्यो, कि स्वयम्भू झर्नु प¥यो, कि त ज्ञानेश्वर तेर्सिनु पर्यो, कि घण्टाघर नै दौडिनु पर्यो । नत्र नहेरौँ भन्दा पनि सम्भव छ तर यहाँ इन्कारे पनि सर्वत्र बाध्यता । जीवनका अनेक विधि ताता तनावले घोचेको सीमान्त समयमा म एउटा आफैँभित्रको कठोर निर्णयको कठघेरामा उभिएँ । मलाई संसार शून्य शून्य झैँ, आफू निरर्थक निरर्थक झैँ लागेको यो समय सायद चिद्भविताको चेतन चहकमा मृत्युवरण गर्दाका मानिसको हुनसक्छ । परिवार मोहमुक्त, पारिवारिक स्वार्थमुक्त, लिप्सामुक्त । अनन्तको एक तमास दृश्यतिरको यात्रावतरण ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता