काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आज (शुक्रबार)देखि सुरु हुँदैछ । तीन साताअगाडि एसिया कपको तयारीका लागि श्रीलंका पुगेको नेपाली टिमले तीनवटा अभ्यास खेल खेलेको छ । तीनमा दुई हार र एक जित निकालेको नेपाली टिमले राम्रो तयारी गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसिसी महिला प्रिमियर कपबाट छनोट भएको हो ।
प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै युएई छ ।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन् । समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुई-दुई देश सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी दुई टोलीबीच फाइनल भिडन्त साउन १३ गते आइतबार हुनेछ ।
श्रीलंकामा भएको अभ्यास खेलमा नेपालले दुई खेलमा पराजय भोगेको छ । पहिलो खेलमा श्रीलंका डेभलपमेन्टसँग ३३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा चार विकेटले स्तब्ध भएको हो । तेस्रो खेलमा भने नेपाल दुई रनले विजयी भयो ।
नेपालको प्रतिस्पर्धा भारत, पाकिस्तान र युएईसँग
नेपालले प्रतियोगितामा पहिलो खेल आज (शुक्रबार) युएईसँग खेल्नेछ । यो खेल श्रीलंकाको डम्बुलामा हुनेछ । नेपालले दोस्रो खेल साउन ६ गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ । यो खेल साउन ८ गते डम्बुलामै हुनेछ ।
नेपालको महिला क्रिकेट टिमले तेस्रोपटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागिता जनाएको थियो ।
नेपाली महिला एसिया कप टोलीको नेतृत्व क्यानले इन्दु बर्मालाई दिएको छ । बर्मा कप्तान रहेको टोलीमा पूर्वकप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट हुनुहुन्छ ।






