
म्याग्दी । धान रोपाइँ हुने तीन हजार,आठ सय छ हेक्टर जमिन रहेको म्याग्दीमा साउन दुई गतेसम्म दुईहजार आठसय २८ हेक्टर अर्थात् करिव ८० प्रतिशत क्षेत्रफलको जमिनमा मात्रै धान रोपाइँ भएको छ ।
एक नगरपालिका र पाँचवटा गाउँपालिका गरी छ ओटा स्थानीय तह रहेको म्याग्दीमा जिल्लाभर हालसम्म करिव ८० प्रतिशत धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गंगा लामिछानेले दिएको जानकारी अनुसार जिल्लाको बेनी नगरपालिकामा ७० प्रतिशत, मालिका गाउँपालिकामा ६५ प्रतिशत, रघुगंगामा ७५ प्रतिशत, मंगलामा ८५ प्रतिशत, धवलागिरिमा ६६ र अन्नपूर्ण गाउँपालिकामा ८५ प्रतिशत रोपाइँ सकिएको हो । यसरी समग्र जिल्लाको तुलना गर्दा जिल्ला भरी करिव ८० प्रतिशत रोपाइ सकिएको कृषि प्रसार अधिकृत लामिछानेले जानकारी दिनुभयो ।
यसवर्ष मनसुन ढिलो पर्नु, गाउँघरमा काम गर्ने दक्ष जनशक्तिको अभाव, सिँचाइ सुविधा नहुनु र खेतीयोग्य जमिन बाँझो रहँदा रोपाइँमा समस्या भैरहेको किसानहरुले बताएका छन् । धान रोप्ने समय असार महिनामा खासगरी मनसुनको अभावले रोपाइँ ढिलो हुँदा यसवर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ ।
यसवर्ष समयमै धान रोपाइँ गर्न नपाउँदा उत्पादन घट्ने भएकाले किसानहरु भने चिन्तित बनेका छन् । रोपाइँका लागि खासगरी जेठ र असार महिना उपयुक्त मानिन्छ । असारपछि रोपाइँ गरिए पनि उत्पादनमा भने कमी आउने किसानसँग अनुभव छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँहरुमा धान खेती लगाउने गरिन्छ । जिल्लाको बेनी नगरपालिका र मंगला गाउँपालिकामा अन्य पालिकाहरुको तुलनामा धेरै धान उत्पादन हुने गर्दछ ।
म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दाना लगायतका क्षेत्रहरुमा धानखेती हुँदै आएको छ । यी क्षेत्रहरु धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । उच्च हिमाली क्षेत्र गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण भने धान खेती हुँदैन ।
म्याग्दी जिल्लामा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिएको छ । विकासे धान खेतीतर्फ भने किसानहरुले त्यति चासो देखाएका छैनन् । नदी किनारका फाँटहरुमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ । पछिल्लो समय जिल्लाको सीमित ठाउँमा सुख्खा धान १, २, ३ नामक जातको धान खेती समेत गर्ने गरिएको छ । किसानहरुले भने भात खानकै लागि भनेर बारीलाई मासेर खेत बनाई धान रोप्दै आएका छन् । म्याग्दीको पाखो बारीमा भने घैया धान रोप्ने चलन पनि रहिआएको छ ।
म्याग्दीमा कुल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४ सय १९ हेक्टरको जमिनमा मात्रै खेती हुँदै आइरहेको छ भने खेतीयोग्य जमिन भएर पनि ११ हजार ४ सय ३७ हेक्टर जमिन बाँझो रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । खेती गरिएकोमध्ये जिल्लामा गतवर्ष ३ हजार ८ सय ९० हेक्टरको जमिनमा धान खेती लगाइएकोमा गतवर्ष १२ हजार ५९ मेट्रिक टन मात्रै धान उत्पादन भएको कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो ।
युवा जनशक्ति पलायन हुनु, धान खेती हुने ठाउँ खण्डीकरण तथा जग्गा प्लटिङ गरिनु र बिऊमलका लागि भारतको परनिर्भर रहनुपर्ने बाध्यताका कारण पछिल्लोपटक धान उत्पादनमा कमी आउन थालेको कृषि प्राविधिकहरु बताउँछन् । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन सकेमा र विस्तारै चैते धानको समेत उत्पादन वृद्धि गर्नसके म्याग्दी जिल्लामा धान उत्पादन बढाउन सकिने भएकाले यसबाट मसिना चामलको आयात घटाउन र मध्यम तथा मोटा चामलको निर्यात बढाउन सकिन्छ ।
युवापुस्ता रोजगारी, अवसर र सेवा सुविधाको खोजीमा देश, विदेश तथा सहर पसेका कारण यतिबेला गाउँमा काम गर्ने क्रममा भने युवा जनशक्तिको अभाव देखिएको छ । पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि रोपाइँ गर्न, खेतबारी जोत्ने र मलमुत्रको समेत अभाव झेल्न किसानहरु बाध्य छन् । सरकारले पनि कृषिमा यान्त्रीकरण गर्ने भन्दै अनुदानमा विभिन्न सहयोग र कार्यक्रम ल्याएपछि पछिल्लोपटक खेत जोत्नका लागि ट्याक्टरको प्रयोगमा भने किसानको आकर्षण बढ्दै गएको पाइन्छ ।
म्याग्दीको खाद्यान्नतर्फ मुख्य रुपमा धान, मकै, गहुँ लगायतका बालीहरु रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच