राउटे जंगलमा बस्ने र वनजंगलमै विचरण गर्ने जाति हो । अहिले मध्यबर्खाको याम छ । उनीहरू हाल दैलेखको गुराँस गाउँपालिका-१ टिमिलेमा रहेका छन् । यो ठाउँ पहिराको जोखिम हुने स्थानका रूपमा रहेको छ । उनीहरू बसिरहेका त्रिपालहरू च्यातिएकाले बसेका ठाउँमा पानी पस्नाले दैनिकी कष्टकर बन्दै गएको छ । आदिवासी जनजाति वर्गमा सूचीकृत राउटे जाति नेपालमा अल्पसंख्यक सीमान्तकृत मानिन्छन् । यो जाति अझैसम्म पछाडि परेको जंगली जातिकै रूपमा रहेको छ । नेपाल सरकारले यसलाई उचित संरक्षण र बसोवास गराउने प्रयास गरेको छ तर पूर्णरूपमा सफल भएको छैन । संकटमा पर्ने पहिलो कारण उनीहरूको आफ्नै परम्परा र प्रचलन हो भने दोस्रो कारण विभिन्न बाहृय कारणबाट प्रभावित हुँदै आउनु हो ।
नेपाल जनजाति प्रतिष्ठान र जनजाति आयोगहरूबाट सूचीकृत गरिएका नेपालका आदिवासी जनजातिहरू ६० वटा रहेकोमा तीमध्ये अहिले ५८ जातिहरूमात्र पहिचानमा रहेका छन्, फ्री र छ्योरोटन लोप भइसकेका छन् । लोप भइसकेका जातिहरूलाई सूचीकृत गरिएको र आफूलाई छुटाइएको भनेर केही जातिहरूले सरकारको विरोध गर्दै आफ्नो संलग्नताका लागि प्रयास गरिरहेका छन् । कुसुण्डा, हायु, वनकरिया, राजी, किसानलगायत सीमान्तीकृत जातिहरू पनि आदिवासी जनजातिमा सूचीकृत छन् । राउटे पनि यस्तै वर्गमा पर्छ । पहिले चेपाङहरूलाई पनि जंगली अवस्थामा रहेको जाति मानेर उत्थानका लागि सरकारीस्तरबाट परियोजना बनाएर अगाडि ल्याउने प्रयास गरियो । हाल चेपाङहरू निकै अगाडि बढिसकेका छन् ।
आफ्नै भाषा, संस्कृति, रीति र धर्म भएका जातिलाई जनजाति र आदिकालदेखि नेपालमै बसोवास गर्दै आएका जातिलाई आदिवासी मानिएको छ । सबै जनजाति आदिवासी हुन नसक्ने र सबै आदिवासी जनजाति हुन नसक्ने अवस्था देखिएको छ । नेपालको आदिवासी जनजातिमा सूचीकृत राउटे अति विपन्न र सीमान्तकृत जातिमा पर्छ । मध्यपश्चिम तथा सुदूरपश्चिमको चुरे तथा महाभारत पर्वत इलाकाका वनजंगल क्षेत्रमा राउटेहरू बस्दै आएका छन् । ठाउँ सरीसरी बसोवास गर्ने यो जाति आफूलाई जंगलको राजा र भगवान रामका छोरो लवकुशका सन्तान हौँ भनेर दाबी गर्छन् । लोपोन्मुख यस जातिलाई संरक्षण गरेर राख्न सके नेपालको पर्यटकीय दृष्टिले आकर्षणको केन्द्र मानिन सक्छन् ।
कतिपय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकरी संस्थाले यिनका लागि केही सहयोग गरेको जस्तो देखाएका छन् तर अर्कातिर यसो गरेको जस्तो गरेर उनीहरूका बारेमा विभिन्न तथ्यतथ्यांकहरू आफ्नो तालुक कार्यालयमा पेश गरी अनुचित लाभ लिएको आरोप पनि उनीहरूलाई लाग्ने गरेको छ । परम्परागत रूपमा यिनका आफ्नै केही विशेषताहरू छन् । रुपैयाँ पैसाको व्यवहार नगर्ने, हिँडेको बाटो पछाडि फर्केर नहेर्र्ने, मूलको पानीमात्र खाने बगेको पानी नखाने, अरू सबैले खाने गरेको जनावरको मासु नखाने र कसैले नखाने लंगुरको मासु खाने, बिरामी हुँदा घरेलु जडिबुटी र झारफुकमात्र गर्ने आधुनिक औषधोपचार नगर्ने जस्ता परम्परा छन् । हाल अरू जातले जसरी नै तिनले पनि बिस्तारै आफ्ना परम्परा त्याग्दै र नयाँ व्यवहार अँगाल्दै गएका छन् ।
नेपाल सरकारले यिनलाई संरक्षणको प्रयास गर्दै आएको छ, मासिक भत्ताको व्यवस्था गरेको छ । आजकाल यिनीहरूले रुपैयाँ पैसाको प्रयोग पनि गर्नेगरेका छन् र अरूले जसरी नै चाडपर्व मनाउन थालेका छन् । सरकारसँग दशैँ खर्च माग्ने त्यहाँदेखि राजधानीसम्म आएर प्रधानमन्त्रीलाई समेत भेट्ने गरेका छन् । उनीहरूको मागअनुसार नेपाल सरकारले यिनलाई दशैँ मनाउने व्यवथा मिलाइदिँदै आएको छ । काठका भाँडामा अन्न साटेर जीविका गर्दै आएका राउटेहरू हाल वस्तुविनिमय मात्रै गर्दैनन् नगद कारोबार पनि गर्छन् । मानिस मरेपछि आफू बसोवास गरिरहेको ठाउँ छोडेर अर्को ठाउँमा सर्ने घुमन्ते जाति राउटेका लागि सरकारले २०६८ सालमा स्थायी बसोवासको व्यवस्था गर्न चाहेको हो ।
उनीहरूको बसोवासका लागि केही घर बनिसकेका र केही बन्ने क्रममा रहेका थिए । उनीहरूले काठ काटेर वन विनाश गर्छन् भनेर विरोध भएपछि उनीहरूको घर आवास कार्यक्रम अलपत्र परेको थियो तर सरकारले पालको व्यवस्था गर्दै आएकोमा त्यस्ता पालहरू मकाएर पुराना बनेर च्यातिएका छन् । यसले गर्दा उनीहरूका लागि बर्खो झरीमा बसोवासको समस्या सिर्जना भएको छ । राष्ट्रका सम्पूर्ण जातजातिलगायत सबै कुरा त्यस राष्ट्रका सम्पत्ति हुने भएका कारण तिनको जगेर्ना गर्नु राष्ट्रको दायित्व हो । दक्षिण अफ्रिकामा पिग्मी भनिने होचो जाति पाइन्छ । तिनको फोटो खिच्नसमेत त्यहाँको सरकारले दिँदैन, तिनको अध्ययन गर्न चाहनेहरूबाट राजस्व उठाउँछ ।
नेपालले सीमान्तीकृत यस्ता जातजातिहरूको राम्ररी संरक्षण गर्न सकेको छैन र तिनका माध्यमबाट आयआर्जन गर्न सकिने खालका योजना अघि सार्न सकेको छैन । तिनको भाषा र संस्कृतिको अध्ययन गरी केही नेपाली विद्यार्थी र केही विदेशीहरूले पनि शोध गरेका छन् तर यिनका बारेमा धेरै काम हुनसकेको छैन । यतातिर पनि ध्यान पुर्याई राउटेहरूको उचित संरक्षण र तिनका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ । तर, हालका लागि भने उनीहरूको बसोवास र बर्खायानमा आइपर्ने अनेकौं समस्याको समाधानतर्फ सरकारले यथाशीघ्र कदम चाल्नुपर्ने आवश्यकता छ ।






