पाल्पा । पाल्पा तानसेनका २२ वर्षीय आयुष सुवेदीको कथा नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ। उनले मात्र १८ वर्षको उमेरमा आफ्नो व्यावसायिक यात्रा सुरु गरे, जुन धेरैका लागि अचम्मको विषय हुन सक्छ।
हाल व्यवसाय व्यवस्थापनमा स्नातक अध्ययनरत आयुषको शैक्षिक र व्यावसायिक यात्रा निकै रोचक छ। उनका बुवा एक चिकित्सक हुन् र उनि चाहन्थे कि आयुष पनि डाक्टर बनून्। तर आयुषको मनमा व्यवसाय गर्ने व्यवसायी बन्ने इच्छा थियो।

“मैले बुवाको सपना अनुसार नै डाक्टर पढ्न प्लस टू सम्म काठमाडौमा अध्ययन गरे, “आयुष सम्झन्छन्। “तर कोभिड–१९ को समयमा मैले परिवारसँग व्यवसाय गर्ने प्रस्ताव राखेँ। अध्ययनमा लाग्ने खर्च व्यवसायमा लगानी गर्ने र त्यसैबाट मुनाफा कमाउने मेरो योजना थियो।”
परिवारको समर्थनमा, आयुषले १ करोड रुपैयाँको लगानीमा तिलोत्तमा नगरपालिका ९, रुपन्देहीको शंकरापुरमा मदानी होटल सुरु गरे। नेपालकै राम्रो नगरपालिका मध्यको नगरपालिका मानिने तिलोत्तमा नगरपालिकाको सिदार्थ राजमार्ग अन्तर्गत शंकरापुरमा उनको होटल छ । होटलमा १६ वटा कोठा (स्वीट, डिलक्स, सामान्य), मिटिङ हल, ब्यांक्वेट, बार र रेस्टुरेन्ट छन्। राजमार्गमै रहेकोले लामो यात्राका यात्रीहरू, विशेषगरी भारतीय पर्यटकहरू उनके मुख्य ग्राहकहरु हुन्।

तर यो यात्रा सजिलो थिएन। “व्यवसाय दर्तादेखि नै धेरै चुनौतीहरू आए,” उनी भन्छन्। “नेपाली प्रशासनिक प्रक्रिया झन्झटिलो छ। सानै उमेरमा व्यवसाय गर्दा मानिसहरूले विश्वास नगरेको अनुभव गरेँ।“
आयुषले सुरुवाती चरणमा हिसाब–किताबदेखि व्यवस्थापनसम्म सबै काम आफैं गरे। “होटलमा चोरी भएको र उधारो खाएर पैसा नउठेको जस्ता समस्याहरू पनि भोगेँ,“ उनी थप्छन्।
यी चुनौतीहरू बाबजुद, आयुषले उल्लेखनीय सफलता हासिल गरेका छन्। उनको होटलले २० जनालाई प्रत्यक्ष र मौसमी आधारमा थप १०–१२ जनालाई रोजगारी दिएको छ। हालै उनले थप १ करोड लगानी गरेर नयाँ संरचनाहरू निर्माण गरेका छन्, जसले कुल लगानी २ करोड पुराएका छन ।

“मेरो लक्ष्य होटललाई एउटा राष्ट्रिय ब्रान्डको रूपमा स्थापित गर्नु र देशभर शाखाहरू विस्तार गर्नु हो,“ आयुष आफ्नो भविष्यको योजना बताउँछन्।
आयुष सुवेदीको कथाले देखाउँछ कि उमेर सफलताको बाधक होइन। दृढ संकल्प, परिवारको समर्थन र कडा परिश्रमले कसरी एक युवालाई सफल उद्यमी बनाउन सक्छ भन्ने उनको यात्रा एक उदाहरण हो। उनको अनुभवले नेपालका अन्य युवाहरूलाई पनि आफ्नो सपना पछ्याउन र उद्यमशीलताको बाटोमा अघि बढ्न प्रेरणा दिनेछ।

आयुषको कथा नेपालमा युवा उद्यमशीलताको सम्भावना र महत्वलाई उजागर गर्छ। यसले देशको आर्थिक विकास र रोजगारी सिर्जनामा युवाहरूको भूमिका कति महत्वपूर्ण हुन सक्छ भन्ने देखाउँछ। आयुषको जस्तै अरू धेरै युवा उद्यमीहरूको उदय नेपालको आर्थिक भविष्यका लागि आशाको किरण हुन सक्छ ।

-मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts