✍️ धनप्रसाद पण्डित
धेरै पटक नेपालभित्र, एकपटक युनाइटेड अरब एमिरेटको दुबई शहर र चारपटक भारतका पञ्जाव, जालन्धर, हरिद्वार, आगरा, मथुरा, दिल्ली, मुम्बई हुँदै सिक्किमसम्मका यात्राहरू यसवर्षका उपलब्धिपूर्ण यात्राका रूपमा रहे । यसो भनौँ नेपालको आन्तरिक यात्राबाट सुरु भएको वर्ष सिक्किम यात्रा गरेर समाप्त हुनु सुखद् अवसर रहृयो । फेरि मुकुन्दसँगको अमेरिकाको यात्रापछि जुरेको थियो यो गान्तोक यात्रा । ‘यथातो घुमक्कड जिज्ञासा’ राहुल सांकृत्यायनको भाषामा यात्राले जीवन जगत्सित चिनाउँछ, घनिष्ट बनाउँछ । समाजसँग रम्न लगाउँछ, भूगोलको वास्तविकता विकटता, सम्भाव्यता सबै देखाउँछ । त्यसैले भन्न मन लाग्छ : घुमेर रमौँ, रमेर घुमौँ ।
मुकुन्दले मलाई इटहरी बोलायो । म माइक्रो बस चढेर इटहरी पुगेँ । त्यसको भोलिपल्ट बिहानदेखि हाम्रो सिक्किम यात्रा सुरु भयो । इटहरीबाट काँकडभिट्टा त्यहाँबाट गान्तोक सिक्किम पुग्ने हाम्रो उद्देश्य थियो । हामी नेपाल र भारतको सबैभन्दा व्यवस्थित तथा सहज आवागमन भएको सिमानाको काँकडभिट्टा पानी ट्यांकी-इलाका प्रवेश गर्यौं । नेपाल-भारत सीमा नाकामध्ये भारततिरको सानो हाइवे र नेपालतिरको पुल बनेपछि गाडी लिएर जाँदा सिधैं नेपालसम्म गाडीमा सरर आउन पाइन्छ । गाडी पास लिने ठाउँसम्म भारतीय गाडीमा आइसकेर त्यसै बिन्दुमा नेपाली गाडीमा सामान र मान्छे सारेर विना झन्झट र विलम्ब तुरुन्त नेपालतिर आउन र भारततिर जान पाइन्छ ।
त्यहाँ हृवाइट वारट र्याफटिङ भइरहेको देखिन्थ्यो । सिक्किम जाने बाटो धेरैजसो पश्चिम बंगाल जिल्ला दार्जिलिङ भएर जाने रहेछ । रम्फु भन्ने ठाउँबाट मात्र सिक्किमको सिमाना लाग्ने रहेछ । नेपाली समयानुसार पाँच बजेर ४५ मिनेटमा सिमानामा यात्राको परमिट बनाएर हामी गान्तोकतिर लाग्यौं । रम्फु सिक्किमको प्रवेशद्वार रहेछ । टिस्टा नदीको पारि पारि किनारबाट हामी माझीटार भन्ने ठाउँ पुग्यौँ ।
महाकालीपट्टिको गड्डाचौकी वनवासा नाकामा धेरै झमेला हुन्छ । त्यहाँको सिमानामा सडक टुटेफुटेको छ । यात्रुको बिचल्ली हुन्छ । सायद नेपालका सीमा नाकामध्ये सबैभन्दा सकस र समस्या वनबासा नाकामै होला । मेची नाका हाम्रा सीमा नाकाको सबैभन्दा व्यवस्थित, सफा र सुन्दर रहेछ । त्यसैले सिक्किम यात्राको सन्दर्भमा सुदूरपूर्वी नाका उल्लेख गर्नु मनासिव लाग्यो । भारतको नयाँ राज्य सिक्किम यात्राको सुरुवात २०७९ साल चैत्र २५ गते आरम्भ हुन्छ । २५ गते बिहानै हामी सुनसरी जिल्लाको इँटहरीबाट कारमा काँकडभिट्टातिर हुइँकियौँ । यात्रामा सहभागी मुकुन्द, निरु भाउजू, रोशन ढुङ्गाना र म जम्मा चार जना थियौँ । गाडीका कुशल चालक गंगा श्रेष्ठ भाइ थिए । अहिले साँढे एघार बज्यो ।
केपी ओलीको भ्युटावर दमक नगरपालिका झापा मावा खोलाको किनारमा निर्माण भइरहेको रहेछ । यसका थुप्रै तल्ला त बनिसकेका रहेछन् । यस्तो ठाउँमा त्यो भ्युटावर बनाउँदा लागेको खर्च के कसरी उठ्ला ? यहाँ पुग्ने सबैका मनमा जिज्ञासा उठ्ने गर्छ । अहिले रतुवा खोलाको पुल आयो । यहाँबाट काँकडभिट्टासम्म नेपाली नम्बर प्लेटको गाडीमा जाने र त्यहाँबाट सिक्किमको गान्तोकसम्म भारतीय गाडीमा जाने हाम्रो योजना छ । यात्रा कति रमाइलो हुन्छ, त्यसैमा भरपर्छ हाम्रो सिक्किम यात्रा कति लामो हुन्छ । अहिलेसम्म त्यसको पनि केही पूर्व जानकारी छैन ।
अब काँकडभिट्टा पुग्न तीन किलोमिटर मात्र बाँकी छ । एकै छिनमा हामी भारतको सिमानामा प्रवेश गर्छौं । सिमानामा भारतको गाडी आयो । सामान सारेर भंसारबाटै हामी मेचीपुल र भन्सारबाट आरामसँग भारत प्रवेश गर्यौँ । महेन्द्रनगरबाट भारत प्रवेश गर्दा जति गाह्रो छ यहाँ त्यस्तो समस्या रहेनछ । हामीले गाडीबाट ओर्लनु पनि परेन । परिचयपत्र मात्र देखायौं । त्यतिमा सफा चिप्लो बाटो चार लेनको सडकमा सरर...हामी सिक्किम जाँदै छौँ । हाम्रो गाडी चियाबारीको बीचबीचबाट उत्तरपूर्वतिर हुँदै जाँदै छ । सडक साह्रै राम्रो छ । टोल ट्याक्स तिरेर हामी एउटा गेटमा पुग्यौँ । यहाँबाट गान्तोक १२५ किलोमिटरको दूरीमा छ भन्ने लेखिएको देखियो । एक ठाउँमा चिया खायौँ । रेस्टुरेन्टको नाम रहेछ ‘हाँसौँ’ लन्च समय भएर होला भीडभाड पनि निकै रहेछ ।
चिया खाएर अगाडि बढ्दा हामी एक्कै छिनमा बागपुल (कोरोनेसन पुल) मा पुग्यौँ । साँढे तीन बजे भुटान र आसाम जाने सडक छुट्टियो । हामी सिक्किम तथा कालिम्पोङ जाने बाटो लाग्यौँ । बाटो ठाउँठाउँमा जाम छ । सडकलाई स-साना टालटुल पिच गरिँदै रहेछ । जे होस् पहाडी सिंगल रोडमा स-साना समस्या पर्दा पनि जाम भएर बाटो बन्द हुनु स्वाभाविक हुँदो रहेछ । एक प्वाइन्टमा अग्ला चारपाँचवटा खम्बा बनेको देखेँ । यो केको खम्बा हो भनेर सोधेँ । थापाजी ड्राइभर भाइले भने, ‘त्यो रेलको लागि पुल हो । सन् २०२४/२०२५ सम्म गान्तोकमा रेल पु¥याउने लक्ष्यका साथ धमाधम काम भइरहेछ ।’ धेरै ठाउँमा पहाड खनेर रेलमार्ग बनाउने काम भइरहेको रहेछ । अनि मुकुन्द र मैले भन्यौँ, ‘अर्को पटक रेल चलेपछि मात्र आउने हो सिक्किम ।’
पहाडको सुन्तला तीन सय भारुमा एक किलो यो वर्षको अन्तिम सुन्तला प्राप्त भयो । अक्टोबर (असोज) देखि मार्च, अप्रिलसम्म यस ठाउँमा टिस्टा भ्याली र सोरेङको सुन्तला पाइने रहेछ । मलाई त्यो नेपालको यो वर्षको सिद्धिएको सुन्तलाको सम्झनाले त्यो महँगो भए पनि सुन्तला किन्न मन लाग्यो । अनि त दुई किलो किनिहाल्यौँ । त्यस क्षेत्रमा स-साना खोलालाई पनि थुनेर ड्याम बनाइएको रहेछ बाटोभरि देख्यौँ । ठाउँ ठाउँमा रेलको लागि टनेल र अग्ला अग्ला पुलका लागि खम्बा बनाइएका रहेछन् । बाटाका रमणीय दृश्यहरू अवलोकन गर्दै र रमाउँदै हामी दक्षिण सिक्किमको मल्ली पुग्यौँ । यहाँबाट चार धाम पुग्न सकिन्छ रे । मल्लीबजार टिस्टा नदीपारि र वारि सिक्किम जाने सडक बीचमा टिस्टा नदी ।
त्यहाँ हृवाइट वारट र्याफटिङ भइरहेको देखिन्थ्यो । सिक्किम जाने बाटो धेरैजसो पश्चिम बंगाल जिल्ला दार्जिलिङ भएर जाने रहेछ । रम्फु भन्ने ठाउँबाट मात्र सिक्किमको सिमाना लाग्ने रहेछ । नेपाली समयानुसार पाँच बजेर ४५ मिनेटमा सिमानामा यात्राको परमिट बनाएर हामी गान्तोकतिर लाग्यौं । रम्फु सिक्किमको प्रवेशद्वार रहेछ । टिस्टा नदीको पारि पारि किनारबाट हामी माझीटार भन्ने ठाउँ पुग्यौँ । यहाँ धेरै औषधीका फ्याक्ट्री रहेछन् । त्यसैले सानो ठाउँ भए पनि बस्ती निकै बाक्लो रहेछ । हामीलाई बाटाभरि भारतीय जनता पार्टीका झन्डाले स्वागत गरिराखे । जाँदाजाँदै हामी मणिपाल कलेज भएको ठाउँ पुग्यौँ । त्यसपछि इन्जिनियरिङ कलेज, सिन्ताम बजार पुगियो । नेपाली समयानुसार बेलुका छ बजे हामी सिन्ताम पुगेका थियौँ । ‘यहाँ गान्तोकभन्दा सामानहरू निकै सस्तो पाइन्छ’ भने ड्राइभरले ।
सिन्ताम पुगेपछि लाचेङ, लाचुङ उत्तरसिक्किम जाने बाटो छुट्टियो । सिन्ताममा सडकसँगै पूर्णकदको आदिकवि भानुभक्त आचार्यको प्रतिमा रहेछ । विदेशमा नेपाली कविको सम्मान देख्दा मलाई गौरवको अनुभूति भयो । ट्याक्सीमा इँटहरीदेखि काँकडभिट्टासम्म पाँच हजार नेरु लाग्यो भने काँकडभिट्टादेखि गान्तोकसम्म भारु सात हजार लाग्यो । हामी साँझको सात बजे गान्तोकस्थित डाँडागाँउ, तादुङ भन्ने ठाउँमा रहेको मित्र चूडामणि खतिवडाको घरमा जानका लागि कारबाट और्लियौँ ।
ठीक त्यही ठाउँमा उहाँ आफ्नो कार लिएर आउनुभएको थियो । सामान गाडीबाट सारेर मुकुन्द र म हिँडेरै जान आँट्यौँ तर बाटो बिर्सेछ मुकुन्दले । त्यसैले एक छिनमा मितज्यू गाडीमा महिला वर्ग र सामान घरमा पुर्याई हामीलाई खोज्न आइपुग्नुभएछ । अनि दुईतीन मिनेट हिँडेर उहाँको घरमा पुग्यौँ । मितिनी खाना पकाएर बस्नुभएको रहेछ । घरमा मितज्यू चूडामणि खतिवडा, मितिनीज्यू ज्ञानू खतिवडा र छोरी स्वीकृति खतिवडासँग रमाइलो भेटघाट र बातचित भयो । हामीले छिट्टै खाना खायौँ अनि गफसफ गर्यौँ । सिक्किमको पहिलो रातको बसाइ रमाइलो भयो ।
आज चैत २६ गते प्रातः उठेर छानामा गई सिक्किम वरपरका दृश्यहरू अवलोकन गरियो । त्यसपछि चिया बिस्कुट, कफी फलफूल खाइयो । त्यसपछि हामी मुकुन्द, चूडामणिजी र म तीन जना बसेर गफ गर्यौँ । आज बिहान हाम्रो केही खाएर गान्तोक घुम्ने योजना रहेको छ । आरामसँग बसेर हामी स्थानीय दृश्यावलोकन गर्ने सोच्दै छौँ । हामी सुतेको खाना खाएको पहिलो तल्ला भनेर ठानेको थिएँ यो त तेस्रो तल्ला पो रहेछ । यसमुनि अरू दुई तल्ला रहेछन् । जम्मा छ तल्लाको विशाल घर रहेछ । एक छोरा, एक छोरी काम र पठनपाठनको लागि बाहिर गएपछि अहिले घरमा दुई जनाको परिवार रहेछ । त्यति ठूलो घर त हृवाङ्हृवाङ्ती रहेछ । पाहुना आउँदा बस्न एकदम राम्रो व्यवस्था रहेछ ।
प्रशस्त ठाउँ भएकोले आनन्दसँग बस्ने व्यवस्था भयो । ३३/३४ वर्षअघि बनाएको यो घर निकै फराकिलो रहेछ । जे होस् प्रथम बास सिक्किममा आफ्नै घरमा बसेजस्तै भयो । निद्रा पनि मज्जाले लाग्यो । हामी चार जना आनन्दसँग बस्यौँ । बिहान भारतकै महँगो अल्फान्सो आँप, अंगुर र स्याउ खायौँ । अहिले खानेकुरा तयार हुँदै छ । हेरौँ कति बजेतिर हामी यहाँबाट माथि मुख्य गान्तोकतिर प्रस्थान गर्छौं । सिक्किममा रहेको सरकारी क्यालेन्डरमा इन्द्रजात्रा, भानुजयन्ती, नेपाली भाषा मान्यता दिवस, हरितालिका तिज, बिदा हुने रहेछ । त्यसैले नेपाल र सिक्किमको सम्बन्ध कति गहिरो छ भन्ने जान्नबुझ्न सकिन्छ । सिक्किम पुग्दा मलाई नेपाल बाहिरको साँच्चो नेपाल पुगेको जस्तो भान भयो ।
सिक्किम पुगेको भोलिपल्ट हामीले आराम गर्यौँ । खानपान गफसफ गर्दै भलाकुसारीबाट दिनको सुरुवात भयो । बिहान मुकुन्द, म र मितज्यू छ तलामाथि रहेको छानामा गई यताउताका दृश्यमा नजर लगायौँ । डाँडैडाँडामा बस्ती भएको भिरालो जमिनको शहर रहेछ सिक्किम । बसेको ठाउँबाट डाँडागाउँ केही तल छ । त्यहाँबाट कस्सिएर हिँडेर जाने हो भने एक घण्टा लाग्छ रे गान्तोक मुख्य बजार महात्मा गान्धी रोड पुग्न । बिहान टाढैबाट अवलोकनमात्र गरी स्नान गरेर भोजन गर्यौँ । फेरि एक घण्टा आराम गरेर ट्याक्सीमा उकालो लाग्ने विचारले मुकुन्द र म सडकतिर लाग्यौँ । करिब २०/२५ मिनेट कुर्दा पनि ट्याक्सी पाउन सकेनौँ ।
त्यहाँ प्रतिव्यक्ति ३० रुपैयाँमा लाने ट्याक्सी हुनेरहेछ तर टिपाटिप खाली नआउने तलतिरबाट आउँदा एक-दुई सिट खाली हुने, यात्रुहरू ठेलमठेल गरेर २०३६ साल ताकाको रत्नपार्कबाट कीर्तिपुर जाने बसमा चढेजस्तो गर्नुपर्ने रहेछ । हामीले रिजर्वमा जान्छौँ भन्यौँ । त्यो पनि हुन्न पो भन्दा रहेछन् । ट्याक्सी फेला पार्न नसकेर हामी घर फर्कियौँ । अनि मितज्यूको कारमा केही र छोरीले साथीलाई फोन गरेर मगाएको अर्को रिजर्व गाडीमा गान्तोकभन्दा पनि माथि गभर्नर हाउसको बाटो हुँदै हनुमान टप (टक) मन्दिरतिर लाग्यौँ ।
त्यो ठाउँ जान निकै उकालो भएर जानुपर्ने रहेछ । दुई-तीनपटक गाडीले तान्न नसकेर पछाडितिर पो आउनुपर्यो । बल्लतल्ल टुप्पामा पुग्यौँ । त्यही बाटो नाथुला तिब्बत सिमानासमेत जाने रहेछ । हामी पुग्ने बित्तिकै ठूलो पानी पर्यो । जाडो भयो । मन्दिरभित्र प्रवेश गर्न जुत्ता मोजा खोलेर जानुपर्ने थियो । कोही गयौँ, कोही त्यतै गाडी नजिक पर्खेर बस्यौँ । त्यहाँबाट फर्केर रिजर्ब गाडीले असिना पानी परेको बेलामा हामीलाई महात्मा गान्धी रोड जाने बाटोनजिक ओराल्यो । त्यति दूरीका लागि रिजर्व गर्दा एक हजार रुपैयाँ लियो । पानी परिराखेको हुँदा छोरीले एउटा छाता किनिन् । मुकुन्द, म र छोरी तीन जना एउटै छाता कसरी ओढ्नु ?
त्यो साँझ धेरै रमाइलो भयो । बृहत् परिवारको सानो भाग गानटक, हनुमान टक त्यपसँग भेटघाट, चिनजान र गफगाफ गर्यौँ । सानो ठाउँ भए पनि गान्तोकको महात्मा गान्धी सडक तर (पेटेस्ट्रिन) पैदलमात्र हिँड्न मिल्ने यातायातका साधन ल्याउन नपाउने सुन्दर ठाउँ रहेछ । महात्मा गान्धीका दुईवटा मूर्ति (एउटा पूर्णकदको पश्चिमपट्टि र अर्को अर्धकदको पार्कको मध्यभागमा) रहेछन् ।
अलिअलि भिज्दै ओढ्दै महात्मा गान्धी रोडको एउटा रेस्टुरेन्टमा पुग्यौँ । त्यहाँ खाने, पिउने, नाच्ने आदि सबै बन्दोबस्त रहेछ । सबैजना जम्मा भइयो । मितज्यूका बहिनी, भाञ्जाभाञ्जी, ज्वाइँ, नयाँ नाताका मान्छेसहित हामी १२/१३ जना बसेर लामो समयसम्म खाँदै, एक छिन् रोडमा गएर फोटो खिच्दै फेरि खानपानमा सामेल हुँदै गरियो । त्यो साँझ धेरै रमाइलो भयो । बृहत् परिवारको सानो भाग गानटक, हनुमान टक त्यपसँग भेटघाट, चिनजान र गफगाफ गर्यौँ । सानो ठाउँ भए पनि गान्तोकको महात्मा गान्धी सडक तर (पेटेस्ट्रिन) पैदलमात्र हिँड्न मिल्ने यातायातका साधन ल्याउन नपाउने सुन्दर ठाउँ रहेछ । महात्मा गान्धीका दुईवटा मूर्ति (एउटा पूर्णकदको पश्चिमपट्टि र अर्को अर्धकदको पार्कको मध्यभागमा) रहेछन् । त्यसै ठाउँ वरिपरि घुमघाम गर्यौँ । रात परेपछि गाडीमा घरतिर लाग्यौँ ।
चैत २७ गतेको दिन सुरुमा म प्रातः ६ः३० बजे उठेर मुख धोई डायरी लेख्न बसेँ । मितज्यूले कालो चिया बनाउनुभयो । कालो चिया खाँदै मुकुन्द अमेरिकाको हवाईमा रहेको युवराज शर्मासँग गफ गर्नथाले पछि त्यो दिनको सुरुवात भयो । मितज्यूको जन्मघर विरिङ (ल्याप्चा भाषामा) सर्प हुने ठाउँ जाँदै छौँ । बिहानीका क्रियाकलाप सकी खाने कुरा खाईवरि सिक्किमको गाउँ घुम्न जाँदै छौँ । गाउँको वास्तविक जनजीवन हेर्न पुरानो बस्ती रहनसहन हेरेर त्यतै रातिको खाना खाएर फर्कने योजना छ ।
बिहान चिया खाएर हामी दीपा जसलाई हामीले संयुक्तराज्य अमेरिकाको युटा राज्यको साल्ट लेक शहरमा भेटेका थियौँ, उनको आमाबुबाको घरमा उहाँहरूलाई भेट्न पुग्यौँ । बुबा दुर्गाप्रसाद ढुंगेल, आमा रेणुका ढुंगेल दीपिकाको बाआमा उनका ज्वाइँ राजु सुवेदी नेपाल दोलखा जिरीतिरका भाइको ससुराली घरमा पनि गयौँ । उहाँहरूसित भेटघाट गर्यौँ र चिया खाएर फर्केर खाना खायौँ । गुन्द्रुक भात, स्थानीय सिक्किमी आलु र नौनी खायौँ । अहिले मितज्यू आफ्ना भाइहरूको परिवारलाई भेटन जानुहुने भएकोले स-साना प्याकेटको रूपमा फलफूल प्याकिङ गर्दै हुनुहुन्छ ।
भोलि नाथुला तिब्बत सीमातर्फ जाने योजना भएकाले त्यसका लागि परमिट बनाउन पासपोर्टको फोटोकपी, नागरिकता वा मतदाता परिचयपत्रको फोटोकपी र पासपोर्ट साइजको फोटो स्क्यानिङ गरेर छोरीले ट्राभल एजेन्ट कहाँ पठाउने काम गरिन् । दिउँसो एक बजे हामी सिक्किमको गाउँ जान टुरिस्ट भ्यानमा बस्यौँ । यो ठाउँबाट सिलीगुडी १११ किलोमिटर रहेछ । गाडीमा अगाडिको सिटमा रोशन ढुंगाना, दोस्रोमा ज्ञानु खतिवडा, छोरी स्वीकृति खतिवडा, भाउजू निरजा ढुंगाना, तेस्रो सिटमा म, चौथो सिटमा मुकुन्द र मितज्यू बस्नुभएको छ । अचानक पुलिसले गाडी रोक्यो र भन्यो, ‘भाइ, तिमीले मोबाइल चलाएछौं माथिबाट खबर आइसक्यो, झुट नबोल केही फाइदा छैन ।’ अनि त लाइसेन्स माग्यो ।
कति सजाय गर्ने हो चलान काटिहाल्यो । दुई हजारसम्म सजाय गर्नसक्छ रे ‘मलाई एक हजार माफ गर्यो’ भन्दै आयो ड्राइभर । सिक्किममा नियम पक्का अनि कडा रहेछ । प्यायोङ एयरपोर्ट दुई किलोमिटरमा आइपुग्दै छ । सिक्किमको विशेषता हरियाली रहेछ । हामी हवाईमैदानको भ्युप्वाइन्ट हेर्न अलिक उकालो बाटो गयौँ । यहाँ पुगेर हेर्दा त सानो हवाईपट्टी छर्लंग देखिँदो रहेछ । सिक्किमको हवाईपट्टी भारतको १००औं हवाईमैदान रहेछ । यो २४ सेप्टेम्बर २०१८ मा निर्माण सम्पन्न भएको रहेछ । केही डाँडा काटेर बाँकी उत्तर-पश्चिमपट्टि ठूलठूला अग्ला पर्खाल लगाएर बनाइएको रहेछ त्यो सानो पहाडी हवाईमैदान । गाउँको बाटो पनि निकै राम्रै रहेछ । हामी करिब ३८ किलोमिटर पार गरेर डाँडागाउँ गान्तोकबाट मितज्यूको जन्म भएको गाउँ पुख्र्यौली थलो पुग्दै छौँ ।
भाइ उदयचन्द्र खतिवडा, साइँलो भाइको गाउँ घरमा तीन बजेर १० मिनेटमा पुग्यौँ । घरमा पुग्नेबित्तिकै पानी खायौँ । त्यसपछि चिनाजानी र गफसफ भयो । बाबुबाजेको थातथलोमा पनि पुग्ने अवसर मिल्यो । अनि जेठा, साइँला, कान्छा सबै दाज्यूभाइका जहान छोराछोरी जो गाउँको घरमा हुनुहुन्थ्यो, उहाँहरूसँग भेट भयो । सबैसित चिनाजानी ग¥यौँ । ठूलारे मज्जाको खलक रहेछ । उहाँले पूर्ण अर्गानिक खानाको परिकार तयार पार्नुभएको रहेछ । भात, गुन्द्रुकको झोल, चटनी, दाल, इस्कुसको मुन्टाको साग, घरकै घ्यू, आफ्नै घरमा उत्पादित दही खायौँ । खानाको स्वाद एकदम मीठो थियो । राजनीतिक गफ पनि भयो । हामीले ढिकी कुटेको फोटो खिच्यौँ । दुहुना गाई, बाच्छाबाच्छी र बाख्रागोठ पनि हेर्यौँ ।
२८ गते चैत घरमै आराम गरेर बस्यौँ । बिहान खाजा र खाना खायौँ । मितज्यूको परिवारमा अभिषेक शर्मा, अभिनन्दन शर्मा, कृतिका शर्मा, ज्ञानू खतिवडा, ऋष खतिवडा, दुर्गा मामा, रेणु माइजू, माइला मामा, स्वीकृति खतिवडा, अंकिता खतिवडा, योगेश, हरि सानिमा, कुणाल शर्मा र मित्रलाल शर्मा गरी १४ जना सदस्यहरूसित हाम्रो भेटघाट र रमाइलो बातचित भयो । नयाँ पारिवारिक जमघट सिक्किमको यात्रा यसपालि मेरो लागि नौलो थियो ।
मुकुन्दको मितज्यूको घरजाने योजना हामीले अमेरिका भ्रमण सन् १९१७ मा नै गरेका थियौँ । त्यसपछि आआफ्नै व्यस्तता, समयको कमी, पारिवारिक व्यवस्था र दुई वर्ष कोरोना महामारीले हाम्रो भ्रमणको लगन जुरेको थिएन । यसपटक मुकुन्दको लामो नेपाल बसाइ मितज्यूको स्वास्थ्यमा सुधार, मेरो रिटायरमेन्ट सबै कारणले सिक्किम यात्राको लगन जुराएँ । मलाई यात्रा रमाइलो लाग्छ । त्यसैको एउटा अंश हो यो सिक्किम यात्रा ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता