काठमाडौं । अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । उहाँले पुरुष एक सय मिटर बटरफ्लाई ५९.१७ सेकेण्डमा पूरा गर्दै अनुभव सुब्बाले २५औँ राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको कीर्तिमान तोड्नुभएको हो । अनुभवको नाममा ५९.७७ सेकेण्डको कीर्तिमान थियो ।
यसअघि अजलले पुरुष ५० मिटर बटरफ्लाई २५.५२ सेकेण्डमा पूरा गर्दै कीर्तिमान स्थापित गर्नुभएको थियो । अजलले २६औँ राष्ट्रिय पौडी प्रतियोगितामा आफैंले बनाएको २५.६७ सेकेण्डको कीर्तिमानमा सुधार गर्नुभएको थियो । प्रतियोगितामा जम्मा तीन राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान दिवाकर अवाले बनाउनुभएको थियो । दिवाकरले पुरुष दुई सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेण्डमा पूरा गर्दै १३औँ दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माको २ मिनेट ३१.१५ सेकेण्डको कीर्तिमान भंग गर्नुभएको थियो । कीर्तिमानधारीले प्रत्येक कीर्तिमानबापत पाँच हजारका दरले नगद पुरस्कार पाए ।
प्रतियोगितामा १६६ अंकसाथ निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बन्यो । ५३ अंकसाथ सेन्ट मेरिज दोस्रो तथा ३६ अंकसाथ जेम्स स्कुल तेस्रो बने । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य अञ्जना श्रेष्ठ, आयोजक नेपाल पौडी संघका अध्यक्ष जगत्मान श्रेष्ठ, महासचिव ईश्वर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
समापनका अवसरमा भारतको नयाँदिल्लीमा भएको विमस्टेक युथ वाटर स्पोर्ट्सको दुई सय मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जित्नुभएका तेन्जिङ नाम्डेल रायन गुरुङलाई २५ हजार नगदसहित सम्मान गरिएको आयोजक संघका सचिव गंगालाल गोलेले जनाउनुभएको छ । दुईदिने प्रतियोगितामा ३५४ खेलाडीले ६५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।






