काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले नेपाल साहित्यिक पत्रकार संघको १८औं स्थापना दिवसको कार्यक्रममा यस्तो बताउनुभएको हो । मन्त्री शर्माले पत्रकारिताको इतिहासको सुरुवात नै साहित्यिक पत्रकारिताबाट सुरु भएको स्मरण गर्नुभयो ।
भारतको बनारसदेखि नेपाली साहित्यिक पत्रकारिता उदाएको उल्लेख गर्दै उहाँले साहित्यिक पत्रकारिताले नेपालमा पत्रकारिताको विकास गर्न सहयोग पुगेको बताउनुभयो । ‘पत्रिकारिताको पुरानो धरालत साहित्यिक पत्रकारिता हो’, मन्त्री शर्माले भन्नुभयो, ‘अब समयसापेक्ष सूचनामैत्री साहित्यिक पत्रिकारिता बनाउनुपर्छ ।’ उहाँले संघलाई यस वर्षदेखि दुई लाख सहयोग गरेको उल्लेख गर्दै साहित्यिक पत्रकारिताले समाज रूपान्तरण गर्न मद्धत पुग्ने किसिमका पाठ्यसामग्री उत्पादन गर्न जरुरी रहेको धारणा राखनुभयो ।
मन्त्री शर्माले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुुनपर्नेमा जोड दिनुभयो । उहाँले अहिले समाज भ्रष्टीकरणमा गइरहेको गुनासो गर्नुभयो । सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको उहाँको भनाइ थियो । ‘आज आएर राजनीतिभन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ । आखिर राजनीति त देशको मूल नीति हो । यो माउ नीति हो । यो मूल नीति, माउ नीति नसच्चिसम्म यो नसुध्रिकन अरू तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन । त्यसकारण यसलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा हामी सबैले घोत्लिएर सोच्नुपर्ने हो कि,’ मन्त्री शर्माले भन्नुभयो ।
कार्यक्रममा साहित्यिक पत्रकारहरू क्रमशः प्राडा.कृष्णप्रसाद घिमिरे, घनश्याम कँडेल, डा.तुलसी भट्टराई, निनु चापागाईं, नरेन्द्रबहादुर श्रेष्ठ, डा.अमर गिरी, ईश्वरचन्द्र ज्ञवाली, कृष्ण प्रसाईं, नरनाथ लुइँटेल, हरिगोविन्द लुइँटेल, डा.विष्णुविभु घिमिरे, लोकबहादुर थापामगर, नारायणप्रसाद शर्मा र सावित्री श्रेष्ठलाई सम्मान गरिएको थियो । संघका अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारिता जोगाउन राज्यको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँले संघलाई आर्थिक सहयोग वृद्धि गुर्नभएकामा मन्त्री शर्माप्रति आभार व्यक्त गर्नुभयो ।






