सविलम्बित शुभकामना हिमालय टाइम्सलाई । निष्पक्ष, निर्भय तथा स्वच्छ पत्रकारिताको पथमा सदैव अग्रसर रहोस् हिटालाई शुभकामना । जर्ज सोरसलगायत डिप स्टेटबाट नेपालमा सञ्चालित पत्रिकाहरूमा हिटामाथि आजसम्म आँच आउन नसक्नुमा यसको प्रकाशक र प्रधान सम्पादकलगायत हिटा संलग्न अन्य सज्जनहरूको योगदान अमूल्य छ । पत्रकारिताको कुरा गर्दा आज म आफ्नो जीवनमा भोगेका केही घटना उल्लेख गर्न चाहन्छु, जसले हाम्रो मिडियालाई कुन अज्ञात संस्था वा समूहले चलाइरहेको छ केही अनुमान गर्न सकिन्छ । मैले सबैभन्दा पहिला नेपालगञ्जबाट प्रकाशित हुने ‘सरमा सरोवर’ साप्ताहिकबाट पत्रिकामा लेख्न सुरु गरेको थिएँ ।
झापा पृथ्वीनगरका दाजु प्रभात भण्डारीले प्रकाशन गरेको उक्त पत्रिकाबाट मैले लेखन यात्रा सुरु गरेको थिएँ । प्रकाशक तथा प्रधान सम्पादक भण्डारी दाजु कतै बाहिर जाँदा पत्रिकाको सम्पादन गर्ने जिम्मा मलाई दिनुहुन्थ्यो । २०३६-२०३७ सालतिरको कुरा हो । म त्यस पत्रिकामा काम गर्दा बहुदलीय व्यवस्थाको पक्षमा पनि लेख्थेँ तर त्यस बेला पञ्चायती सरकारले कुनै हस्तक्षेप गरेन । मैले त्यसबेला राजसभा स्थायी समितिका सदस्य ओमकारमल खेतानलाई एक दिन नेपालगञ्जबाट पारि रूपइडिहा जाँदा सीमा पार गर्ने बेलामा आफ्नो शिरवाट ढाका टोपी झिकेर जवाहर टोपी लगाएको देखेँ । उनको दोहोरो चरित्र हेरेर म खिन्न भएँ । उनी राजाको जन्मोत्सव लगायत कार्यक्रममा भाषण गर्र्दा सच्चा राष्ट्रवादी झैँ भाषण गर्ने गर्थे । उनको यो दोहोरो चरित्र देखेर मैले सुरमा सरोवरमा समाचार लेखेँ ।
माओवादी हिंसाकालमा नेकपा मालेका महासचिव वामदेव गौतम गुलरिया, बर्दिया आउँदा हामीलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा उनले भनेका थिए, कमरेडहरू माओवादी सशस्त्र युद्ध हाम्रो र नेपाली जनताको हो । उनीहरूको हतियार हाम्रो हतियार हो, तपाईंहरूले माओवादीलाई जहाँबाट हुन्छ, जसरी हुन्छ सहयोग गर्नु होला ।
त्यसबेला बाँकेको महेन्द्रनगरको पञ्चायत प्रशिक्षण केन्द्रमा प्रधानमन्त्री सूर्यबहादुर थापा आउनेवाला थिए । एकदिन साँझ म त्रिभुवन चोकतिर गइरहेको थिएँ । टाँगा स्ट्याण्डनिर ओमकारमल खेतानसँग जम्काभेट भयो । उनले मलाई देख्नासाथ अँगालो मारेर भने, ‘शर्माजी आपने मेरे बारे में पत्रिकामा अन्टसन्ट लिख दिया ।’ मैले भनेँ, ‘मैले जे देखेँ, त्यही लेखेँ सेठजी’, त्यसपछि उनले भने, ‘आपको जो मन चाहे वही लिखिए, मेरा बाल भी बाँका नही होगा । शर्माजी, महेन्द्रनगर में प्रधानमन्त्री सूर्यबहादुर थापाजी आनेवाले हैं, आपको निमन्त्रण रहा, आप आइएगा, वहाँ मैं थापाजीको किस तरह गले में हात रखकर बैठता हूँ देखिएगा । और सुषमा शाहीका डान्स भी देखिएगा ।’
उनको कुरा सुनेर म उत्तेजित भए पनि शान्त भावमा भनेँ, ‘सेठजी, आप थापाजीको अँगालो मारिए या हिरोइन सुषमा शाहीका डान्स देखिए मुझे मतलब नर्ही । मैं महेन्द्रनगर नही आउँगा ।’ मारबाडीहरूको दोहोरो चरित्र मैले जिन्दगीमा पहिलो पटक देखेँ । पछि प्रभात दाइले भन्नुभयो, ‘मणि भाइ खेतानको बारेमा नलेख्नुपर्ने, उनीहरू हाम्रा विज्ञापनदाता हुन्, विज्ञापन नपाए हाम्रो पत्रिका नै चल्दैन ।’
जागिरको सिलसिलामा विभिन्न ठाउँहरूमा सरुवा भइरहँदा पत्रिकाबाट मेरो समय लामो समयसम्म टाढा रहृयो । बहुदलको पक्षमा लागेकाले नेपालगञ्जबाट मुगु सरुवा गरिदिए मेरा पञ्चायतका कट्टर समर्थक हाकिमले । त्यतिमात्र होइन मलाई प्रहरी लगाएर अञ्चलाधीश कार्यालयसम्म पु¥याए । अञ्चलाधीश मेहबुब शाहले मसँग सोधपुछ गर्नुभयो । मैले पत्रिकामा लेख्ने कुरा पनि सोध्नुभयो । मैले स्वीकारेँ र मैले राजाकै हुकुम अनुसार बहुदललाई रोजेँ भनेँ । अञ्चलाधीशले भन्नुभयो, ‘तपाईलाई जहाँ इच्छा लाग्छ त्यतै लाग्नुहोस् । राजा स्वयंले जनतालाई बहुदल कि निर्दल रोज्न दिइबक्सेको छ, तपाईंको हाकिम नै मुर्खमात्र होइन बदमास पनि छ ।’ अञ्चलाधीशहरूको कुरा गर्दा म नवलपरासीमा थिएँ । एउटा कार्यक्रममा भाग लिन एउटा गाउँमा गएको थिएँ ।
कार्यक्रमको सुरुमा राजारानीको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम थियो । जिसी थर भएका अञ्चलाधीले पहिला माल्यार्पण गरिसकेपछि जिल्ला पञ्चायतका सभापति महेन्द्रध्वज जिसीले गर्नुभयो, त्यसपछि मैले । उहाँहरूले राजारानीको तस्वीरमा निहुरेर ढोग्नुभयो, मैले ठाडो नमस्कार गरेँ । यो देखेर सभापति जिसीले जंगिँदै राजारानीलाई ठाडो नमस्कार गर्ने हो ? निहुरेर ढोग्नुस् भने । उनको कुरा सुनेर अञ्चलाधीशले भन्नुभयो, श्रद्धा मनमा हुन्छ बाहिर प्रदर्शन गर्ने कुरा होइन । तपाईं चूप लाग्नुस् सभापतिज्यू । बहुदल आएपछि महेन्द्रध्वज जिसी कांग्रेसबाट सांसद भएका थिए ।
२०४८ पछि म फेरि स्थानीय पत्रिकाहरूमा लेख्न थालेँ । त्यसपछि नागरिक दैनिकको नेपालगञ्ज प्रकाशनमा त्यसबेला त्यहाँका सम्पादक गुणराज लुइँटेलजी हुनुहुन्थ्यो । पछि उहाँ काठमाडौं गएर प्रधान सम्पादक भएपछि म काठमाडौंबाट प्रकाशित नागरिक दैनिकमा लेख्न थालेँ । उहाँको सम्पादनमा मेरा लेखहरू कहिल्यै काँटछाँट भएनन्, केबल सम्पादनमात्र हुन्थ्यो । किशोर नेपालजी आएपछि मैले त्यसमा लेख्न छोडेर अन्नपूर्ण पोष्टमा लेख्न थालेँ । पछि गएर त्यहाँ मेरा कुनै कुनै लेख छापिन छोडे र अन्य लेखहरू सम्पादन गरेर लेखकै मर्म बिगारिदिन सुरु भयो । विशेषगरी इण्डियन प्रवृत्तिका बारेमा लेखेका लेखहरू ।
एकदिन म काठमाडौं गएको बेला अन्नपूर्णको प्रधान सम्पादक युवराज घिमिरेजीलाई भेटेर मेरो लेखहरू बीच-बीचमा नछाप्ने र छापेका पनि लेखको मर्म बिग्रिने गरी सेन्सर हुने गरेको पाएँ । मेरा लेख छाप्न नमिल्ने भए छाप्दिन भन्नुहोस्, म लेख पठाउन बन्द गर्नेछु भनेर विनम्र तरिकाले भनेँ । उहाँले त्यस्तो त हुनु नपर्ने हो, मेरो उद्देश्य त्यस्तो छैन । लेख भनेको लेखकको विचार हो पत्रिकाको होइन । मैले समयले नभ्याएर लेखहरू हेर्ने गरेको छैन, अर्कैै एकजना साथीलाई हेर्न दिएको छु भन्नुभयो र लेख हेर्नेलाई बोलाउन लगाउनुभयो । उहाँ आएपछि मेरा लेखहरू नछाप्ने, छापेकोमा सेन्सर गर्ने किन गरेको भनेर सोध्दा उहाँले आलटाल जवाफ दिनुभयो ।
त्यसपछि उहाँले उहाँलाई भन्नुभयो, लेख लेखकको विचार हो, त्यसलाई सेन्सर गर्ने हाम्रो अधिकार छैन, अबदेखि कसैको लेख सेन्सर नगरेर जस्तो आउँछ त्यस्तै छाप्न निर्देशन दिनुभयो । ती मित्र हस् भनेर जानुभयो । म युवराजजीको क्याबिनबाट निस्केर ती साथीकहाँ गएँ र उनीसँग पारिवारिक कुराहरू गर्न थालेँ । यसै सन्दर्भमा उहाँबाट उहाँ परिवारसहित काठमाडौंमा बस्ने कुरा थाहा पाएँ । उहाँको एक छोरा र एक छोरी रहेछन् । पहाडबाट झरेको व्यक्ति । मैले उहाँलाई छोराछोरी कहाँ पढ्छन् भनेर सोधेँ ।
उहाँले काठमाडौंको महँगीको वृत्तान्त बताएपछि छोराछोरीलाई इण्डियन एम्बेसीको छात्रवृृत्तिमा एम्बेसीले चलाएको स्कुलमा पढाउँछु भन्नुभयो । मेरा लेख सेन्सर हुनु र नछापिनुको अर्थ मैले बुझेर उहाँसँग बिदा भएर निस्केँ । त्यसको केही दिनमा युवराजजीले अन्नपूर्ण पोष्टबाट राजीनामा दिनुभयो र मैले अन्नपूर्णमा लेख्न छाडेँ । अन्नपूर्णको मालिक क्याप्टेन रामेश्वर थापाको हुन् अब सबैले चिनिसकेका छन् ।
त्यसको केही वर्षपछि म पुनः हिमालय टाइम्समा जोडिएँ । पत्रिका हेरेँ, ठीक लाग्यो, अरू बाह्र, तेह्र भाइहरू जस्तो लागेन । निष्पक्षतामा शंका गर्ने ठाउँ देखिन । हिटामा सम्पादन हुन्छ, केही हरफ काटिन्छ तर सेन्सर हुँदैन न त हिटाको स्वार्थसँग बाझिएको लेखहरू नछाप्ने हुन्छ । हिटाले पत्रिकाको धर्मलाई अहिलेसम्म निर्वाह गरिरहेको छ । जर्ज सोरसलगायत डिप स्टेटको लगानी नेपाली पत्रिकामा कति छ ओपन सिक्रेट नै भइसकेको छ । एमसिसी पास गराउने बेलामा जर्ज सोरसले नेपालका कुन कुन पत्रिकालाई कति लाख डलर दियो त्यो उसले आफ्नो वेभसाइटमै सार्वजनिक गरेकै थियो ।
दश, बाह्र वर्षभन्दा पनि अगाडिको कुरा हो बर्दिया पत्रकार महासंघका सभापति एकजना भाइले मलाई भनेका थिए, बर्दियाका चार जना पत्रकार रअको लागि काम गर्छन् दाइ । महिना मरेपछि पारि रुपइडिहा गएर तनखा बुझ्ने गर्छन् । अहिले बर्दियामा त्यो संख्या कति पुग्यो होला यस्ता विदेशी जासुसी संस्थाका दानापानी खाने पत्रकारहरू नेपालमा प्रशस्त छन्् । मिडिया हाउस त अछुतो छैन, गरिब पत्रकारहरूको के कुरा गर्ने ?
माओवादी हिंसाकालमा नेकपा मालेका महासचिव वामदेव गौतम गुलरिया, बर्दिया आउँदा हामीलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा उनले भनेका थिए, कमरेडहरू माओवादी सशस्त्र युद्ध हाम्रो र नेपाली जनताको हो । उनीहरूको हतियार हाम्रो हतियार हो, तपार्इंहरूले माओवादीलाई जहाँबाट हुन्छ, जसरी हुन्छ सहयोग गर्नु होला । महाकाली सन्धिबाट रुष्ट हुँदै राष्ट्रावादी धार बोकेर वामदेव गौतमले एमाले फुटाएर माले गठन गरेका थिए । तर, हाल म विगत बीस वर्षदेखि कुनै दलमा छैन न त भविष्यमै हुनेछु ।
नेपालमा अधिकांश मिडिया र त्यसमा संलग्न अधिकांश मानिस कस्ता हुन्छन् र कोबाट प्रायोजित हुन्छन् त्यो स्पष्ट पार्न हो । हिमालय टाइम्स अझ निर्भीक, निष्पक्ष र निडर भएर मातृभूमिको मौलिक धर्म, संस्कृति र सभ्यताको रक्षा गर्दै यसको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिँदै राष्ट्र तथा राष्ट्रियताप्रति सदैव इमानदारीतापूर्वक समर्पित रहनेछ ।
हिंसाकालको प्रारम्भमा माओवादीले सामाजिक सुधारका राम्रा-राम्रा काम गरेकाले म पनि ऊप्रति आकर्षित भएँ । माओवादी इण्डोेपश्चिमा शक्तिको कठपुतली हो, एक हातमा बन्दुक र अर्को हातमा बाइबल बोकेर ऊ गाउँ छिरेको म जस्ता लाखौं जना र उनीहरूका लडाकु र कार्यकर्तालाई पनि थाहा थिएन । म उनीहरू समाज सुधारको अभियानबाट प्रभावित भएर र वामदेव गौतमको निर्देशनबाट प्रभावित भएर उनीहरूको पक्षमा नेपालगञ्जबाट प्रकाशित पत्रिकाहरूमा लेख लेख्न थालेँ । मेरा लेखहरूबाट कांग्रेस र एमालेजन रिसाएको मैले थाहा पाइन । भुरीगाउँ, बर्दियामा २०५६ असारको एक बिहान केही कांग्रेसी केटाहरूले सडकमा ममाथि आक्रमण गरेर मेरो घाँटी थिचे ।
मैले मेरो घाँटीबाट उनीहरूको हात बल्लबल्ल छोडाएर कराएपछि खेतमा काम गरिरहेका थारू युवाहरू दौडिँदै आएर मलाई बचाए । हेल्थपोष्टमा गएर मैले घाउमा ब्यान्डेज लगाएर औषधि गरेपछि घर फर्किन एकजना साथीसँग मोटरसाइकलमा आउँदै थिएँ । बाटामा ढोटरी प्रहरी चौकीमा गएर मैले चिनेको मित्र इन्सपेक्टर श्याम ज्ञवालीलाई घटनाबारे भनेँ । उहाँले मलाई फोन गरेको भए हामी आइहाल्थ्यौँ नि, ती केटालाई तुरुन्त कारबाही गथ्र्यौं भन्नुभयो । म ती केटाहरूलाई समात्न प्रहरी पठाउँछु भन्नुभयो । गुलरिया आएर साथीहरूको दबाबमा जिल्ला प्रहरी कार्यालयमा उजुरी निवेदन दिएँ ।
ती केटाहरूलाई प्रहरी कार्यालयमा ल्याएर बयान गराएर छाडे भन्ने सुनेँ तर कारबाही भएन ।
मलाई विश्वास छ र पूर्णविश्वास छ हिमालय टाइम्स अझ निर्भिक, निष्पक्ष र निडर भएर मातृभूमिको मौलिक धर्म, संस्कृति र सभ्यताको रक्षा गर्दै यसको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिँदै राष्ट्र तथा राष्ट्रियताप्रति सदैव इमानदारीतापूर्वक समर्पित रहनेछ, मेरो हार्दिक शुभकामना ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता