काठमाडौं । साहित्यकार सुशीला भुसालको ऐतिहासिक विष्यमा आधारित उपन्यास सुल्तान लोकार्पित भएको छ । सशक्त नारी हस्ताक्षर भुसालले मध्ययुगीन युरोप, पश्चिम एसिया र अफ्रिकाको केन्द्रमा रहेको अटोमन साम्राज्यको सम्राट सुलेमान सुल्तान र उनको राजदरबारलाई विषयवस्तु बनाएर ऐतिहासिक सामग्रीकासाथ प्रस्तुत उपन्यासलाई नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता विष्णु पौडेल, वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहाल संविधानसभा सदस्य शोभाकर पराजुली, युवा साहित्यकार राजकुमार बानियाँ, एमालेका नेता खिमलाल भट्टराईले संयुक्तरूपमा लोकार्पण गर्नुभएका थियो ।
कार्यक्रममा बोल्दै नेता पौडेलले राजनीतिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने र सकारात्मक सोच विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । कृतिले इतिहासको एक कालखण्डको राजनीतिलाई राम्ररी प्रस्तुत गरेको उहाँको विचार थियो । हिमालय टाइम्स राष्ट्रिय दैनिकका सम्पादक प्राध्यापक दाहालले : प्रेम र घृणा, युद्ध र शान्ति, अन्धकार र प्रकाशका बीचमा कुनै घुलन हुनसक्छ कि सक्दैन ? भन्ने प्रश्न गर्दै सुल्तान कृतिले मानवता, पुनर्जागरणको सन्देश जति दिएको छ त्यति नै मध्ययुगीन वर्वरता, दासता र शोषणको कहाली लाग्दो तस्वीर उतारेको बताउनुभयो ।
युवा साहित्यकार राजकुमार बानियाँले यो कृति निःसन्देह बेजोड रहेको र यसबाट एक युगको चरित्र अनुभव गर्न सकिने बताउनुभएको थियो । कार्यक्रममा पूर्वसांसद तथा एमाले नेता भट्टराईले सुशीलाजीमा निहीत लेखन क्षमता र लगन प्रशंसनीय रहेको टिप्पणी गर्नुभएको थियो । पाँचौं कृति सार्वजनिक गर्दै गर्नुभएकी कृतिकार भुसालले सुल्तान लेखनको विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । शिखा बुक्स्ले प्रकाशित गरेको कृति लोकार्पण कार्यक्रमको सभापतित्व गर्दै शिखा बुक्स्का निर्देशक पुष्प पौडेलले साहित्य र सिर्जनालाई प्रोत्साहित गरिएमा मात्रै सुल्तान जस्ता महत्वपूर्ण कृतिहरूको जन्म हुने विचार प्रकट गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts