काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । सहाना प्रधान प्रतिष्ठानद्वारा आयोजित अण्डर-१९ भलिबल प्रतियोगिताको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताउनुभएको हो । ‘युवा तथा खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘खेलाडीहरूको वृत्ति विकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महŒवपूर्ण हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु ।’
नेपालको भूबनोट र संस्कृतिका दृष्टिले पनि भलिबल अत्यन्तै सम्भावनायुक्त खेल विधा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्नुभयो । उहाँले उक्त ऐतिहासिक घोषणाले नेपालको भलिबल क्षेत्रका खेलाडीहरूलाई राम्रो उत्प्रेरणा मिलेको विश्वास व्यक्त गर्नुभयो ।
आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौंको मूलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्ने लक्ष्य लिइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने बताउनुभयो ।
लुम्बिनीको विजयी सुरुवात
लुम्बिनी प्रदेशले प्रथम सहाना प्रधान स्मृति यू-१९ पुरुष तथा महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार सम्पन्न खेलमा महिलातर्फ लुम्बिनीले मधेश प्रदेशलाई ३-० को सोझो सेटमा पाखा लगाएको हो ।
पहिलो सेट २५–१४ ले जितेको लुम्बिनीले त्यसपछिका दुई सेट २५-१२ र २५-१३ ले आफ्नो पक्षमा पारेको थियो ।
बागमतीको पुनरागमन जित
बागमती प्रदेशले प्रथम सहाना प्रधान स्मृति यू-१९ पुरुष तथा महिला भलिबल प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार सम्पन्न पुरुषतर्फको खेलमा बागमतीले मधेश प्रदेशलाई ३-१ को सेटमा पाखा लगाएको हो । पहिलो सेट २५-२३ ले गुमाएको बागमतीले त्यसपछिका तीन सेट १७-२५, २२-२५ र १७-२५ ले आफ्नो पक्षमा पारेको थियो ।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बैंक खातामार्फत् पुरस्कार : मन्त्री श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई आगामी वर्षदेखि बैंक खातामार्फत् नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई सरकारले पुरस्कारको घोषणा गरे पनि अझै दिन नसकेको भन्दै आलोचना भइरहेका बेला उहाँले आगामी आर्थिक वर्षको बजेटमा सो व्यवस्था गरिएको बताउनुभएको हो । आइतबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा पुरस्कारको व्यवस्था गरिएअनुसार चार करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । आगामी वर्षदेखि पदक विजेता खेलाडीलाई बैंक खातामार्फत् नै पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ ।’
उहाँले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट आवश्यक भएकाले प्रदेश र स्थानीय तहमा सशर्त अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो । एसियन र साग खेलकुदमा पदक विजेता खेलाडीहरूका लागि ६ हजारका दरले मासिक भत्ताको पनि व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको उहाँले जानकारी दिनुभयो । ‘ओलम्पिकमा सहभागी एसियन खेलमा पदक विजेता, साग खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरू ३५७ जनालाई मासिक ६ हजारको दरले मासिक भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता