काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सबैले योग गर्ने अभ्यास र बानी बसाल्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाल योगा खेलकुद संघले आयोजना गरेको कार्यक्रममा सदस्यसचिव घिसिङले भन्नुभयो, ‘हामी सबैले योग गर्ने अभ्यास र बानी बसाल्नु पर्छ । योगले हामीलाई शारीरिक रूपले मात्र नभई मानसिक रूपले पनि स्वस्थ बनाउछ ।’
सदस्यसचिव घिसिङले खेलकुदको तालिमलाई अझ व्यवस्थित बनाउन योग संघबाट अझ सहकार्य र अपेक्षा गरेको बताउनुभयो । ‘परिषद्ले खेलकुदको तालिमलाई अझ व्यवस्थित बनाउन तपाईंहरूबाट थप सहकार्य र अपेक्षा गरेको छ । खास गरी नेपाली खेलकुद अब प्राविधिक र विषयगत तालिममा मात्र नभएर समग्र तयारीमा जुटेको छ’, सदस्यसचिव घिसिङले भन्नुभयो, ‘विगतमा पनि तपाईंहरूसँग हामीले सहकार्य गरेका थियौं । गत वर्ष १९औं एसियाली खेलकुदको तयारी होस् वा अहिले मिसन २०२६ को क्रममा होस् । हामीले योग अभ्यासलाई हाम्रो बन्द प्रशिक्षण र विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडीहरूलाई योगसंग हामीले एकाकार गर्दै अगाडि बढी रहेको सन्दर्भमा योगमा लाग्नु भएका प्रशिक्षकलाई नेपाली खेलकुदमा योग शिक्षा र विधिलाई अझ व्यवस्थित ढंगले प्रयोग गर्न आग्रह गर्न चाहन्छु । अन्तर्राष्ट्रिय योग दिवसमा सबैलाई शुभकामना ।’
योगा संघले आनन्द मार्ग योगा समाज, नेपालको सहयोगमा अन्तर्राष्ट्रिय योग दिवस नेपालमा मनाएको हो । एक हजारभन्दा बढीको उपस्थितिमा भएको कार्यक्रममा योगाका खेलाडीहरूले आकर्षक प्रस्तुति प्रदर्शन गरेका थिए । भारत र बंगालदेशका प्रतिनिधिको पनि उपस्थिति थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा