बर्लिन । आयोजक जर्मनीले युरो २०२४ मा लगातार दोस्रो जित निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । बुधबार राती भएको खेलमा जर्मनीले हंगेरीलाई २-० ले हराएको हो । जर्मनीको एमएचपी एरिनामा ५४ हजार समर्थकमाझ युवा खेलाडी जमल मुसियला र इल्काय गुन्डोगानले समान एक गोल गर्नुभयो । जितपछि समूह ‘ए’ मा जर्मनी दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहृयो । स्विट्जरल्याण्डको दुई खेलबाट चार अंकमात्र हुँदा जर्मनीले शीर्ष १६ पक्का गरेको हो । स्कटल्याण्डको एक र हंगेरीले अंक जोड्न सकेको छैन । जर्मनीले अब तेस्रो खेलमा स्विट्जरल्याण्डसँग जुन २४ मा खेल्नेछ ।
हंगेरी भने युरोकपको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । बुधबार राती सम्पन्न खेलमा जर्मनीसँग २-० गोलअन्तरले पराजित भएसँगै हंगेरी प्रतियोगिताबाट बाहिरिने खतरा बढेको हो । स्विट्जरल्याण्डसँगको समूह चरणको पहिलो खेलमै हंगेरी ३-१ गोलअन्तरले पराजित भएको थियो । हंगेरीले अब स्कटल्याण्डसँग खेल्नेछ । यो खेलमा जित हासिल गरे र अर्को खेलमा जर्मनीसँग स्विट्जरल्याण्ड पराजित भए स्कटल्याण्ड अन्तिम १६ मा प्रवेश गर्नेछ । नत्र हंगेरी प्रतियोगिताबाट बाहिरिनेछ । स्विट्जरल्याण्डलाई भने जर्मनीसँगको बराबरी नै पर्याप्त हुनेछ ।
यस्तै, हारको संघारमा रहेको अवस्थामा अन्तिम समयमा गोल गर्दै अल्बानियाले क्रोएसियाविरुद्ध रोमाञ्चक बराबरी खेलेको छ । समूह ‘बी’ अन्तर्गत आ-आफ्ना दोस्रो खेलमा अल्बानिया र क्रोएसियाले २-२ को बराबरी खेलेका हुन् । खेलको सुरुवाती समयमा नै अग्रता लिएको अल्बानियाले दोस्रो हाफमा दुई मिनेटको अन्तरालमा दुई गोल खाँदै पछि पर्न पुगेको थियो । तर, खेलको अन्तिम समयमा बराबरी गोल गर्दै अल्बानियाले हार टारेको हो । बराबरीपछि दुवै टोलीले समूह ‘बी’ मा पहिलो अंक जोडेका छन् । पहिलो खेलमा क्रोएसिया स्पेनविरुद्ध र अल्बानिया इटालीविरुद्ध पराजित भएका थिए । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता