ऐतिहासिक ज्यामरुककोट र ढोलठानमा पर्यटकीय पूर्वाधार निर्माण

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 9 mins

म्याग्दी । पर्यटकीय सम्भावनाले युक्त म्याग्दीका दुई ऐतिहासिक स्थलमा स्थानीय र प्रदेश सरकारको संयुक्त लगानीमा पर्यटकहरुलाई लक्षित गरी पूर्वाधार निर्माण गरिएको छ ।

पर्यटकीय हिसाबले सम्भावनायुक्त पुरातात्विक र ऐतिहासिक महत्व रहेको म्याग्दीको बेनी नगरपालिका-२ स्थित ऐतिहासिक ज्यामरुककोट र बेनी नगरपालिका-९ स्थित ऐतिहासिक ढोलठान दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा ज्यामरुककोटको खड्गभवानी कोत र ढोलठान दरबार परिसरमा पूर्वाधार विस्तार गरिएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो ।

प्रदेश सरकारको रु. १० लाख बजेटबाट यसपाली खड्गभवानी कोतघर परिसरमा पर्खाल निर्माण गरेर फराकिलो बनाइएको छ । ३८ मिटर लामो र २ मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गरिएको छ ।

त्यसैगरी ढोलठाना दरबारको संरक्षण र पूर्वाधार निर्माणा लागि चालु आर्थिक वर्षमा भू-तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत मार्फत ढोलठाना संरक्षण योजनाका लागि १० लाख र पर्यटन तथा उद्योग कार्यालय म्याग्दी मार्फत १० लाख गरेर २० लाख रुपियाँको बजेटमा पर्यटन पूर्वाधार निर्माण गरिएको मेयर केसीले जानकारी दिनुभयो ।

“बेनीमा आउने पर्यटकको बसाई लम्बाउन ज्यामरुककोटमा पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौ,” बेनी नगरपालिका २ का वडाअध्यष यामबहादुर कार्कीले भन्नुभयो “पूर्वाधार विस्तारसँगै यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ । पूर्वाधारले उनीहरूलाई सहज बनाएको छ ।”

अध्यक्ष कार्कीका अनुसार पर्खाल बनाएर फराकिलो बनाइएको कोतघर परिसरमा भक्तजन र पर्यटक बस्नका लागि १० वटा बेञ्च राखिएको छ । यसअघि प्रदेश सरकारको रु. १५ लाख बजेटमा भकुण्डे देखि खड्गभवानी कोतघर परिसरमा पुग्ने ३०८ मिटर पक्की पदमार्ग निर्माण गरिएको थियो । त्यसैगरी गत आर्थिक वर्षमा प्रदेश सरकारकै रु. १० लाख बजेटबाट कन्थरथान तर्फबाट कोतघर परिसरमा पुग्ने पदमार्ग निर्माण भएको छ । कोतघर परिसरमा रु. ५ लाख बजेटमा गणेशको मन्दिर बनाइएको छ । कोत परिसरमा २१० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटांगिनी निर्माण, नाग थान र मौलो राख्ने ठाउँ पनि निर्माण गरिएको खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

१५औं शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत) परिसरलाई पर्यटन गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको उहाँको भनाइ छ ।

अध्यक्ष घिमिरेका अनुसार अनुसार यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियार समेत छन् । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा, तरबारलगायत हातहतियार, प्राचीन शिला÷इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै पनि यथावत् छन् ।

ADVERTISEMENT

समुन्द्री सतहदेखि १ हजार ६४८ मिटर उचाइमा रहेको ज्यामरुककोटबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण लगायत हिमशृङ्खला, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौं ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ ।

त्यसैगरी वि.सं १६३१ देखि १८४३ सम्म पर्वत राज्यको राजधानी रहेको ढोलठानको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण कार्य पनि तिब्ररुपमा भइरहेको छ ।

बेनीको शिरमा पर्ने ढोलठानको पुरानो दरबार रहेको ठाउँमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम तथा दृश्यावलोकन स्थल, पदमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ । दरबार प्रवेश गर्नका लागि ढुङ्गाको प्रयोग गरेर मौलिक सीपबाट आकर्षक किसिमको प्रवेशद्वार बनाइएको छ ।

‘‘ढोलठाना तत्कालीन पर्वत राज्यको ग्रिष्मकालीन राजधानी हो । तत्कालीन पर्वते राजा डिम्ववम मल्ल (उनलाई दिलिपवम मल्ल पनि भनिन्थ्यो) ले हिउँदका चार महिना बेनी कुरिलाखर्क र अरु समय ढोलठानलाई राजधानी बनाएका थिए” नगरपालिका ९ का वडाअध्यक्ष चक्र केसीले भन्नुभयो “यही दरबार क्षेत्रमा स्थानीय मौलिक सीप र कला प्रयोग गरेर पूर्वाधार निर्माण गरेका छौं ।’’

दरबार क्षेत्रमा ढुङ्गाबाट निर्मित आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । यो प्रवेशद्वार नयाँ मोडेलको भएकाले यहाँ आउने पर्यटक दङ्ग परेर अवलोकन गर्ने गरेका छन् । त्यसैगरी ढुङ्गा र माटोको प्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृश्यावलोकन गर्न ढुङ्गाको सिँढीसहितको विश्रामस्थल बनाइएको छ ।

प्रदेश सरकारकै थप १० लाख बजेटबाट उद्यान परिसरलाई संरक्षण गर्न टेवा पर्खाल निर्माण गरिएको छ । ढोलठानालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य अनुसार यसअघि ३० लाख बजेटबाट सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गरिएको वडाअध्यक्ष केसीले जानकारी दिनुभयो । ढोलठानामा थप पूर्वाधार निर्माणका लागि डिपिआर बनाएर अगाडि बढेको उहाँले बताउनुभयो ।

पुराना अभिलेख तथा चिनारीहरुको संरक्षण गरेर राख्न सङ्ग्राहलय बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

ढोलठानालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पछिल्ला केही वर्षयता ५० लाख बढीको पूर्वाधार निर्माण गरिएका उहाँले जानकारी दिनुभयो । त्यसैगरी बेनी नगरपालिकाले गलेश्वरदेखि घतान हुँदै ढोलठाना जोड्ने पदमार्ग बनाउने बनाउने योजना अघि सारेको उहाँले बताउनुभयो ।

समुन्द्री सतहदेखि एक हजार आठ सय ८० मिटर उचाइमा अवस्थित ढोलठानाबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि लगायत दर्जनौं हिमाल, सूर्योदयको मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ । साथै कालिगण्डकी, म्याग्दी नदी र पर्वत, बागलुङका रमणीय भूभागहरु अवलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *