
काठमाडौं । तेस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा आइतबार साँझ नेपाल लगायतका विभिन्न छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिसहित मोदीले राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । भारतको वाराणसी निर्वाचन क्षेत्रबाट निर्वाचित भाजपा सांसद मोदीले लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ खानुभएको हो । मोदी गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । मोदीको लगातार तेस्रो राज्याभिषेक आफैँमा कीर्तिमान भएको छ । सन् १९६२ पछि कुनै नेता लगातार तेस्रोपटक प्रधानमन्त्री बन्ने यो पहिलोपटक भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । त्यसअघि भने भारत स्वतन्त्र भएयता जवाहरलाल नेहरु लगातार तीनपटक सन् १९५२, १९५७ र १९६२ मा प्रधानमन्त्री बन्नुभएको थियो । मोदीले आइतबार नेहरुको कीर्तिमान बराबरी गर्नुभएको छ ।
आइतबार मोदीसँगै उहाँको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । मोदीले शपथ लिएपछि दोस्रो नम्बरमा राजनाथ सिंह र तेस्रो नम्बरमा अमित शाहले शपथ लिनुभएको थियो । सिंह अघिल्लो मन्त्रिमण्डलमा रक्षामन्त्री हुनुहुन्थ्यो भने शाह गृहमन्त्री हुनुहुन्थ्यो । त्यस्तै, नितिन गडकरी, बिजेपी अध्यक्ष जेपी नड्डा, एस जयशंकर, निर्मला सीतारमण लगायतले पनि मन्त्रीको शपथ लिनुभएको छ । मोदीले गठबन्धनका मुख्य घटक नीतिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडू नेतृत्वको तेलगु देशम पार्टीबाट पनि मन्त्री बनाउनुभएको छ ।
११ दलका ७२ मन्त्रीहरूको शपथ
आफ्नो शपथसँगै मोदीले ७२ मन्त्रीहरूको शपथ गराउनुभएको छ । ७२ फुल तथा राज्य मन्त्रीहरूमा २४ राज्यका मोदीको गठबन्धनका ११ दलका नेताहरू भएको भारतीय टेलिभिजन एनडिटभीले उल्लेख गरेको छ । सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामानुसार नेसनल डेमाक्र्याटिक एलायन्स (एनडिए) २९३ स्थानमा विजयी भएको थियो । प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी (भाजपा) ले २४० सिट जितेको छ । ५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतको लागि २७२ सिट आवश्यक पर्दछ । अघिल्लो दुई चुनाव सन् २०१४ र २०१९ मा भाजपा एक्लैले बहुमत ल्याएको थियो । गत मंगलबार चुनावी परिणाम घोषणा भएको थियो ।
शुक्रबार बसेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडिएका सांसदहरूको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो । त्यसपछि उहाँले राष्ट्रपति मुर्मूसमक्ष नयाँ सरकार गठनको दाबी पेस गर्नुभएको थियो । मोदी पहिलोपटक २०१४ मा प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछि २०१९ मा प्रधानमन्त्री बन्नुभएको थियो । ७३ वर्षीय मोदीको यो ऐतिहासिक तेस्रो कार्यकालको हो । मोदीले कायम गरेको यो इतिहास महत्वपूर्ण छ । सन् २०१५ बाट सुरु भएको मोदी युग अबको पाँच वर्ष जानेछ ।
१० वर्षपछि फेरि गठबन्धन सरकार
नरेन्द्र मोदीको पहिलो दुई कार्यकालमा भाजपाले स्पष्ट बहुमत पाएको थियो । तर, यसपटक भने उहाँले गठबन्धन सरकार चलाउनुपर्ने भएको छ । मोदीले गठबन्धन सरकार चलाउन लागेको यो पहिलोपटक हुनेछ । यसअघि मोदी सन् २००१ देखि २०१३ सम्म गुजरातको मुख्यमन्त्री बन्नुभएको थियो । सन् २०१४ देखि २०२४ सम्म उहाँ प्रधानमन्त्री रहनुभयो । दुवै कार्यकालमा भाजपाको बहुमतको सरकार थियो । कुनै पनि दलसँग स्पष्ट बहुमत नभएपछि भारतको संसदीय इतिहासमा १० वर्षपछि फेरि गठबन्धन सरकारको युग फर्किएको छ ।
विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुख नयाँ दिल्लीमा
मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरिएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार अपराहृन नयाँदिल्ली पुग्नुभएको थियो । राष्ट्रपति द्रौपदी मुर्मूले शपथग्रहण समारोहमा सहभागी हुने विदेशी पाहुनाहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नुभएको थियो । भारतको ‘छिमेक नीति’ र ‘सागर’ भिजनअन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच