गुल्मी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले भातृ संगठनलाई पंगु बनाउन नहुने बताउनुभएको छ । उहाँले नेपाली कांग्रेस केन्द्रले लामो समयसम्म भातृ संगठनलाई पंगु बनाएको टिप्पणी गर्दै यस्तो बताउनुभएको हो ।
नेपाल भूतपूर्व सैनिक संघ गुल्मीको छैठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपसभापति श्रेष्ठले लामो समयसम्म भातृ संगठनको अधिवेशन हुन नसक्दा भातृ संगठनहरू मृत प्रायः बन्ने बताउनुभयो । केन्द्रले निर्देशन दिए प्रदेश र जिल्ला नेतृत्वले सबै भातृ र शुभेच्छुकहरू संगठनहरूलाई पूर्णता दिन तयार रहेको उहाँले बताउनुभयो । केन्द्रीय समितिको अकर्मण्यताका कारण भातृ संगठनहरु अनिर्णयको बन्दी भएको भन्दै उहाँले भातृ संगठन सबैलाई एकताबद्ध बनाएर अघि बढे पार्टी जुरुक्क उठ्ने बताउनुभयो । व्यक्ति भन्दा विधि ठुलो, नेता भन्दा नीति ठुलो भन्ने मान्यताका साथ अगाडि बढ्न आग्रह गर्दै परिवर्तन काँग्रेसबाट मात्रै सम्भव रहेको बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला सभापति खिलध्वज पन्थीले पनि केन्द्रले जिम्मा दिए विवादित सबै भातृ संगठनहरुको नेतृत्वलाई जिल्लाबाटै पूर्णता दिने बताउनुभयो । केन्द्रले केहि भातृ संस्थालाई अनिर्णयको बन्दी बनाएको भन्दै लामो समयसम्म अनिर्णयको बन्दी बनाउदा संगठन कमजोर हुने बताउनुभयो । संविधान र कार्यान्वयनमा अग्रपंक्तिमा रहेको काँग्रेस पार्टीभित्र भातृ संगठनहरु अनिर्णयको बन्दी बन्नु दु:खद भएको भन्दै पार्टीलाई बलियो र चुस्त, दुरुस्त बनाउने गरि सबै लाग्न जरुरी रहेको बताउनुभयो ।
नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष मेघराज टण्डनले पार्टीको महत्वपूर्ण अंगका रुपमा सैनिक संघ रहेको बताउनुभयो । २० लाखको हाराहारीमा भूपूहरु आवद्ध रहेको भन्दै सामाजिक, कल्याणकारी र राजनीतिक उद्देश्य राखेर यस संगठनको स्थापना भएको बताउनुभयो । विभिन्न परिवर्तनकारी आन्दोलनमा सहयोग गर्दै आइरहेको आगामी फागुन महिनासम्म केन्द्रीय अधिवेशन गर्ने बताउनुभयो । नेपाली लुम्बिनी प्रदेश सदस्य छन्द बहादुर पहराई, भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य उदय बहादुर थापा, नेपाल महिला संघ गुल्मीका अध्यक्ष लक्ष्मी पाण्डेले सामाजिक संरचना, आर्थिक, राजनीतिक, स्वास्थ्यको क्षेत्रमा चेतनास्तर वृद्धिका भूतपूर्व सैनिकहरुको ठुलो योगदान रहेको बताउनुभयो ।
यस अवसरमा स्थापनादेखि अहिलेसम्म योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । संस्थापक अध्यक्ष स्व.विष्णुबहादुर ठकुरी, पूर्व केन्द्रीय सदस्य मनिराम थापा, सुवेदार केशरसिङ सारु, सुवेदार लोक बहादुर कुँवर, पूर्व संगठन प्रमुख प्रकाश भलामी, देव बहादुर बस्नेत, वीर नारी कुमारी रानालाई सम्मान गरिएको नेपाल भूतपूर्व सैनिक संघ गुल्मीका अध्यक्ष यज्ञमूर्ति थापा श्रीसले बताउनुभयो । सदरमुकाम तम्घासमा भएको अधिवेशनमा ३०० भन्दा बढी नेपाल भूतपूर्व सैनिक संघका प्रतिनिधिहरुको सहभागीता रहेको सचिव संजय पहराईले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता