
राजविराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको छैटौँ संस्करणअन्तर्गत तेस्रो दिन सम्पन्न दुई खेलमा छिन्नमस्ता लायन्स र कञ्चनरुप राइनोज विजयी भएका छन् । आइतबार सम्पन्न पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज राजदेवी एघारलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो । राजविराज राजदेवीले दिएको ६९ रनको लक्ष्य छिन्नमस्ताले ९.५ ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो ।
लक्ष्य पछ्याउने क्रममा छिन्नमस्ताका लागि मयन यादवले सर्वाधिक ४२ रन बनाउनुभयो । सुमित नेवारले ११ तथा भीम सार्कीले ८ रन योगदान दिनुभयो । राजविराज राजदेवीका रिजन ढकालले २ विकेट तथा श्रवन यादव र जितेन्द्र यादवले १/१ विकेट लिनुभयो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको राजविराज राजदेवी एघारले १६.३ ओभरमा ६८ रनमा सबै विकेट गुमाएको थियो । राजदेवीका लागि विजय यादवले १६, दिलिप नाथले १४ तथा श्रवन यादवले १० रन योगदान दिनुभयो ।
छिन्नमस्ताको बलिङमा प्लेयर अफ द म्याच घोषित गुनानन्दले सर्वाधिक तीन विकेट लिनुभयो । विशाल पटेल, मोहम्मद सोहेल र भीम सार्कीले समान दुई विकेट लिनुभयो ।
आइतबारको दोस्रो खेलमा कञ्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई २० रनले पराजित गर्यो । १५३ रनको लक्ष्य पछ्याएको बलान बिहुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रनमात्र बनायो । लक्ष्य पछ्याउने क्रममा बलान बिहुलका बब्बु गोठीयाले ५८ रन बनाए तापनि जित्न पर्याप्त रहेन । उहाँले ४१ बलमा ४ चौका र ४ छक्का प्रहार गर्नुभयो । साहिल पटेलले १३, सन्तोष कार्कीले १२ तथा विवेक यादवले ११ रन बनाउनुभयो । कञ्चनरुपको बलिङमा दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिनुभयो । राहुल मण्डलले ३ तथा चित्रबहादुर विष्ट र अरनिको यादवले १/१ विकेट लिनुभयो ।
यसअघि टस जितेर ब्याटिङ गरेको कञ्चनरुपले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो । कञ्चनरुपका लागि कप्तान राशिद खानले सर्वाधिक ३९ रन योगदान दिनुभयो । यस्तै, प्लेयर अफ द म्याच घोषित राहुल मण्डलले २४ बलमा ४ छक्का मद्दतले ३७ रन बनाउनुभयो । राकेश कामतले २९ तथा महानन्द यादवले १९ रन योगदान दिनुभयो । बलान बिहुलको बलिङमा सन्तोष कार्की एक्लैले ५ विकेट लिनुभयो । जुन क्रममा उहाँले ४ ओभरमा १७ रन खर्चिनुभयो । साहब आलमले एक विकेट लिनुभयो ।
आइतबारको जितपछि छिन्नमस्ता लायन्स दुई खेलमा दुवै जितसहित अंकतालिकाको शीर्ष स्थानमा छ । समान दुई अंक रहे तापनि नेट रन रेटका आधारमा तिरुहुत टाइगर्स दोस्रो, कञ्चनरुप राइनोज तेस्रो तथा राजविराज राजदेवी एघार चौथो स्थानमा छन् । अंकविहीन बलान बिहुल पाँचाँै र सनराइज एघार तिलाठी कोइलाडी अन्तिम स्थानमा छन् ।
जेठ २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन् । कञ्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन् । राउण्ड रोबिन लिगअन्तर्गत सञ्चालन हुने लिगअन्तर्गत सबै टिमले एकअर्कासँग १/१ खेल खेलिसकेपछि समूहको शीर्ष चार टिमबीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच