पेरिस । विश्व नम्बर एक सर्वियन स्टार नोभाक जोकोभिचले पाँच सेट चलेको खेलमा जित हात पार्दै आइतबार फ्रेन्च ओपनमा अन्तिम १६ को यात्रा तय गर्नुभएको छ । फिलिपे क्याट्रियर कोर्टमा जोकोभिचले इटालीका लोरेन्जो मुसेटीविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्नुभयो ।
पहिलो सेट आफ्नो पक्षमा पार्नुभएका जोकोभिचले त्यसपछिका दुई सेट ६-७ (६-८), २-६ ले गुमाउनुभयो । चौथो सेटमा जोकोभिच ६-३ ले विजयी भएपछि खेल पाँचौँ सेटसम्म लम्बिएको थियो । एकतर्फी बनेको पाँचौँ तथा निर्णायक सेटमा जोकोभिचले ६-० को जित निकाल्नुभयो ।
जोकोभिचले चौथो चरणमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोको सामना गर्नुहुनेछ । सेरुन्डोला अमेरिकी टमी पउललाई ३-६, ६-३, ६-३, ६-२, ले हराउँदै चौथो चरण प्रवेश गर्नुभएको हो ।
ड्यानिल मेदभेदेव, होल्गर रुने, एलेक्जेन्डर जेभेरेव, टाइलल फ्रिट्ज र कास्पर रुडले पनि चौथो चरणको यात्रा तय गर्नुभएको छ । यसैगरी महिलातर्फ बेलारुसी आयर्ना साबालेन्काले पनि चौथो चरणमा स्थान सुरक्षित गर्नुभयो । साबालेन्काले स्पेनकी पउला बाडोसालाई ७-५, ६-१ ले हराउनुभयो । एजेन्सी ।






