रूपन्देही । बुटवलमा आधुनिक पशु वधशाला सञ्चालनमा आएको छ । बुटवल १० धागो कारखानानजिकै दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बनेको वधशालामा उपकरण जडान गरी परीक्षणपछि बिहीबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको हो । वधशालासँगै सुक्खानगर र होराइजन चोक नजिकै दुईवटा मासु बिक्री कक्षसमेत उद्घाटन गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मासु बिक्री कक्ष शुभारम्भ गर्दै बुटवल र आसपासका जिल्लामा समेत सेवा दिन सक्ने गरी वधशाला निर्माण गरिएको बताउनुभयो । बुटवलमा सञ्चालित पशु वधशालामा दैनिक एक हजार खसीबोका वध गर्नसक्ने क्षमता रहेकाले अन्य जिल्लालाई सहजरूपमा सेवा दिन सक्ने उहाँको भनाइ थियो ।
स्वस्थ र स्वच्छ मासु उपभोगका लागि वधशालामा खसीबोकाको स्वास्थ्य परीक्षण गरी आधुनिक प्रविधिमार्फत् वध गरी प्याकेजिङ गरेको मासु उपलब्ध हुने भएकाले उपभोक्ताले विशेष ध्यान दिन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
उपमहानगर प्रमुख पाण्डेयले भन्नुभयो, ‘हामीले खाने मासु कस्तो ठाउँमा कसरी काटिएको हुन्छ र त्यसको विश्वसनीयता कसरी गर्ने भन्ने कुरामा उपभोक्ता सचेत हुनुपर्छ । अब बुटवलमा पशु स्वास्थ्यका विज्ञले परीक्षण गरी आधुनिक प्रविधि प्रयोग गरेर वध गरी तयार गरेको मासु उपभोग गर्नतर्फ ध्यान दिन जरुरी छ ।’ उहाँले बुटवललाई व्यवस्थित र आधुनिक शहरका रूपमा स्थापित गर्न वधशालाले थप सहयोग पुग्ने भन्दै वधशाला सञ्चालनपछि यस क्षेत्रका किसान र व्यवसायीसमेत लाभान्वित हुने बताउनुभयो ।
बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रूपमा स्थापित भएको र यसले बुटवलबाहिरका शहरमा समेत मासु बिक्री गर्न सक्ने प्रमुख पाण्डेयको भनाइ थियो । उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका मासु पसल अनुगमन गर्दा लापरबाही गरेको र खसीबोका भनेर बाख्रीको मासु बेचेको फेला परेकाले वधशालाकै मासु उपभोगतर्फ उपभोक्ताले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म अनुगमनमा जाँदा धेरै बेथिति भेटेको छु, नाफा कमाउन जे पनि गर्ने गरेको पाएको छु, यो बेथितिले हाम्रो स्वास्थ्यमा कति असर गरेको छ भन्ने हामीलाई हेक्का छैन, यसर्थ वधशालाकै मासु उपभोग गर्न मेरो सबैलाई सुझाव छ ।’ पशु वधशाला सञ्चालक संस्था मुक्तिनाथ लाइभस्टक बैंकका प्रमुख उमेशकुमार आचार्यले आधुनिक प्रविधि र उपकरणसहित दक्ष जनशक्तिले पशु वधशालामा खाद्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर तयार गरिने बताउनुभयो । उहाँले पशु वधशालाले दिने मासु र बजारमा पाउने मासुको मूल्य एउटै रहेको पनि बताउनुभयो ।
वधशाला थप व्यवस्थित गर्दै सुक्खानगर र होराइजन चोकमा बिक्री कक्ष स्थापना गरिएको र अन्यत्र स्थापना गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो । मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार सात सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउनेछ । पाँच वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो । खनालका अनुसार पशु वधशाला सञ्चालन गर्दा पशु वधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको छ ।
बुटवल नगरभित्र पशु वधशालाबाहेकका स्थलमा व्यावसायिकरूपमा खसीबोका वध गर्न रोक लगाइने र वध गरेको पाइएमा कारबाही गर्ने नगरको तयारी छ । बुटवल उपमहानगरपालिकाको पशु वधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनपछि बुटवलमा रहेका मासु पसलहरूले खसीबोकाको मासु बिक्री गर्दा पशु वधशालामा वध गरी प्रमाणीकरण गरेको मासुमात्रै बिक्री गर्न पाउनेछन् । झण्डै २२ करोड लगानीमा निर्माण भएको वधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ । यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्याँस निकालिनेछ भने पानी पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा