ब्यवसायिक खेतीसँगै चिया प्रसोधनका लागि भोजपुरमा कारखाना स्थापना 

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 7 mins

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका कृषकहरुले जिल्लामा ब्यवसायिक चिया खेती शुरु गरेका छन् । इलाम र झापामा मात्र चिया खेती हुन्छ भन्ने भ्रमलाई चिर्दै जिल्लामा ब्यवसायिक चिया खेती थालिएको हो ।

जिल्लाका अधिंकाश क्षेत्रहरुमा अहिले ब्यवसायिक चिया खेती सुरु भएको चियाको क्षेत्रमा काम गर्दै आईरहेको संस्था थामडाँडा-टेम्के-सिलिचुङ कृषि सहकारी लिमिटेडका अध्यक्ष गणेश राईले बताउनुभयो । उहाँका अनुसार संस्थाले अहिले भोजपुर र खोटाङ जिल्लाका १५ वटा बगानमा दुई हजार रोपनी क्षेत्रफलमा चिया खेती गर्दै आईरहेको छ । चिया खेतीको ब्यवसायिक उत्पादन सुरु भएपछि जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा नम्वर दुईमा चिया कारखानाकोसमेत स्थापना गरिएको छ । कारखानाबाट तयारी अर्थोडक्स चियाका बिभिन्न ब्राण्ड र प्याकेजहरू उत्पादन गरिने छ ।

हाल जिल्लाको बतासे, पामाखाम, भस्मेचौर, देवनटार, नागथान बगानहरूबाट प्रति दिन पाँच सय केजी हरियो चिया टिप्ने काम भई रहेको अध्यक्ष राईले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष राईले भन्नुभयो, “अर्गानिक चियाको अन्तराष्ट्रिय प्रमाणीकरण जर्मनीको सेरेस कम्पनीबाट हुन्छ, जसले गर्दा बिश्वका सबै मुलुकहरूमा हाम्रा उत्पादनले प्रवेश र पहुँच पाउने छ ।”  टिटिएस चिया कारखानाको स्थापनासँगै प्रशोधन कार्यको पनि औपचारिक थालनी भएको छ, यसले चिया कृषकलाई थप उत्साह थपेको छ , अध्यक्ष राईले भन्नुभयो ।

हाल कारखानाबाट ग्रीन टी, ब्लाक टी, येल्लो टी, व्हाईट टी, रेड टी जस्ता चियाका उत्पादन शुरू भएको छ । ब्यवसायिक खेती सुरु गरेसँगै उद्योगले रोजगारीकोसमेत अवसर दिएको छ । चिया गोड्ने, नर्सरी बनाउने र टिप्ने जस्ता कामको सिजनमा अन्य स्थानीयहरुले रोजगार पाउने गरेका छन् । बिहान बेलुका आफ्नो घरको काम भ्याएर आफ्नै ठाउँमा काम गरेर पैसा कमाउन पाउँदा घर गर्जो टार्न सहज भएसँगै स्थानीयहरुमा पनि उत्साह थपिएको सहकारीका सचिव रामकुमार राईको भनाई रहेको छ ।

जिल्लाको रामप्रसादराई गाउँपालिकाको दुई नम्वर वडामा पर्ने बतासे मूलाबारीमा चिया कारखानाको स्थापना भएसँगै चिया खेतीमा भोजपुर पनि उत्कृष्ट हुने जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको धारणा छ । समन्वय प्रमुख राईले भन्नुभयो, “भोजपुरको खुला खर्क, चउर, डाँडाकाँडा, खेतवारीमा व्यवसायिक चियाखेती विस्तार भएको छ, यसले दुर्गम ग्रामिण भेगका कृषकहरुको जीवनस्तर उकास्ने कार्यमा पनि सहयोग गर्छ ।” चिया खेती विस्तार कार्यक्रम निरन्तर जारी राख्नु पर्छ ।

ADVERTISEMENT

सहकारीले विश्व प्रकृति संरक्षण अभियन्ता पिके शेर्पालाई संस्थाको तर्फबाट विश्व चिया दूतको उपाधीसमेत प्रदान गरेको अध्यक्ष राईले बताउनुभयो ।

सहकारीले मात्र होइन जिल्लाको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिकामा पनि गरस चिया उद्योग सञ्चालनमा छ । उद्योगले राष्ट्रिय चिया तथा कफी खेती बोर्डबाट ट्रेडमार्कसमेत पाई सकेको छ । बिगत १२ बर्ष अघिबाट संचालित गरस चिया उद्योगले राम्रो आम्दानी गर्दै आई रहेको छ । भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाले सार्वजनिक जग्गामा पर्ने खुला खर्क, चउर, डाँडाकाँडामा व्यावसायिक चियाखेती विस्तार गरी दुर्गम ग्रामिण भेगका कृषकहरुको जिवनस्तर उकास्ने लक्ष्यका साथमा चिया खेती विस्तार कार्यक्रम सुरु गरिएको  छ ।

सिंगो गाउँपालिकाको आर्थिक उन्नती र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाका सार्वजनिक जग्गामा गाउँपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत नै चिया खेती विस्तार गरिएको हो । खेर गईरहेका सार्वजनिक खुला खर्क, चउरी डाँडाहरुमा चिया लगाएर व्यावसायिक रुपमा सिंगो गाउँपालिकालाई पर्यटन, रोजगारी र अर्थोपार्जन जस्ता क्षेत्रमा बहुआयामिक बनाउने तयारीका साथ खेती विस्तार गरिएको आमचोक गाउँपालिकाले जनाएको छ । चियाका लागि उत्तम हावापानी भएकाले पनि चिया खेतीलाई प्रोत्साहन गरी अगाडी बढाउन सकेमा गाउँपालिका भित्रै रोजगारी सिर्जना गर्न सकिने स्थानीयको बुझाई रहेको छ । चियाखेतीमा आश्रित बनेर व्यावसायीक आम्दानीको श्रोत र रोजगारीको बाटो सिर्जना हुने भएपछि चियाखेतीमा उत्साह छाएको कृषकहरुको भनाई रहेको छ ।

पर्यटन प्रवर्द्धनसंगै गाउँपालिकाको आर्थिक आय बढाउन, सार्वजनिक जग्गाभरी, खुला खर्क, चउरलाई पनि सुन्दरता थप्ने, रोजगारी सिर्जना गर्न पनि चिया खेतीको विस्तार गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज