काठमाडौं । वरिष्ठ हास्यकलाकार ध्रुवरत्न हाडाको निधन भएको छ । उहाँको ७९ वर्षको उमेरमा बुधबार राति निधन भएको हो । लिभरमा क्यान्सरका कारण थलिनुभएका हाडाको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भक्तपुरमा २००२ साल पुस १ गते जन्मिनुभएका हाडाले १२ वर्षको उमेरदेखि नै हास्य कलाकारितामा प्रवेश गर्नुभएको थियो ।
गाईजात्राका समयमा राजपाल थापा र ध्रुुवरत्न हाडा अर्थात् ‘पाल-हाडा’ हास्यजीडी खुबै जम्ने गर्दथ्यो । ‘ज्युँदा मुर्दा, टुरिस्ट गाइड, कार्यालय निरीक्षण, म भएँ, पटके चार, दुई कविको मुठभेड, दुई स्वास्नीको पोइ कुना पसी रोई, रिसको बैंक, हकर्सको टक्कर, बम्पर उपहार, हस्पिटलको बेड, दुलहा बिक्री केन्द्र’ लगायत करिब डेढ सय प्रहसनमा पाल-हाडाले अभिनय गर्नुभएको छ । राजपाल थापा-ध्रुव हाडाको हास्यजोडीले प्रहसनमा अभिनयसँगै हास्य लेख्ने, निर्देशनसमेत गर्नुभएको छ ।
२०२४ सालमा प्रहरी सहायक निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गर्नुभएका हाडा प्रहरी उपरीक्षकसम्म भई २०५६ सालमा अवकाश हुनुभएको थियो । स्वर्गीय हाडाका तीन छोरी र श्रीमती हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता