काठमाडौं । काजाखस्तान बरिसी ग्राण्डस्लाममा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली जुडो टोली बुधबार काजाखस्तानको अस्ताना प्रस्थान गरेको छ । प्रतियोगिता मे १० देखि १२ तारिखसम्म हुनेछ ।
पेरिस ओलम्पिकका लागि छनोट आधारका रूपमा रहेको प्रतियोगितामा मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । मनिता ओलम्पिक सोलिडारिटी छात्रवृत्ति प्राप्त खेलाडी हुनुहुन्छ । प्रशिक्षकमा देवु थापा रहनुभएको छ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।






