
काठमाडौं । बैशाखको चर्को घाम, सायद ३ बजेको समय गर्मी र थकित एक जना सानो भाई हामी बसेकै खाजा घरमा ड्यु पिउदै थियो, म भने गोदावारीमा शनिबार रमाउन आएका मानिसहरुको फोटो लिदै थिए, यतिकैमा त्यो सानो भाईले केहि भन्दै थियो, “दाई फोटो त सोधेर खिच्दा राम्रो होला नी” फोटो पत्रकारिता गरेको ५ बर्षमा धेरै जना व्यक्ति, धेरै कार्यक्रम, विभिन्न आन्दोलनको फोटो खिँचिसकेको छु, कहिले सोधेर र कहिले चाँही नसोधि फोटो खिँचेको धेरै अनुभव छ मसँग, तर एक जना सानो भाईले त्यो कुरा भन्दा मेरो ध्यान उसै तिर मोडियो र हाम्रो कुरा शुरु भयो ।
मैले उसको नाम भन्दा पहिले उमेर सोधे, उमेर १२ बर्ष पनि नपुगेको, उमेरमा कलिलो तर व्यवहारमा निकै पाका सानो भाई रितिक पासवान, घर रौटहट जिल्ला, घरमा बा, आमा मात्र, एक जना दाई त्यो पनि विदेशमै हराएको, बा मुटुको रोगी, घरमा दैनिक हातमुख जोड्न पनि धौधौ यहि कारणले गर्दा १२ बर्ष पनि नपुगेका रितिक कक्षा चारमा पढ्दै गर्दा गाँउ कै चिनेको एकजना दाईसँग काठमाडौँ तिर हानिए , साहुले दिएको कटन क्याण्डी र खेलौना विक्रि गर्न दिनभरी काठमाडौँका विभिन्न ठाँउहरुमा पुग्ने रितिकसँग मेरो भेट रिपोटिङको शिलशिलामा गोदावारी भयो ।
शनिबार गोदावारीमा लाग्ने मानिसहरुको भिड र त्यहि भिडको वरिपरि हिड्ने रितिकसँग कसैले किने दिन्छ कि भन्ने आशा बाहेक कहि छैन । मैले रितिकसँग २४ घण्टाको केवल २ घण्टा समय मात्र विताए, उसको जीवनको भोगाइलाई नजिकबाट हेर्ने कोशिस मात्र गरे ।
हामीसँगसँगै हिड्दै जाँदा गोदावारीमा सामुहिक भोज भई रहेको स्थानमा पुग्यौँ र सायद रितिकको मनमा पनि आशा पलाइको थियो होला कसैले किनेदेला भनेर तर त्यहाँ पुग्न नपाउदै एकजना आमाले यता नआइज उता जा भन्दै रितिकलाई कराई रहिन ।
हामीसँगै त्यहाँबाट अलि पर गयौँ र मैले सोधे ती आमाले तिमिलाई किन यता नआइज भनेको, उसले मेरो प्रश्न भुईमा खस्न नपाउँदै जफाव दियो उसको नानी बाबुहरुले पीर छ, किन्दे भन्छ त्यसैले, मैले फेरि सोधे त्यस्तै ठाँउमा त विक्रि हुन्छ होइन र, मलाई जवर्जती विक्रि गर्नु छैन दाई कतिलाई पैसा हुन्छ कतिलाई हुदैन, कहिले काँहि त म कम पैसामा पनि सामान दिन्छु, उसले यसरी नै भन्यो ।
केही समय हिड्दै हामी अलि तलतिर ओरालो लाग्यौ, आफ्नै उमेरका केटाकेटीहरु आमाबा सँग खेलि रहेका देख्यौ, तर उ भने क्याण्डी विक्रिका लागि हिड्दै छ । मैले यो कुरालाई मनन गरे रितिकसँग केहि प्रश्न भने गरिन ।
सानो उमेरमा पनि बाध्यता, अवस्था र परिस्थितिले रितिकलाई इमानदार र व्यवहारिक बनाएको छ । सायद सधैजसो गोदावारी मै आउने भएकाले होला रितिकलाई त्यहाँ नचिन्ने र नबोल्ने कोहि छैन । मैले एक जना दिदीलाई सोधे यो भाई कस्तो छ, तपाईहरुसँग कस्तो बोलीचालि र व्यवहार गर्छ भनि, दिदीले इमान्दार, असल छ, नराम्रो गरेको देखेको र सुनेको पनि छैन भन्दै जवाफ आयो ।
रितिकको दैनिकी क्याण्डी विक्रिका लागि हिड्ने हो, साहुले हातमा थमाई दिएको क्याण्डी र केहि खेलौना, यहि विक्रि गर्ने रितिकको लक्ष्य पनि हो, दैनिक रुपमा फरक फरक कमाई कहिले दिनको चार सय, कहिले पाँच सय त कहिले सातसय आठसय, महिनाको तलब भने ६ हजार मात्र । त्यसमा पनि आधा भन्दा बढि कमाई घरमा पठाउन पर्ने ।
ललितपुरको लगनखेलमा साहु र साहुको भाई अनि आफू जस्तै क्याण्डी विक्रि गर्न हिड्न अरु दुई चार जना साथीहरुसँगै बस्छ रितिक । आफ्नो गाँउबाट टाढा राजधानीमा उमेरै नपुगी काम गर्न व्याध्य रितिकलाई सायद थाहा छैन आफू स्वयम बाल श्रम शोषणमा परेको छु भनेर । यसरी काठमाडौँ उपत्यकामा विभिन्न ठाँउमा क्याण्डी विक्रि गर्ने साना भाई वहिनीहरुलाई साहुले नै गाँउबाट ल्याउने र यसरी नै काममा लगाने गरेको रितिकले बताए । मेरो साहुको नाम शैलेन्द्र साह हो । हामीलाई उसैले सामान दिन्छ, दिनभरी बेच्ने कोठाबाट विहिन १० बजे निस्कने र साँझमा ७ बजे फर्कने तर शनिबार चाँहि ८ बज्छ कोठामा फर्कदा रितिकले भने ।
यसरी सडकका किनारा, पार्क र विभिन्न मेला जात्रामा क्याण्डी राम्रैसँग विक्रि पनि हुन्छ, महाननगर तथा नगरपालिकाहरुको पछिल्लो निर्णय अनुसार विभिन्न रङ प्रयोग गरिएका क्याण्डीहरु मानव स्वास्थ्यका लागि हितकारी नभएकाकारण विक्रिवितरणमा निषेध गरिएको छ ।
विभिन्न बाध्यता र पारिवारिक अवस्था र परिस्थितिका कारण आफ्नो कलिलो उमेरमै बाल श्रम गर्न बाध्य भएका रितिक पासवास र उ जस्तै बालबालिकालाई सरकार र सम्वन्धित निकायले ध्यान पुर्याउन अझै ढिला भने गर्नुहुन्न ।
-मनिस अर्याल/नेपाल फोटो लाईब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच