काठमाडौं । जन्मिएदेखि नै आँखाको दृष्टि गुमाउनुभएका गगन आले यतिबेला गायकको रूपमा दर्शक तथा श्रोतामाझ आउनुभएको छ । धरानमा हुर्किनुभएका यी २१ वर्षीय दृष्टिविहीन गायक आलेले आफ्नै शब्द, संगीत तथा स्वरको पहिलो गीत ‘मेरो गीत तिमीलाई हो...’ सार्वजनिक भएको छ । यी युवा गायकले आफ्ना आमा-बुवाको २३औँ वैवाहिक वर्षगाँठको अवसर पारेर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत आफ्नो पहिलो गीतको भिडियो सार्वजनिक गर्नुभएको हो ।
एसडी म्युजिक प्रोडक्सनको संगीत संयोजनमा बनेको यो गीतमा सुशील विक्रम शाहको मिक्सिङ तथा मास्टरिङ छ भने गीतका रेकर्डिष्ट पनि उहाँ नै हुनुहुन्छ । गुञ्जन रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।
गायक आले तथा गीतको भिडियोकी मोडल समी लावतीको स्क्रिप्टमा यसको सुन्दर म्युजिक भिडियो तयार पारिएको छ । कृष्णदेव रुपाखेतीद्वारा निर्देशित गीतको भिडियोमा गायक आले र मोडल लावतीको जोडीले सुन्दर अभिनय गर्नुभएको छ । गगन झैँ समी पनि जन्मजात दृष्टिविहीन हुनुहुन्छ । दुवै दृष्टिविहीन कलाकारले भिडियोमा निकै प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ ।
दृष्टिविहीन व्यक्तिको मनमा पनि प्रेमको भावना जागृत हुनसक्छ, उनीहरू पनि सामान्य मानिसहरू झैँ भावुक हुन्छन्, उनीहरूको दृष्टिकोण र जीवन भोग्ने भोगाइ पनि अन्य सामान्य मानिसको भन्दा पृथक् हुँदैन भन्ने भावना गीत तथा भिडियोमा प्रस्तुत गरिएको छ ।
मुकेश हुमागाईं तथा समूहले छायांकन गरेको गीतको भिडियोमा राहुल बराइलीको कोरियोग्राफी छ । मीन रावलद्वारा सम्पादन गरिएको भिडियोमा काठमाडौंको फर्पिङ क्षेत्रका आकर्षक लोकेसनहरू देख्न सकिन्छ ।
भिडियोमा दृष्टिविहीन भए पनि कलाकारद्वय गगन तथा समीलाई अभिनय गराउन खासै असहज नभएको निर्देशक रुपाखेतीको भनाइ छ । ‘उहाँहरू वास्तवमै सामान्य मानिसहरू झैँ हरेक कुरामा सक्षम हुनुहुन्छ, हामीले भिडियोमा पनि उहाँहरूले दैनिक जीवनमा जे–जे गर्दै आइरहनु भएको छ, तिनी कुराहरूलाई चित्रण गरेका छौँ, निर्देशक रुपाखेतीले भन्नुभयो, ‘मुख्य कुरा उहाँहरूमा पनि प्रेमिल भावना हुन्छ, उहाँहरू पनि रोमान्टिक बन्नुहुन्छ । त्यही रोमान्टिक अनि प्रेमिल क्षणलाई हामीले भिडियोमा कैद गरेका छौँ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts