काठमाडौं । अभिनेत्री कोपिला थापा गम्भीर घाइते हुनुभएको छ । भारतको पञ्जावमा भएको सडक दुर्घटनामा उहाँ घाइते हुनुभएको हो । उहाँसँगै कारमा सवार यात्रु रूपा थापाको मृत्यु भएको र गोपाल नामका एकजना नेपाली घाइते भएको बताइएको छ । एक कार्यक्रममा सहभागी भएर पञ्चकुलातिर फर्किनुभएको उहाँहरूको चढेको कार ब्रेकफेल भएर २५ फिट तल खसेर ढलानमा बज्रिएको जनाइएको छ । दुर्घटनालगत्तै स्थानीय गाउँलेले आफ्नै गाढीमा चढाएर उहाँहरूलाई चण्डीगढस्थित नेहरू अस्पताल पुर्याएका थिए ।
यो घटना एकसाताअघि भएको हो । अभिनेत्री थापालाई ढाडमा गम्भीर चोट लागेको छ । ढाडको शल्यक्रिया गरेर स्टिल राखिए पनि कम्मरभन्दा मुनिको शरीर चल्न नसकेको जनाइएको छ । तर, उहाँ बोल्न चाहिँ सक्ने हुनुभएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र विकास बोर्डमा रहेको चलचित्र कल्याणकारी कोषमार्फत थापाको उपचारमा सघाउन पहल भइरहेको जानकारी गराउनुभएको छ । केही दिनअघि थापासँग आफ्नो कुरा भएको र दुर्घटनाबारे जानकारी लिएको अध्यक्ष निरौलाले बताउनुभयो ।
मोरङ सलकपुरकी कोपिला अभिनेत्री रेखा थापाको ठूलाबुबाकी छोरी समेत हुनुहुनुन्छ । कोपिलाले दर्जनौं नेपाली चलचित्रमा चरित्र अभिनेत्रीको भूमिकामा अभिनय गर्नुभएको छ ।
यसैबीच अभिनेत्री कोपिला थापाको उपचार खर्चका लागि नायिका रेखा थापाले व्यक्तिगत रूपमा सहयोग गर्नुभएको छ । अमेरिकामा रहनुभएकी रेखाले व्यक्तिगत रूपमा सहयोग गर्नुभएको हो ।






