काठमाडौं । कथा दिवसका अवसरमा चार स्रष्टालाई सम्मान अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औं कथा दिवसका अवसरमा सम्मान समर्पण गरेको हो ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा प्रमुख अतिथि प्राडा.वासुदेव त्रिपाठीले ‘मैनाली कथा पुरस्कार’ कथाकार नरेन्द्रराज पौडेल, साहित्यकार सिर्जना शर्मालाई ‘लोकप्रिया पुरस्कार’, कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ र कवि ठाकुर बेलवासेलाई ‘व्यथित काव्य सम्मान’ समर्पण गर्नुभएको थियो । कथाकार पौडेललाई नगद ५१ हजार राशिसहित मैनाली कथा पुरस्कारबाट सम्मानित गरिएको थियो भने लोकप्रिया पुरस्कारबाट १० हजार १०० राशिसहित साहित्यकार शर्मा पुरस्कृत हुनुभयो ।
कार्यक्रममा समालोचक प्राडा.लक्ष्मणप्रसाद गौतम र समालोचक ज्ञानु अधिकारीले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूका बारे आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी शारदाकालीन कवयित्री लोकप्रिया देवीकी सुपुत्री शशि रिमालले ‘लोकप्रिया’ बारे कविता वाचन गर्नु भएको थियो भने नेपाल स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले पुरस्कार निर्णायक समितिको धारणा प्रस्तुस्त गर्नु भएको थियो ।
कथाकार किशोर पहाडीको लघुकथा वाचनबाट उद्घाटन गरिएको सो कार्यक्रममा कथाकारहरू सत्या अधिकारी, ध्रुवराज थापा, मञ्जिला अनिल र शान्ता तिमिल्सिनाले आ–आफ्ना लघुकथा वाचन गर्नु भएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व भएको सो कार्यक्रममा अन्य अतिथिहरू प्राडा.सुरेन्द्र केसी, साहित्यकार हीरण्यकुमारी पाठक, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, समाजसेवी तथा गीतकार शोभित उप्रेतील लगायतको उपस्थिति थियो ।
सभापतिको आशनबाट अध्यक्ष राधेश्याम लेकाली, प्रमुख अतिथि प्राडा. वासुदेव त्रिपाठीले मन्तव्य राख्नु भएको थियो । साहित्यिक पत्रकार संघका महासचिव डा.दामोदर पुडासैनी ‘किशोर’ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा क्यानडाबाट आउनु भएका गोविन्दसिंह राउत र प्रमोद सारंगलाई स्वागत सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts