काठमाडौं । संस्मरणात्मक निबन्धसंग्रह ‘घुरको धुवाँ’को परिचर्चा गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त कृतिको परिचर्चा गरिएको हो । कार्यक्रममा ‘घुरको धुवाँ’ले मैथिली संस्कृतिसँगै मधेसलाई सकारात्मक बहसमा तानेको बत्ताहरूको भनाइ थियो । पत्रकार एवं साहित्यकार राजेश खनालको यो कृतिले मैथिल समुदायले नै बिर्सिसकेको संस्कृति पुनर्ताजगी गरेको उनीहरूको जिकिर थियो ।
‘घुरको धुवाँमा उल्लिखित पात्र, संस्कृति र घटनाहरूसँगै हुर्किएको मैले यो किन लेखिनँ होला ?’, मैथिलीसँगै नेपाली साहित्यमा पकड राख्ने लेखक धीरेन्द्र प्रेमर्षीले भन्नुभयो, ‘यो पुस्तक शब्दावली नेपालीमा लेखिएको भए पनि मैथिली साहित्यको एउटा उत्कृष्ट रचना हो ।’
समालोचक प्राडा.लक्ष्मणप्रसाद गौतमले साहित्यमा संस्कृतिको चरित्र चित्रण हुनु र संस्कृति नै आउनु अलग विषय भएको उल्लेख गर्नुभयो । ‘घुरको धुवाँ’मा मैथिली संस्कृति जीवन्त बनेको उहाँको भनाइ थियो ।
लेखक नयनराज पाण्डेले आफूलाई मधेस लेखनमा एउटा घटनाले पुर्याएको भन्दै सामान्य भाषाका कारण ठूला समस्या आउने बताउनुभयो । ‘घुरको धुवाँ’ले मधेस लेखनको ‘ट्रेन्ड’ नै बदलिदिएको उहाँको भनाइ थियो । पाण्डेले खनाललाई आख्यानतर्फ आउन आग्रह पनि गर्नुभएको थियो । साहित्यकार अनिता कोइरालाले पुस्तकले मधेसमा हुर्किएकालाई आफैं संलग्न भएको भान गराउने सुनाउनुभयो ।







कार्यक्रममा आउन नपाए पनि सर्जक राजेश खनालजी लाखौं धन्यवादका पात्र हुनुहुन्छ । म पुस्तक पढ्दै छु । अन्त्यतिर पुग्दैछु । धेरै साधुवाद, धेरै शुभकामना !!!!!
–हरित, नेपाल स्रष्टा समाज ।