कपिलवस्तु । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि वाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा प्रतियोगिता सुरु भएको हो । जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको उद्घाटन खेलमा आयोजक टिम कपिलवस्तु ११ विरुद्ध थ्रीस्टार ललितपुर तीन गोलले विजयी बनेको छ ।
खेलमा थ्रीस्टार ललितपुरका निरज चौधरीले पहिलो र तेस्रो गोल गर्नुभएको थियो भने थ्रीस्टारका अर्का खेलाडी दिपेश घलेले एक गोल गर्नुभएको थियो । थ्रीस्टार क्लब ललितपुरका निरज चौधरी म्यान अफ द म्याच घोषित हुनुभएको थियो । यससँगै कपिलवस्तु ११ खेलबाट बाहिरिएको छ भने थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई ११ लाख ११ हजार १११ रुपैयाँ र दोस्रो हुनेलाई पाँच लाख ५५ हजार ५५५ रुपैयाँ र शिल्ड, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष तिलक थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबसहित आठ टोलीको सहभागिता छ । जसमा थ्रीस्टार क्लब ललितपुर, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, सुदूरपश्चिम–११ धनगढी, सहारा क्लब पोखरा र आयोजक टिमबाट कपिलवस्तु-११ सहभागी छन् ।
प्रतियोगिता व्यवस्थापन गर्नका लागि करिब एक करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ । खर्च व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्, लुम्बिनी प्रदेश खेलकुद परिषद् र कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय तहहरूसँग समन्वय गरिएको जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले जानकारी गराउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता