काठमाडौं । स्वर्गीय प्रा.ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ बिहीबार एक समारोहबीच लोकार्पण गरियो । प्राडा.देवीप्रसाद सुवेदीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्राडा.वासुदेव त्रिपाठी प्रमुख अतिथि रहनुभएको थियो । होटल हार्दिक बागबजार काठमाडौंमा आयोजना भएको उत्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा अन्य लब्धप्रतिष्ठित विद्वानहरूको उपस्तिथि रहेको थियो ।
साहित्यकार प्रा.ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ प्रकाशन समिति आयोजक रहेको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार रमेश शुभेच्छुले गर्नुभएको थियो । गोपाल पराजुलीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा प्राडा.लक्ष्मण गौतम, प्राडा.महादेव अवस्थी, भिक्टर प्रधान तथा इन्दिरा प्रसाईले प्रा.ठाकुर पराजुलीको व्यक्तित्व तथा लोकार्पित स्मृतिग्रन्थका बारेमा बोल्नुभएकको थियो ।
त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक पराजुली नेपाली विभागको प्रमुखसमेत बन्नुभएको थियो । विशेषगरी समालोचनाका क्षेत्रमा सिद्धहस्त मानिनुहुने प्रा.पराजुलीको गतवर्ष निधन भएको थियो । आयोजित कार्यक्रम उहाँको प्रथम स्मृतिसभाका रूपमा समेत आयोजना भएको थियो । कार्यक्रममा नेपाली साहित्यका क्षेत्रमा महासमालोचक भनेर चिनिनुहुने यस कार्यक्रमका विशेष अतिथिसमेत रहनुभएका प्राडा. वासुदेव त्रिपाठीले ठाकुर पराजुलीसँगको आफ्नो सम्बन्ध र सहकार्यका बारेमा बताउनु हुँदै नेपाली साहित्यमा पराजुलीको योगदानका सम्बन्धमा प्रकाश पार्नुभयो ।
उहाँले प्रा.ठाकुर पराजुली नेपाली समालोचनाको क्षेत्रमा एकजना विशिष्ट साधक हुनुहुन्थ्यो भन्नुभयो । ‘प्रा.पराजुली नेपाली प्राध्यापनको पहिलो पुस्ताको प्राध्यापक हुनुहुन्थ्यो’ डा.त्रिपाठीले भन्नुभयो । यसैगरी डा.त्रिपाठीले प्रा.पराजुली संस्कृत साहित्यशास्त्रको पनि ज्ञाता हुनुहुन्थ्यो भन्नुभयो । यो स्मृतिग्रन्थ प्रकाशनमा स्वर्गीय ठाकुर पराजुलीकी श्रीमती, छोरा, बुहारी, छोरी र ज्वाइँलगायतको परिवारजनको विशेष सक्रियता रहेको थियो ।
कार्यक्रम सञ्चालक डा.रमेश शुभेच्छुबाटै धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि बाट स्मृति ग्रन्थमा समेटिएका लेखहरूका लेखकहरूलाई पुस्तक प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा सभापनि देवीप्रसाद सुवेदीले स्वर्गीय पराजुलीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।






