यात्रा जिन्दगी हो त म भन्दिन । यो अन्ध सोचको उपज हो, अन्धपरम्पराको गहना हो । कारण यात्रा, उनान्सय प्रतिशत जीवन नभएर मृत्यु हो । जुनसुकै र जतिसुकै बेला पनि यसले जीवनलाई निमोठ्न सक्छ, गलहत्याउन सक्छ । दृश्य संसारबाट टाढा लैजान सक्छ । अदृश्य कस्तो छ ? बिनाकामका बकबासे तर्कमा जस्तो पनि हुन सक्ला तर वास्तवमा यो कस्तो छ ? कसैलाई थाहा छैन । तैपनि बाध्यताको यात्रा यदाकदा गर्नुपर्छ । सौन्दर्यको संसार न्युजिल्याण्डको नेपियरमा रहँदा मैले स्वास्नीसँग, छोरीज्वाइँसँग ‘यात्रा जिन्दगीको हो’ का बारेमा धेरै पटक जुध्नु प¥यो । म भन्ने कतै नजाऊँ, बसेर संसार सोच्दाको आनन्दचाहिँ जीवन हो । ठीक उल्टो परिवारका सबै समूहको आवाजका सामु म बिचरो कले खसीबजारबाट किनेर डोहोर्याउँदै ल्याएको खसीजस्तै पराजित भएर डोरिइरहेँ, डोरिई रहन्थेँ-पराजित योद्घाझैँ, विवश व्यक्तिझैँ ।
कसैले यहाँ राष्ट्रवादको गीत गाउँदैन, विकासको झण्डोत्तोलन पनि गर्दैन । धर्मको डङ्क पनि पिट्दैन । छेपारे रङमा सत्ता आसनका लागि निर्लज्ज अनुहार देखाउने प्रधानमन्त्रीको आसन पनि यस देशका शासनमा देखा पर्दैन । नैतिकताका मर्मबाट यन्त्रवत चलेको छ देश प्रजातान्त्रिक प्यारामिडभित्र ।
संयोग एक दिनको । त्यो क्षण जहाँ जाने बिन्दु टाढै थियो सुप्रसिद्घ पनि । त्यहाँ नपुगे न्युजिल्याण्ड गएको नठहरिने रे ¤ नठहरिए के नै लछाथ्र्यो र ? तैपनि एक्लै बस्नुको आनन्दलाई मनको एक कुनामा बन्दी बनाएर त्यो ठाउँ पुग्यौँ जहाँ पुग्नु थियो । खचाखच भीड । चिसोमात्रा माइनसको उच्च सङ्ख्यामा । यस ठाउँको नाम लिने पक्षमा म छैन अहिले । गाडी टक्क रोकियो । म निस्केँ एक्लै । ठाउँ यति निर्जन छ–कहीँ न कसैका घर, न सुदूरसम्म चियाए पनि मान्छेका अनुहार, न कुनै मानवेत्तर प्राणीका खस्राक्खुस्रुक आवाज ।
जाडाका झापड ज्यादात्तर भएका र सानो बच्चो पनि भएकाले ज्वाइँ ड्राइभर, स्वास्नी, छोरी र नाति ग्राहक-प्यासेन्जर, म ससुरो, बाबु, लोग्ने खलासी यात्राको दौड निरन्तर यसरी नै चल्थ्यो र आज पनि क्रम उही हो । सबै गाडीभित्र-एसी सज्जित गाडी, के छैन र यसमा ? जे चाहृयो त्यही । चिसोमा तातो, तातोमा शीतल अलिकति औँला निमोठेपछि मनको सोच जे गाडीभित्रको मौसमी तराजु उही र उस्तै । सबै गाडीभित्रै हुनुपथ्र्यो मेरा लागि, थियो पनि त्यस्तै र नै मेरो मनको मानस छट्पटीले खुराक पाउँथ्यो ।
अचम्म त अर्को के पनि भने बच्चामुखी समाज । बच्चाका सामु बच्चाले देख्ने गरी धुम्रपान निषेध । कथं कसैले गरेमा र पुलिससम्म सङ्केत भएमा जेलको यात्रा । छोरी कडा भएकाले नजाने झोँक चलेका बेला बाउले कठघरा छिर्नपर्नेसम्म सम्भावना जीवित रहेकाले हठी बाबुको अहङ्कारभित्र दबाएर भए पनि तदनुसार रहनुको विकल्प थिएन मसँग । खल्तीको खुकुरी चुरोट सदुपयोगका लागि एकान्त त छँदै थियो विल्कुल सन्नाटा, गाडीबाट पनि अदृश्यमा रहनुपर्ने कारणले निकै पर जङ्गलभित्र, ठूलो रूखको फेदमा छलिएर त्यो पनि छिटोछिटो लामो लामो समयपछि चुरोटको मजा लिनुपर्दा एकपछि अर्को लगातार तानिएका सर्काले के गर्छ ? भन्नु पर्दैन ।
बाहिरी चिसोको अत्यधिक मात्रा, भित्र तातो चुरोटे सर्काको बेजोड कुहिरी मण्डल धुँवा अब अर्को यमराजको प्रतीक्षा आवश्यक नै रहेन । देख्नेको मुखबाट यसको बयान सुन्दा कलेज स्कुलबाट बालाजु वनभोज गएका मास्टरको हालत सम्झन पुगेँ । सुराले लट्ठ शिक्षकसमूह एकसँग अर्को बाजाबाज, कुटाकुट, लुछाचुँडी गर्दै मध्यरातको प्रहरमा सोह्रखुट्टे सुरक्षासमूहले कच्याक्कुचुक पारेर ठानामा थोपरेको दृश्य, मातेर उनीहरू हिँड्दाका पदचापका गति झल्झली दृश्यपटलमा पूर्वस्मृति बनेर सिनेजगत्को फ्ल्यासव्याकका रूपमा फन्फन्ती घुमेकालाई मजा मान्ने होभने-जिन्दगी यात्रा रहेछ ।
झर्ना छाँगा छहरा-यो प्रकृतिको अनुपम छहारी, सौन्दर्यको फूलबारी, एकान्तको दिव्यघारी । यसलाई देखेपछि मेरासामु गोरा अनुहार उदाए । मैले कतै कहिल्यै मनोजगत्मै नउदाएका बेलायतीहरूको प्रशंसा नगरी रहन सकिन । लगभग दुई घण्टाको लगातार एक सय दशको गतिमा दौडेको गाडी । बिचमा कतै अवरोधको सङ्केत छैन । चारैतिर घना खोजे पनि छिर्न नसकिने हरियाली पूर्ण जङ्गलको छहारी । गाउँ, सहर, बस्ती रोशनीदार आँखाका परेलीमा कहीँ देखिन्न । भयप्रद वन्यजन्तु त देशभर नै छँदै छैनन् । यस्तो विकट ठाउँ पनि बाहिरी विकास र व्यवस्थापनका दृष्टिले हेर्ने हो भने पुराण पढ्नु पर्दैन, गरुडको गीत गाउनु पर्दैन, वेदका ऋचामा पञ्जा हल्लाएर प्रकृतिको दिव्यमुहार खोज्नु पर्दैन आँखाकै सामु सशरीर स्वर्गको सांसारिक सयर अनुभूत हुन्छ ।
कसैले यहाँ राष्ट्रवादको गीत गाउँदैन, विकासको झण्डोत्तोलन पनि गर्दैन । धर्मको डङ्क पनि पिट्दैन । छेपारे रङमा सत्ता आसनका लागि निर्लज्ज अनुहार देखाउने प्रधानमन्त्रीको आसन पनि यस देशका शासनमा देखा पर्दैन । नैतिकताका मर्मबाट यन्त्रवत चलेको छ देश प्रजातान्त्रिक प्यारामिडभित्र । प्रजातान्त्रिक आस्थाका अनुहारसँग लामो समयसम्म निस्कलङ्कित अभ्यासबाट अगाडि बढ्नु नै यसको एकमात्र कारण सिवाय अर्को केही हुन सक्दैन । यी विकट पाखामा, अनकन्टार जङ्गलका बीचबाट निर्मित चिल्ला चिप्ला सडक आफैँमा बाहिरी विकासका उज्याला अनुहार हुन् ।
बाटाका बीचमा एकातिर आरामका लागि अर्कातिर कतै कहीँ पनि कुठाउँमा फोहोरमैला नहोस् भन्ने दूरदर्शी विचारका उदाहरण बनेर ती सुनसान सन्नाटा छाएका क्षेत्रमा पनि सुन्दर पार्कहरू निर्मित छन् । बस्नाका लागि आरामदायी बेञ्चहरू सजाइएका छन् । यात्रुले लगेका खाना खाएपछि फोहोर सुरक्षित गर्ने फोहोरदानीहरू दरासँग बनाइएका छन् । अझ महत्वपूर्ण कुरा त निश्चित मात्राका बिन्दुमा दिशापिसाबका लागि चर्पीगृह मुस्कुराएका छन् तर होशियार हामीजस्ता बाहिरी विकासमा जङ्गलीजस्ता बनेका देशबाट जाने मानिसले पहिले त्यसका सञ्चालन प्रक्रियाका सम्पूर्ण नियमहरू स्मृतिपटलमा नबिर्सने गरी सञ्चित गरेनौँ भने भित्र पसेपछि बाहिर निस्कने सम्भावना शून्य हुन्छ । फोहोर विस्थापन वा दिशापिसाब गरेपछि सफा गर्ने ठाउँका दिमाखी यन्त्र चलेनन् भने आफैँभित्र पाखेको झण्डा फहरिन्छ, लज्जाबोधले अनुहार रातीगेडी बन्छ, विचार ज्वालामुखीले छाडेको लेदोजस्तै ।
अचम्म त सबै ठाउँका चर्पीहरूमा एकै पाराका यन्त्रअनुहारहरू छैनन् । कोही आँखाका सामु चट्ट देखिने सट्ट थिचिदिँदा हुनेमा छन् भलै तिनका गतिशील फोहोराले आफ्नै शरीरलाई किन नकमाओस् । कतिपयमा त थाहा नै नपाइने पर तल या माथि भित्तामा सुकिला घाउ कता लागेका छन् भनेर खोज्नु पर्छ । आकारविहीन, आकृतिविहीन, सङ्केतविहीन सङ्केतका भरमा थिचेपछि मात्र मन झस्कन्छ, शरीर झस्कन्छ र हामी झसङ्ग हुँदै सफलताको सर्टिफिकेट पाएर गौरवको अनुभूतिले प्रफुल्ल हुन्छौं । चौतारामा बसौं आँखा घुमाऊँ माथि माथि आकाशका किनारा हुँदै अगम्य पहाडका कहालीलाग्दा शिरबाट बिस्तारै तल झार्दै जाऊँ आँखा आफैँ अचम्मित हुन्छन् । मन मनमा हुन्न र अचम्मको दुनियाँमा टोलाउन लाग्छ । बाँजा छातीमा कम्लाएका झर्नाहरू आकाशले अँध्यारो घुम्टो त चाहेर पनि हत्तपत्त खोल्दैन यता झुक्किएर खोलिहालेमा सप्तरङ्गी इन्द्रेणीले सम्पूर्ण निर्जन पहाडलाई, हरियालीपूर्ण पाखाहरूलाई पटुकीमा बेर्छ ।
यात्री म चकित हुन्छु । कहाँबाट यी रससिक्त भुल्काहरू पहाडी त्यसमा पनि निर्जन, जर्जर, रुखी आमाका वक्ष विस्फोट गर्दै प्रसव वेदनापछिको मधुमुस्कान छाइरहेका छन् । खुसियाली बर्साइरहेका छन् । यात्रारत यात्रीलाई टक्क अड्याएर प्रणयोपहार वितरण गरिरहेका छन् । यस सौन्दर्यात्मक अगाध अस्तित्वको मर्मभित्र पसेर यसलाई सुरक्षाको चौवन्दी चोली पहिर्याउँने बेलायती शासकीय मनोविज्ञान हाम्रा कथित सर्वहाराका लागि पश्चिमी बिडम्बना होला, हाम्रा तथाकथित स्वाँगे जामा पहिरिने साम्यवादीका लागि दलाल पृष्ठपोषण हुन सक्ला तर कञ्चन मानवतावादी उच्च प्रजातान्त्रिक आलोकलाई जीवनस्पन्दन बनाउँनेका लागि यो दृश्य यो परिवेश यसै पनि अनुकरणीय छ, चाहे राजनीतिका चौबाटा निर्माणमा होस् चाहे साहित्यको सौन्दर्य शिखर आरोहणमा ।
चाहे श्रमपछिको थकित मनलाई ऊर्जा सञ्चरण गर्न होस् चाहे आफ्नै मनभित्र थिचिएका, किचिएका, विष्फोटित एवं कुण्ठित विचारका बेइमानी घोडाहरूलाई मोहनीदार रातो वस्त्रले शान्त बनाउन होस् यो मानव मात्रका लागि प्रकृतिको त्यस्तो अचुक उपहार हो जसलाई पाएपछि मृतप्राय कलाको कौशल जुरेलीको गुँडमा परिवर्तित हुन्छ । हेरिरहुँ, हेरिरहुँ, साँच्चै हेरिरहुँ जबसम्म आकाशका आँखामा उज्यालो रित्तिन्न, जबसम्म अग्रिम यात्राका सिट्ठी बजाउँदै बाध्यताका कारमा पाङ्ग्राका घर्षण सुरु हुन्नन् । यो जीवन यात्राको परिणति नभएर शान्त मनो छहारीको शीतलता हो । अनवरत यिनै र यस्ता मनभित्र मात्र बगिरहँने शीतलता ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता