काठमाडौं । लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५० केजीमा सुष्माले मधेस प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सञ्जुमाया थिङलाई पराजित गर्नुभयो ।
महिला ५४ केजीमा गण्डकी प्रदेशकी सोनिया बडुवालले सुदूरपश्चिम प्रदेशकी निर्मला ऐडी तथा नेपाल आर्मीकी लालुमाया खत्री क्षेत्रीले एपीएफकी नाङजा बुढा मगरलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । महिला ५७ केजीमा लुम्बिनीकी ललिता बस्नेतले गण्डकीकी दीक्षा राईलाई पाखा लगाउँदै सेमिफाइनलमा पुग्नुभयो । सोही तौलसमूहमा कोशी प्रदेशकी नारिका राई पनि सेमिफाइनलमा पुग्न सफल हुनुभयो ।
गणेशमान सिंह फउण्डेशनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ६० केजीमा बागमती प्रदेशकी नतिशा राना मगरले कर्णालीकी तुलसी भण्डारी तथा एपीएफकी संगीता सुनारले नेपाल प्रहरीकी लक्ष्मी घर्तीमगरलाई पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाउनुभयो ।
महिला ६६ केजीमा सुदूरपश्चिमकी सञ्जिता चौधरीले बागमतीकी तृष्ना गुरुङ र एपीएफकी विनिता थापामगरले कोशीकी नुमा सावाडेन तथा ७५ केजीमा लुम्बिनीकी जुनमाया थारूले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । महिला ७५ केजीमै आर्मीकी तृषा जबेगु पनि सेमिफाइनलमा पुग्नुभयो ।
पुरुष ६३.५ केजीमा लुम्बिनीका अनिलकुमार पुनले कोशीका एक्लिश शाहीलाई पन्छ्याउँदै सेमिफाइनलमा पुग्नुभयो । अन्य तीन खेलाडी सेमिफाइनलमा पुग्नुभएन ।
पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले कर्णालीका पासाङ इजाम सुब्बा र आर्मीका दानबहादुर दर्लामी मगरले गण्डकीका निशान गुरुङ, ८० केजीमा कर्णालीका मनोज तामाङले कोशीका समिर नेवार र बागमतीका पासाङ शेर्पाले गण्डकीका तार्जन घर्तीमगर, ९२ केजीमा एपीएफका रविन नेपालले कर्णालीका सन्दीप ज्ञवाली, आर्मीका महेन्द्र केसीले कोशीका गणेश श्रेष्ठ तथा ९२ केजीमाथि आर्मीका पवन मोक्तानले कर्णालीका सन्दीप हमाल, गण्डकीका सुनिल श्रेष्ठले लुम्बिनीका सुजन थापामगरलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाउनुभयो ।






